भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो ।
हालसम्म यहाँका करिब एक एक हजार ५०० परिवारमध्ये एक हजार २०० घरमा धारा जडान गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष राजनविक्रम राईले बताए । बाँकी रहेका घरमा पनि क्रमशः पानी वितरण गरिने उनले जानकारी दिए । ‘लोमा खोला आयोजनामार्फत १२ सय परिवारमा धारा जडान सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘बाँकी रहेका घरमा पनि क्रमशः वितरण गर्ने लक्ष्य छ ।’
पानी शुद्धीकरण पर्ने प्रविधि जडान नगरिएकाले पानी वितरणमा केही समस्या भएको उनको भनाइ छ । मुहानमा पानी प्रशोधन संरचना नरहेकाले बर्सातको समयमा बालुवा, गिट्टी आउने तथा धारा जाम हुने समस्या रहेको अध्यक्ष राईले बताए ।
बस्तीमा पानी वितरण थालिएपछि वर्षौंदेखीको पानीको समस्या हटेको स्थानीयवासी छत्रमाया कार्कीले बताए । लोमा खोलाको पानी घरमा आएपछि दैनिक काममा सहजता भएको उनको भनाइ छ । ‘घरमा धारा जडान भएपछि सहजता छ’, उनले भने, ‘एक गाग्री पानीको जोह गर्न दुईचार घण्टा लाग्थ्यो । अहिले आगनको डिलमा धारा छ । पानीको कुनै चिन्ता छैन ।’
बस्तीमा लोमा खोलाको पानी आएपछि दैनिकी नै फेरिएको स्थानीयवासी तिलबहादुर श्रेष्ठले बताए । पानी आएपछि गाईभैँसी खुवाउनदेखि दैनिक सरसफाइमा सहजता भएको उनले बताए ।
यो आयोजनाले षडानन्द नगरपालिकाका ८, ९, १०, ११ र १२ वडाका करिब एक हजार ५०० परिवारलाई राहत पुग्ने षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए ।
आयोजनालाई चाँडो सम्पन्न गराउन नगरले सम्बन्धित निकायमा बजेट मागसँगै आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ ।
यो आयोजना निर्माणको काम दुई ‘स्किम’मा सञ्चालन भइरहेको छ । हालसम्म आयोजनाको भौतिक प्रगति करिब ८० प्रतिशत रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका इन्जिनियर दीपक यादवले जानकारी दिए । श्रमदानसहित यो आयोजनाको अनुमानित कूल लागत २६ करोड ८२ लाख ३० हजार ८३५ रहेको कार्यालयले जनाएको छ ।
‘लोमा खोला खानेपानी आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने, ‘कामलाई तीव्र रुपमा अघि बढाएका छौँ । अब करिव २८५ घरधुरीमा पानी वितरण र शुद्धस्करण संयन्त्र बनाउन बाँकी रहेको अवस्था छ ।’
चालु आर्थिक वर्षमा तीन वटा ट्याङ्की, चार वटा डिपिटी र तीन वटा वितरण च्याम्बर निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुई हजार १०० मिटर मुख्य पाएप लाइन र ३७ हजार मिटर वितरण लाइन विस्तार गरिएको कार्यालयले जनाएको छ ।
दुई स्किममा गरी यो आयोजनाको मुख्य पाइप लाइन विस्तार करिब ४७ किलोमिटर र वितरण लाइन करिब १५३ किलोमिटर रहेको कार्यालयले जनाएको छ । यो आयोजनाको काम आव २०७५७६ बाट थालनी भएको हो ।












प्रतिक्रिया