युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प « Khabarhub

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यस्तो जानकारी दिएका हुन् ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष फुटबल विश्वकपमा इरानको सहभागिता अनिश्चित हुने चर्चा चलिरहेको छ । तर प्रतियोगिताको तयारीबारे भएको बैठकमा इरानको अवस्थाबारे पनि छलफल भएको फिफा अध्यक्ष इन्फान्टिनोले बताए ।

इन्फान्टिनोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै बैठकका क्रममा ट्रम्पले इरानी टोलीलाई अमेरिकामा आयोजना हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वागत गरिएको कुरा दोहोर्‍याएको उल्लेख गरे।

डिसेम्बरमा फिफाले स्थापना गरेको ‘फिफा शान्ति पुरस्कार’ ट्रम्पलाई प्रदान गरेका इन्फान्टिनोले यस टिप्पणीमार्फत पहिलो पटक मध्यपूर्वमा भइरहेको युद्धको सन्दर्भमा विश्वकपमा इरानको सहभागिताबारे सार्वजनिक रूपमा चर्चा गरेका हुन् ।

यद्यपि ट्रम्पको पछिल्लो टिप्पणी गत हप्ता पोलिटिकोसँग गरेको अभिव्यक्तिसँग भने फरक देखिएको छ । पोलिटिकोलाई दिएको अन्तर्वार्तामा ट्रम्पले इरान विश्वकपमा खेल्छ कि खेल्दैन भन्ने विषय आफूलाई खासै महत्त्वपूर्ण नभएको बताएका थिए ।

ट्रम्प पुनः ह्वाइट हाउस फर्किएपछि इन्फान्टिनो र उहाँबीचको सम्बन्ध अझ नजिक भएको बताइन्छ । इन्फान्टिनो ट्रम्पको उद्घाटन समारोहमा समेत सहभागी भएका थिए।

यसैबीच इरानको फुटबल महासङ्घले भने आफ्नो राष्ट्रिय टोलीको विश्वकप सहभागिताबारे शङ्का व्यक्त गरेको छ । इरानका फुटबल महासङ्घका अध्यक्ष मेहदी ताजले मंगलबार राज्य टेलिभिजनसँग कुरा गर्दै वर्तमान परिस्थितिमा टोलीलाई प्रतियोगितामा पठाउने विषय कठिन हुन सक्ने संकेत दिए ।

उनले प्रश्न उठाउँदै भने, ‘यदि विश्वकपको अवस्था यस्तो नै रह्यो भने सही सोच भएको कसैले आफ्नो राष्ट्रिय टोलीलाई त्यहाँ कसरी पठाउन सक्छ ?’

विश्वकप प्रतियोगिता तीन देशमा आयोजना हुने भए पनि इरानले समूह चरणका सबै तीन खेल संयुक्त राज्य अमेरिकामै खेल्ने तालिका छ । तीमध्ये दुई खेल लस एन्जलसमा र एउटा सियाटलमा हुने तय गरिएको छ ।

यदि इरानले प्रतियोगिताबाट नाम फिर्ता लिएमा सन् १९५० मा ब्राजिलमा भएको विश्वकप फाइनलबाट फ्रान्स र भारतले नाम फिर्ता लिएपछि यस्तो घटना पहिलो पटक हुनेछ ।

यता अस्ट्रेलियामा जारी महिला एसियाली कपका क्रममा पनि इरानी टोलीसँग सम्बन्धित विवाद उत्पन्न भएको छ । मंगलबार प्रतियोगितामा सहभागी इरानी महिला फुटबल टोलीका केही खेलाडीहरूले शरण मागेका छन् ।

एक खेलअघि राष्ट्रिय गान नगाएको भन्दै राज्य टेलिभिजनबाट आलोचना भएपछि टोलीका केही सदस्यहरूले अस्ट्रेलियामा बस्ने प्रयास गरेका थिए । कप्तान जह्रा घनबारीसहित पाँच खेलाडी रातको समयमा टोली बसेको होटलबाट निस्केर अस्ट्रेलियाली अधिकारीहरूसमक्ष शरण माग्न पुगेका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार टोलीका कम्तीमा दुई सदस्यले भोलिपल्ट बसोबासका लागि आवेदन दिएका थिए । तर अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बुधबार तीमध्ये एक खेलाडीले पछि आफ्नो निर्णय परिवर्तन गरेको जानकारी दिए ।

बर्कले संसद्मा दिएको जानकारी अनुसार ती खेलाडीलाई टोलीका साथीहरूले कुरा गरेर आफ्नो निर्णय पुनः विचार गर्न आग्रह गरेका थिए । त्यसपछि उनलाई इरानी दूतावाससँग सम्पर्क गर्न पनि प्रोत्साहित गरिएको थियो ।

उनका अनुसार त्यसपछि इरानी दूतावासलाई खेलाडीहरू कहाँ छन् भन्ने स्थानको जानकारी पुगेको थियो । बाँकी खेलाडीहरूलाई भने सुरक्षा कारणले सुरक्षित घरबाट अर्को स्थानमा सारिएको अस्ट्रेलियाली अधिकारीहरूले बताएका छन् ।
 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ५ : ३२ बजे

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी