सोल– दक्षिण कोरियामा लगातार चौथो महिनासम्म रोजगारी वृद्धि एक लाखभन्दा माथि कायम रहे पनि युवा रोजगारीमा भने गिरावट जारी रहेको छ । सेवा क्षेत्रका केही उद्योगमा रोजगारी बढे पनि होटल तथा रेस्टुरेन्ट र निर्माण क्षेत्रमा रोजगारी घट्दा श्रम बजारमा चुनौती देखिएको सरकारी तथ्याङ्कले जनाएको छ ।
दक्षिण कोरियाको तथ्याङ्क तथा तथ्याङ्क मन्त्रालयका अनुसार गत अक्टोबरमा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक लाख ३९ हजार अर्थात् ०.५ प्रतिशतले बढेर दुई करोड ९१ लाख ७९ हजार पुगेको छ । गत जुलाईदेखि रोजगारी वृद्धि लगातार एक लाखको हाराहारीमा रहँदै आएको छ ।
१५ वर्ष वा सोभन्दा माथिको उमेर समूहको समग्र रोजगारी दर भने ०.१ प्रतिशत विन्दुले घटेर ६३.३ प्रतिशतमा झरेको छ । तर, १५ देखि ६४ वर्ष उमेर समूहको रोजगारी दर ०.३ प्रतिशत विन्दुले बढेर ७०.४ प्रतिशत पुगेको छ । सन् १९८९ देखि तथ्याङ्क राख्न थालिएयता अक्टोबर महिनाका लागि यो सबैभन्दा उच्च दर हो ।
क्षेत्रगत रूपमा हेर्दा आवास तथा खाद्य सेवा क्षेत्रमा एक लाख ३७ हजार रोजगारी घटेको छ । त्यस्तै, उत्पादनमूलक उद्योगमा सात हजार र निर्माण क्षेत्रमा ४२ हजार रोजगारी गुमेको छ । निर्माण क्षेत्रमा रोजगारी घट्ने क्रम लगातार ३० महिनादेखि जारी छ ।
यसको विपरीत स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा दुई लाख ४९ हजार, यातायात तथा भण्डारण क्षेत्रमा ४८ हजार र व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा ३७ हजार रोजगारी थपिएका छन् ।
समग्र रोजगारीमा सुधार देखिए पनि युवा वर्गको अवस्था भने चिन्ताजनक रहेको छ । अक्टोबरमा १५ देखि २९ वर्ष उमेर समूहका रोजगारीमा रहेका युवाको सङ्ख्या एक लाख ९६ हजारले घटेको छ । युवाको रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी रहेको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, बेरोजगारको सङ्ख्या छ लाख दुई हजार पुगेको छ भने बेरोजगारी दर दुई प्रतिशतमा झरेको छ । अर्कोतर्फ, आर्थिक रूपमा निष्क्रिय जनसङ्ख्या एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको छ ।














प्रतिक्रिया