सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता) « Khabarhub

सरकारसँग जनता असुरक्षित हुन थाले : एमाले सचेतक घतानी (अन्तर्वार्ता)



काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा मनोनीत भएकी निता घतानीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक सांसदको सूचीमा समेत समावेश गरे । स्थानीय विद्यार्थी संगठन र वडामा राजनीति गरिरहेकी उनी राष्ट्रिय राजनीतिमा पुगेपछि नसोचेको सफलता हात पारेको बताउँछिन् ।

‘राजनीति गरेर हिँड्ने मान्छेले जुनसुकै जिम्मेवारी सम्हाल्न पनि तयार हुनुपर्ने रहेछ,’ घतानी भन्छिन्, ‘यत्रो जिम्मेवारी आउला भन्ने सोचेको थिइनँ । निरन्तर अध्ययन, अनुसन्धान गर्दै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न लागिरहेकी छु ।’

आजबाट सुरु भएको प्रतिनिधिसभा बैठक एमालेले सरकारका गतिविधिलाई लिएर तीखो आलोचना गरिरहेको छ । घतानीका अनुसार अहिले प्रधानमन्त्री वालेन्द्र शाहलाई एमालेका कुनै नेताले पनि डाइरेक्ट भेटेर कुरा गर्न पाएका छैनन् । विद्यार्थी संगठन र ट्रेड युनियन खारेज लगायतका निर्णय सरकारले फिर्ता लिनुपर्ने उनको माग छ । प्रधानमन्त्री लोकप्रियतामा फसेको र वास्तविक समस्यामा चुकेको घतानीको विश्लेषण छ । यसै सन्दर्भमा खबरहबले निता घतानीसँग कुराकानी गरेको छ ।

नेकपा एमाले बलियो प्रतिपक्षीका रुपमा प्रस्तुत नभएको हो ?

सरकार बनेको एक–डेढ महिना मात्र भएको छ । छ वटा सदन चलेपछि स्थगित भएको छ । अहिले अधिवेशन कहिले चल्छ भन्ने ताकेता गरेपछि बल्ल सुरु हुन लागेको छ । पार्टीका आन्तरिक संसदीय दलगत कामहरू धेरै थिए । दलको नेता छान्नेदेखि लिएर अन्य पार्टीका एजेन्डाहरूमा पनि काम गर्नुपर्‍यो । यी कामहरू भइरहँदा पनि हामीले सभामुखलाई प्रतिपक्षको तर्फबाट झक्झक्याएकै हो । सदन चल्ने कुरालाई हामीले प्रेसर गरेकै हो । महँगी, मूल्य वृद्धिको विषयमा पनि हामी चुप लागेर बसेका छैनौँ । त्यसकारण नेकपा एमालेले यो सरकारले जे गरेपनि गरोस् भनेर पर्खेर बसेको होइन ।

पहिलो कुरा, यो सरकारलाई हामीले विश्वास पनि गर्नुपर्छ, किनकि जनताले दुईतिहाइ नजिक मत दिएर पठाएका हुन् । युवाका गतिविधिलाई पनि हामीले हेर्नुपर्छ । त्यो भनिरहँदा केही बिगार्ने पो हुन् कि भनेर पनि सजग पनि हुनुपर्छ । बिग्रियोस् भन्ने पनि होइन, तर शैलीगत हिसाबले हेर्ने हो भने उहाँहरू आफ्नो निर्णयमा अडिग पनि हुनुहुन्न ।

यो सरकारले यो चाहिँ नगरेको भए हुन्थ्यो भन्ने केही छ ?

हामीले अहिले सरकारलाई सभामुखको माध्यमबाट घच्घच्याइरहेका छौँ । प्रधानमन्त्री सामान्यतया जनता, कार्यकर्ताको एक्सेसमा हुनुहुन्न । सभामुखको माध्यमबाट हामीले अनौपचारिक रूपमा सचेतक, प्रमुख सचेतकको हैसियतले गतिविधि गरिरहेका छौँ । प्रतिपक्षी एमाले, कांग्रेस कसैको एक्सेसमा पनि प्रधानमन्त्री नभएकाले हामीले सभामुखको सहारा लिनुपरेको हो । तमाम खालका गुनासोका विषयमा हामीले पनि सम्बन्धित निकायसम्म जाओस् भनेर खबरदारी गरिरहेकै छौँ ।

अहिले देखिएका परिस्थिति हेर्दा निर्वाचन सम्पन्न भएको दुई–तीन महिना नबित्दै सरकारसँग डराउनुपर्ने अवस्था देखिएको छ । यो एकदमै गलत हो । जनता सबैभन्दा धेरै सुरक्षित आफ्नो सरकारसँग हुनुपर्ने थियो, तर देखिएन । अधिकांश रूपमा सार्वजनिक जग्गामा बस्ने मान्छे त्रसित छन् । मजदुरी गरेर खाने मान्छेहरू महँगीका कारण त्रसित छन् । महँगीको कुरा, सुकुम्वासी बस्तीको कुरा, विपद् व्यवस्थापन गर्ने विषयमा कुनै पनि ठोस योजनाहरू आइसकेका छैनन् । यी कुराहरू हामी सदनमा उठाउँछौँ ।

हामी पनि यो देशका नागरिक हौँ । प्रतिपक्षीको भूमिका सरकारलाई जतिखेर पनि नेगेटिभ कमेन्ट गर्ने मात्र होइन, हामी नेपाली नागरिकको सुरक्षाका लागि पनि सदनमार्फत सबै कुराको खबरदारी गर्छौँ । जनता सरकारसँग डराउनुपर्ने अवस्था आउनु एकदमै दुःखद कुरा हो ।

सरकारले यो–यो काम नगरेको भए हामीले आलोचना गर्ने थिएनौँ भन्ने केही छ ?

सुकुम्वासी र अव्यवस्थित बसोबासीको विषयमा त हामी आफैँ पनि व्यवस्थापन हुनुपर्छ भन्नेमा थियौँ । मान्छेको सबैभन्दा सुरक्षित ठाउँ भनेको छत हो । अझ त्योभन्दा पनि सुरक्षित आफूलाई ‘कन्फिडेन्ट’ बनाउने कुरा जमिन हो । आफूसँग जमिन छैन भने त्यो मान्छे कहिल्यै पनि काम गर्न पाउँदैन । त्यसकारणले हाम्रो पार्टी, हामी आफैँले सुकुम्बासीको व्यवस्थापन गर्दै जानुपर्छ भन्ने आवाज उठाएको हो ।

अहिले सुकुम्बासीमाथि डोजर लगाउने आवश्यकता होला । तर गरिब दुःखीलाई व्यवस्थापन नगरिकन डाइरेक्ट डोजर लगाउने कुरा चाहिँ गलत हो । अव्यवस्थित रूपमा बसेका मान्छेहरूलाई पहिले उनीहरूको व्यवस्थापन कहाँबाट गर्ने होला भन्ने कुरा हुन्छ होला नि । एउटा घरमा सात–आठ जना परिवार भएका मान्छे, विद्यालय जाने विद्यार्थी, परीक्षा लेख्ने विद्यार्थी सबैलाई अन्धाधुन्ध ठाउँ सारेर ‘होल्डिङ सेल्टर’ मा राखेर मिठो खान पाइरहेको छ, निःशुल्क भनेर मात्रै भएन । घर भत्कने कुरा उसको भावनासँग जोडिएको हुन्छ । घरका हरेक भित्तामा व्यक्तिको भावना हुन्छ । गरिब नै किन नहोस्, उसको सुत्ने ओछ्यान प्रिय हो ।

त्यसकारण डोजर लगाउने कुरा बजारमा आएका सुकुम्बासी हुन् कि हुकुम्बासी ? त्यहाँ जग्गा हडपेर बसेका मान्छेहरू पनि छन् । राज्यले पहिचान गर्नुपर्ने थियो । ‘तपाईँहरूलाई हामी यस्ता ठाउँमा राख्छौँ’ भन्नुपर्ने थियो । सरकारले त्यो पनि गरेको छैन । आफू बसेको संरचना भत्किएर सहन नसकेर मान्छेले आत्महत्या गरेको छ । यसमा सरकार गम्भीर भएको छैन । यो दुःखद कुरा हो । उनीहरुलाई व्यवस्थापन गरेर डोजर लगाएको भए हुन्थ्यो भन्ने छ।

अब सदन पनि सुरु भएको छ, कस्ता विषयहरू उठान गर्नुहुन्छ ?

