सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण « Khabarhub

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ । चितवनको माडी नगरपालिकास्थित सामरिक एवं धार्मिक दृष्टिले देशकै महत्वपूर्ण आधारस्थल मानिने ऐतिहासिक सोमेश्वरगढी एउटा विशेष र ऐतिहासिक क्षणको साक्षी बन्यो । माडी नगरपालिका र नेपाली सेना श्री नयाँ गोरख गणको संयुक्त सहकार्यमा यहाँ निर्मित प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको शालिकको अनावरण गरिएसँगै पार्कले पूर्णता पाएको छ ।

नेपाली सेनाको निरन्तरको पहल, खोज-अनुसन्धान तथा स्थानीय जनप्रतिनिधिको दृढ इच्छाशक्तिका कारण यहाँ निर्मित शालिक र पार्कले पूर्णता पाएको हो । नेपाली सेना मध्य पृतनापति उपरथी विष्णुकुमार खड्काले महान् योद्धा तथा सोमेश्वरगढी विजयका नायक बस्न्यातको सम्मान, श्रद्धा र स्मरण स्वरूप पूर्णकदको शालिक अनावरण गरे । पूर्ण सैनिक पोसाकमा, बायाँ हातमा ढाल, दायाँ हातमा तरबार र कम्मरमा खुकुरीसहित ठिङ्ग उभिएको काजी बस्न्यातको शालिकले यहाँ पुग्ने जा–कोहीलाई पनि नेपाल एकीकरणको वीरगाथा र राष्ट्रिय स्वाभिमानको बलियो ऊर्जा प्रदान गर्ने उनको विश्वास छ ।

बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गरे भने माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले शालिककै छेउमा निर्माण गरिएको सोमेश्वर ढुङ्गेधाराको उद्घाटन गरिन् । माडी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महतोले उपस्थितलाई स्वागत गरे । समारोहमा माडी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना अन्य सुरक्षा निकाय, स्थानीयवासी तथा बुद्धिजीवीहरूको सहभागिता थियो ।

नगरप्रमुख महतोले अभिमानसिंह बस्न्यातको शालिक अनावरणसँगै एउटा ऐतिहासिक कामले पूर्णता पाएको बताए । शालिक निर्माणका लागि बागमती प्रदेश सरकार, माडी प्रज्ञा प्रतिष्ठान, समाजसेवी, बुद्धिजीवी तथा अन्य सरोकारवालाले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे । बस्न्यातको इतिहासको खोज, अनुसन्धान र दस्तावेजीकरणमा माडी प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नगरप्रमुख महतोले त्यसैका आधारमा शालिक निर्माणलाई पूर्णता दिन सकिएको बताए ।

पार्क निर्माण तथा व्यवस्थापनमा नेपाली सेनाले प्रतिकूल अवस्थाका बीच पनि निरन्तर खटेर काम गरेको भन्दै उनले सेनाको योगदानको प्रशंसा गरे । निर्माण अवधिभर आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी माडी नगरपालिकाले निर्वाह गरेको जानकारी दिँदै नगरप्रमुख महतोले सेनाले आफ्नो सीप र मेहनतबाट पार्कलाई पूर्णता दिएको उल्लेख गरे । उनले सोमेश्वरगढी र सोमेश्वर कालिका मन्दिर माडीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदासँग जोडिएका महत्वपूर्ण स्थल रहेको बताए ।

विगतमा माडीमा महामारी फैलिँदा वा खडेरी पर्दा स्थानीय बासिन्दाले सोमेश्वर कालिका मन्दिरमा पूजा तथा भाकल गर्ने परम्परा रहेको स्मरण गर्दै गढी र मन्दिर दुवैलाई समेटेर पर्यटन विकास गर्न आवश्यक रहेको उनले धारणा राखे । सोमेश्वरगढी नेपालका १०० पर्यटकीय गन्तव्यमध्ये एकमा सूचीकृत भएपछि यसको महत्व अझ बढेको उल्लेख गर्दै उनले त्यसयता प्रदेश र सङ्घीय सरकारको ध्यान यस क्षेत्रमा केन्द्रित भएको बताए ।

नगरप्रमुख महतोले भने, “माडीमा सोमेश्वरगढी मात्रै नभई धेरै धार्मिक तथा पर्यटकीयस्थल छन् । माडी नगरपालिकाले ठूलो सम्भावना बोकेको हुनाले यसलाई पर्यटकीय नगरी घोषणा गर्न प्रदेश सरकारसँग निरन्तर अनुरोध गरिरहेका छौँ ।” बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले सोमेश्वरगढी नेपालकै एक ऐतिहासिकस्थल भएको बताए । “यस स्थानको विकास, यहाँ बनाइएका पूर्वाधार र आज गौरवका साथ शालिकसमेत स्थापना हुनु हामी सबैको सामूहिक सहयोग र प्रयासको परिणाम हो”, उनले भने ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ५ : ३६ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने