ललितपुर– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले बुधबार शोक वक्तव्य जारी गर्दै काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई यो असह्य पीडा सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानी गढीमा बुधबार बिहान माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीका अनुसार मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको छ भने अन्यको पहिचान गर्ने प्रक्रिया जारी छ ।














प्रतिक्रिया