सदन जहिले पनि प्रतिपक्षको हुन्छ । सत्तापक्षले सरकारको गुणगान गाउँछ र प्रतिपक्षले त्यसको लेखाजोखा गर्छ । विपक्षी दलका नेताहरू हुनुहुन्छ, उपनेताहरू हुनुहुन्छ, पक्कै पनि यो विषयमा छलफल भइरहेको छ । अहिले हेर्दाखेरि प्रतिपक्षी सबै दलहरूको एउटै खालको एजेन्डा आउँछ । हामी सरकारलाई खबरदारीका लागि मात्रै खबरदारी गर्दैनौँ । अध्यादेशबाट ल्याएका र आएका कुराहरूलाई पनि निर्क्यौल गरिन्छ ।

तपाईँहरूले प्रतिपक्षी मोर्चा पनि बनाउने हो ?

तत्काल मोर्चाको तयारी गरेका छैनौँ । तर देश, राज्य र सरकारको कामकारवाही लगायतका विषयमा हामी एक भएरै अगाडि बढ्छौँ । आवश्यकताका आधारमा मोर्चा गर्ने या अरू ढङ्गले अगाडि बढ्ने भन्ने निर्धारण हुन्छ । कुनै ठाउँमा ‘इस्यु’ उठाउनै पर्ने हुँदा मोर्चा तयार हुन्छ । यसका लागि सदन चल्न लागेको छ, आन्तरिक तयारीहरू भइरहेको छ ।

उसो भए अहिलेका प्रधानमन्त्री वालेन्द्र शाह र अरू मन्त्रीहरूलाई सुझाव दिनुपर्ने केही छ ?

पहिलो कुरा त सरकारले के काम गरिरहेको छ भन्ने कुरा पारदर्शी देखिएको छैन । बोलेर, ‘स्टन्ट’ गरेर मात्र सरकार अगाडि बढ्दैन । सदन चलेको पहिलो–दोस्रो भेलामै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सम्पूर्ण दलितसँग माफी माग्नुभयो । त्यो बीचमा तीन वटा जातीय छुवाछुतविरुद्धका घटनाहरू बाहिर आए ।

यति धेरै घटना बाहिर आउँदा यत्रो समुदायका लागि सरकारले केही पनि गर्न सकेन । हिजो माफी माग्ने नेताहरूले पनि यस्तो भएछ भनेर दुःख व्यक्त गर्नुभएन । उहाँहरूले सदनलाई आफ्नो सार्वजनिक क्षेत्रभन्दा पनि ‘पर्सनल फेसबुक’ र लोकप्रियताका आधारमा चलाइरहनुभएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सबैभन्दा सुरुमा उहाँहरूको व्यक्तिगत मिडिया ‘रुटिन अफ नेपाल बन्द’ मा आउँछ । हरेक कुराको एउटा अफिसियल ठाउँ हुन्छ । उहाँहरू धेरै ‘सिरियस’ नभएको र पारदर्शीता नदेखाएको अवस्था छ । उहाँहरुले के गर्न खोज्नुभएको हो, स्पष्ट छैन ।

सरकारले राम्रो काम गरेपनि प्रतिपक्षीले आलोचना गर्नुपर्छ भन्ने मान्यता छ, त्यही भएर विपक्षीले आलोचना गरेका हुन् भन्छन् नि सत्तारुढ नेताहरूले ?

राजनीतिक हिसाबले नाफा–घाटा हेरेर मात्रै हामीले कुरा गरेको होइन । ट्रेड युनियन खारेज गर्ने कुरा, विद्यार्थी संगठन खारेज गर्ने कुरा अपरिपक्व निर्णयहरू हुन् । दलीय स्वतन्त्रता र वैयक्तिक स्वतन्त्रता यी सबै कुराहरू खोज्नेले त सरकारलाई कहीँ पुर्‍याउँदैन । यी कुरा बचाउनलाई त अन्तिमसम्म तयार छौँ, किनभने धेरै ठूलो मेहनत र धेरै ठूलो संघर्षबाट पाएको उपलब्धि हो ।

साँच्चिकै ट्रेड युनियन र विद्यार्थी संगठन खारेज भयो भने के गर्नुहुन्छ ?

हामी सडक, सदन जहाँबाट पनि यो कुराको प्रतिवाद गर्छौँ र आवश्यक परेमा थप कदम पनि चाल्छौँ ।

मैले थोरै अर्को विषयमा मोडेँ । अहिले यहाँको पार्टी अध्यक्ष कहाँ हुनुहुन्छ र के गर्दै हुनुहुन्छ ?

पार्टी अध्यक्ष अहिले निवासमा हुनुहुन्छ । बीचमा यहाँहरूले देख्नुभएकै छ, उहाँको अप्रेसन पनि भएको हो । झन्डै २२–२५ दिन उहाँ हस्पिटलमा पनि बस्नुभएको हो । बीचमा उहाँलाई गम्भीर इन्फेक्सन पनि देखियो । बाहिर बिरामी भएको होइन, नाटक हो भन्छन् होला । तर साँच्चिकै उहाँलाई गम्भीर इन्फेक्सन भयो । त्यो उमेरको मान्छे लामो समय हिरासत र हस्पिटल बसेर, हस्पिटलमा नभएको बेला पनि ४० देखि ५० जना व्यक्ति भेट्न गएपछि उहाँलाई गाह्रो भयो । तर उहाँ पछिल्लो समय अफिसियल रूपमा कार्यकर्ता भेटघाट लगायतका कामहरू गर्न सुरु गर्नुभएको छ । आफैँ चाहिँ सबै कारणले कमजोर भए भनेर हारेर बस्नुभएको होइन ।

एमाले अध्यक्ष ओलीले अहिले नेतृत्व छोड्नुपर्छ कि पर्दैन ?

यो विषयमा बृहत् छलफल र कुराकानी गर्नुपर्छ । म एक्लैले छोड्नुपर्छ र पर्दैन भन्ने विषय भएन । सिनियर नेताहरूले यसबारे पक्कै छलफल गर्नुहोला । तर उहाँलाई अप्ठ्यारो परेको अवस्थामा उहाँमाथि प्रहार हुनु चाहिँ ठीक छैन ।

तपाईं पहिलोपटक संसदीय यात्रामा हुनुहुन्छ र सचेतकको भूमिकामा पनि हुनुहुन्छ । अलिकति भारी जिम्मेवारी भयो कि ? कसरी म्यानेज गरिरहनुभएको छ ?

राजनीतिमा लागेपछि जे पर्दा पनि तयारीमा हुनुपर्दो रहेछ । हिजो म यहाँसम्म पुग्छु भनेर सोचेको थिइनँ, तर आएँ । छोटो समयमा धेरै उपलब्धि प्राप्त गरे पनि मैले यसलाई अवसरभन्दा पनि धेरै चुनौतीका रुपमा लिएकी छु र मैले काम गर्नुपर्ने जिम्मेवारीका रूपमा लिएको छु । केन्द्रीय सदस्य र समानुपातिकबाट माननीय पनि भएँ ।

हिजो राजनीति सुरु गर्दै गर्दा सबै उपलब्धि पाउँछु भनेर लागेको बिल्कुल होइन । हिजो वडामा भएको राष्ट्रिय राजनीतिको ‘पोलिसी’मा आइसकेपछि अध्ययन, अध्यापन र पढाइ–लेखाइका कुरालाई बढी महत्त्व दिनुपर्ने रहेछ । बोल्ने र गर्ने कुरामा धेरै फोकस पार्नुपर्ने रहेछ। अलिअलि चाहिँ चुनौती पनि हुन्छ। निरन्तर अध्ययन, अनुसन्धान र ‘प्राक्टिस’लाई महत्त्वपूर्ण रूपमा अगाडि बढाइरहेको छु ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ८ : २३ बजे

‘गाजामा इजरायली आक्रमण, आठ जनाको मृत्यु’

एजेन्सी– गाजामा भएको इजरायली आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको

सातापछि जीवितै भेटिएका आरोही दावा काठमाडौं ल्याइए

काठमाडौं– सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक

अफगानिस्तानमा बारुती सुरुङ विस्फोट : दुई बालबालिकाको मृत्यु

काबुल– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा विगतका द्वन्द्वका क्रममा जमिनमा छाडिएका

‘साहित्यले मानव सरोकारलाई स्थानीय वास्तविकतासँग जोड्न प्रयास गरेको छ’

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाली साहित्यले विश्वव्यापी

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने