काठमाडौं- ममता काफ्ले हत्याकाण्डमा अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले ३९ वर्षीय नरेश भट्टलाई दोषी ठहर गरेको छ । आफ्नै पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्या तथा शव लुकाएको र अपमान गरेको अभियोगमा जुरीले भट्टलाई दोषी ठहर गरेको हो ।
२८ वर्षीया नर्स ममता सन् २०२४ जुलाई २७ मा भर्जिनियाको मनासासस्थित युभीए हेल्थ अस्पतालबाट अन्तिम पटक देखा परेकी थिइन् भने त्यसको भोलिपल्ट आफ्ना साथीहरूसँग फोनमा कुरा गरेकी थिइन् । त्यसपछि अचानक बेपत्ता भएकी ममताको खोजीमा परिवार र स्थानीय समुदाय लागेका थिए ।
दुई वर्षभन्दा बढी समयको अन्योल र घनिभूत अनुसन्धानपछि आएको यो फैसलाले मुद्दालाई तार्किक निष्कर्षमा पुर्याएको छ । अदालतमा बयानका क्रममा नरेशले दिएको बयान निकै स्तब्ध पार्ने खालको थियो ।
उनले आफ्नी पत्नी ममताले कोठामा बान्ता र रगतका बीच ‘सेल्फोस’ नामक घातक कीटनाशक औषधि खाएर आत्महत्या गरेको दाबी गरेका थिए । आफूले बचाउन खोज्दा पनि नसकेपछि अत्तालिएर ९११ मा फोन गर्नुको साटो शवलाई टुक्रा-टुक्रा पारी विभिन्न फोहोरका झोलाहरूमा हालेर पुरानो अपार्टमेन्टको ‘ट्र्याश कम्प्याक्टर’ मा फालेको स्विकारेका थिए ।
तर, जुरीले उनको आत्महत्याको दाबीलाई पूर्ण रूपमा अस्वीकार गर्दै हत्याको मुख्य दोषी नरेश नै रहेको निष्कर्ष निकालेको हो । ममताको शव अहिलेसम्म फेला पर्न सकेको छैन ।
फैसलापछि प्रिन्स विलियम काउन्टीकी सरकारी वकिल एमी एसवर्थले यो निर्णय ममताको जीवन र उनको परिवारले भोगेको अकल्पनीय पीडाका लागि एक महत्त्वपूर्ण न्याय भएको बताएकी छन् ।
ममताका नजिकका साथीहरू र परिवारका सदस्यहरूले फैसला सुनेसँगै एक-आपसमा अँगालो मारेर खुसी व्यक्त गरेका छन् । ममताकी साथी होली वर्थले अदालत बाहिर बोल्दै सत्यको जित भएको र ममताकी ११ महिनाकी छोरीलाई आमाको माया र राम्रो भविष्य दिन सबै प्रयास गर्ने बताइन् ।
फैसला आएसँगै धेरैको मनमा उब्जिएको प्रमुख प्रश्न हो— के ममता हत्याकाण्डमा दोषी ठहर भएका नरेश भट्टलाई मृत्युदण्ड होला त ? यसको स्पष्ट जवाफ हो— नरेश भट्टलाई मृत्युदण्ड हुनेछैन ।
अमेरिकाको भर्जिनिया राज्यमा सन् २०२१ मा नै मृत्युदण्डको कानुनी प्रावधान पूर्ण रूपमा खारेज भइसकेको छ । कानुनी व्यवस्था अनुसार प्रथम श्रेणीको हत्या अभियोगमा नरेशलाई अधिकतम आजीवन कारावास सम्मको सजाय हुन सक्छ ।
यसका साथै, शवको अपमान र लुकाएको दुई वटा अतिरिक्त अभियोगमा प्रति अभियोग थप पाँच-पाँच वर्ष गरी कैद सजाय विस्तार हुन सक्छ । आगामी मार्च १२ मा न्यायाधीशले उनको अन्तिम सजायको घोषणा गर्नेछन् । फैसला नआउञ्जेलका लागि उनको धरौटी रद्द गरिएको छ ।














प्रतिक्रिया