नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान १०:१८ बजे प्रक्षेपण गरिएको इसरोको पीएसएलभी-सी६२ मिसन असफल भएको छ।
सन् २०२६ मा इसरोको पहिलो मिसनका रूपमा प्रक्षेपण गरिएको यो रकेट तेस्रो चरणमा प्रवेश गरेपछि प्राविधिक खराबी आएर बाटैबाट भड्किएको इसरो प्रमुख डा. भी. नारायणनले बताएका छन् ।
रकेटले डीआडीओद्वारा विकास गरिएको ईओएस-एन१ (अन्वेषा) सहित कुल १६ उपग्रह बोकेको थियो। तेस्रो चरणमा समस्या आएपछि रकेटले लक्षित कक्षा समात्न नसकी सम्पर्कविहीन भएको हो ।
यस मिसनमा नेपालको स्याटेलाइट समावेश थियो । पीएसएलभी-सी६२ मिसनले मुख्य उपग्रह डीआरडीओको ईओएस-एन१/अन्वेषासहित १५ सह-यात्री स्याटेलाइट बोकेको थियो ।
तीमध्ये एक अन्तर्राष्ट्रिय पेलोड नेपालबाट पनि रहेको एक प्राविधिक स्याटेलाइट थिए । यो स्याटेलाइटलाई नेपाल विज्ञान तथा प्राविधि प्रतिष्ठान (नास्ट) र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनाइएको १यु क्यूबसेट ‘मुनाल’ भनिन्थ्यो ।
यसको उद्देश्य वन ढाकिएको क्षेत्र र वातावरणको तथ्यांक सङ्कलन गर्ने साना क्यामेरा र सेन्सर प्रयोग गर्नु थियो । तर रकेटको तेस्रो चरणमा समस्या आएपछि पीएसएलभी-सी६२ ले निर्धारित कक्षमा उपग्रह पुर्याउन सकेन ।
जसका कारण नेपालको उपग्रहसमेत त्यही अभियान पनि अहिलेलाई असफल भएको छ। प्रक्षेपण रकेट बाटैबाट भड्किँदा योजना अनुसार नेपालसहितका सबै स्याटेलाइटलाई लक्ष्य कक्षामा पठाउन असफल भएको हो ।
दुई वर्षअघि काठमाडौंमा भएको दुवै देशको परराष्ट्रमन्त्रीस्तरीय नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट निःशुल्क पठाइदिने सहमति जनाएको थियो । मुनाल स्याटेलाइटको लम्बाई, चौडाई र उचाई दस-दस सेन्टिमिटर थियो ।
यो भू-उपग्रह काभ्रेस्थित काठमाडौं युनिभर्सिटी हाईस्कुल, चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र संजिवनी मोडल हाइस्कुलका विद्यार्थीहरुले निर्माण गरेका थिए ।
यसअघि पनि सन् २०२५ मे १८ मा पीएसएलभी-सी६१ मिसन तेस्रो चरणमै प्राविधिक खराबीका कारण असफल भएको थियो। उक्त मिसनमा ईओएस-०९ पृथ्वी अवलोकन उपग्रहलाई ५२४ किलोमिटर उचाइको सन-सिङ्क्रोनस पोलार कक्षामा स्थापना गर्ने योजना थियो।
ईओएस-एन १ (अन्वेषा) र अन्य १४ उपग्रहलाई ५१२ किलोमिटर उचाइको सन-सिङ्क्रोनस अर्बिट (एसएसओ) मा स्थापना गर्ने लक्ष्य थियो।
रकेटको चौथो चरण (पीएस४) लाई पुन: सक्रिय गरी पृथ्वीको दिशातर्फ मोड्ने योजना बनाइएको थियो ।
त्यसपछि स्पेनको एक स्टार्टअपको ‘कीड’ (केस्ट्रल इनिसियल टेक्नोलोजी डेमोन्स्ट्रेटर) क्याप्सुल अलग हुने कार्यक्रम तय गरिएको थियो।
आठौँ मिनेटमै समस्या
पीएसएलभी-सी६२ /ईओएस –एन१ मिसनको कुल अवधि १ घण्टा ४८ मिनेट ५ सेकेन्ड तय गरिएको थियो। तर उडानको आठौँ मिनेटमै समस्या देखियो।
त्यसका कारण:
- पीएस४ चरणको इग्निशन (५०५.१२ सेकेन्ड) पूर्ण रूपमा सफल भएन।
- ईओएस-एन१ सहित १६ पेलोडलाई कक्षामा इन्जेक्ट गर्न सकिएन।
- रि-एन्ट्री बर्न र कीड सेपरेसन (६४८५ सेकेन्ड) जस्ता पछिल्ला कार्यक्रम सम्पन्न हुन सकेनन्।
- इसरोले मिशनलाई औपचारिक रूपमा सफल वा असफल घोषणा नगरे पनि,
- तेस्रो चरणमै समस्या आएपछि यस्तो मिसनलाई प्रायः असफल मानिन्छ।
मिशनमा रहेका सबै १६ उपग्रह रकेटसँगै मार्गबाट विचलित भएर हराएका छन् ।
अब के हुन्छ?
१. बाटो छोडेपछि रकेट के हुन्छ?
- रकेटका अनबोर्ड कम्प्युटर र सुरक्षा प्रणालीले निरन्तर दिशा, गति र उचाइ निगरानी गर्छन्।
- यदि रकेट गलत दिशामा गई जमिन वा बस्तीका लागि खतरा बनेमा रेन्ज सेफ्टी अफिसरले ‘फ्लाइट टर्मिनेसन’ गरी नष्ट गर्न सक्छन्।
- उच्च उचाइमा समस्या आएमा रकेटका भाग समुद्रमा खस्न सक्छन्।
- यस्तो अवस्थामा रकेटलाई पुनः नियन्त्रणमा लिन सम्भव हुँदैन।
२. १६ उपग्रह के हुन्छ?
- यदि उपग्रह अलग हुनुअघि समस्या आयो भने रकेटसँगै नष्ट हुन्छन् वा समुद्रमा खस्छन्।
- यदि उपग्रह अलग भइसकेर गलत कक्षामा पुगे भने सम्भव भए कक्षा सुधारको प्रयास गरिन्छ।
- कक्षा धेरै गलत भए उपग्रहलाई मिशनका लागि अनुपयोगी घोषणा गरिन्छ । केही समयपछि वायुमण्डलमा जल्न सक्छन्।
३. के यो ठूलो असफलता हो?
- प्राविधिक रूपमा यसलाई आंशिक वा पूर्ण मिशन असफलता मानिन्छ।
- तर इसरोका लागि यस्ता घटना सिकाइको प्रक्रियाको हिस्सा हुन्।
- अघिल्ला पीएसएलभी समस्यापछि प्रणाली अझ बलियो बनाइएको उदाहरण छन्।
विश्वकै भरोसायोग्य रकेटमध्ये एक
पीएसएलभी इसरोको सबैभन्दा भरपर्दो रकेट मानिन्छ। यसले हालसम्म ६३ उडान पूरा गरिसकेको छ। चन्द्रयान-१, मंगलयान (एमओएम), आदित्य-एल१ र एस्ट्रोसाट जस्ता प्रमुख मिसन यही रकेटमार्फत प्रक्षेपण गरिएका हुन्। सन् २०१७ मा एउटै मिशनमा १०४ उपग्रह प्रक्षेपण गरी पीएसएलभीले विश्व कीर्तिमान बनाएको थियो।
अन्वेषणको लक्ष्य
अन्वेषा उपग्रह डीआरडीओले विकास गरेको उन्नत हाइपरस्पेक्ट्रल इमेजिङ क्षमतायुक्त गुप्तचर उपग्रह हो। सयौँ किलोमिटर माथिबाट पनि झाडी, जंगल वा बंकरभित्र लुकेका लक्ष्यको तस्बिर खिच्न सक्ने क्षमता यसमा थियो।
हाइपरस्पेक्ट्रल उपग्रह प्रक्षेपण गर्ने देश
भारतसहित अमेरिका, चीन, जर्मनी, जापान, इटाली र पाकिस्तानले हाइपरस्पेक्ट्रल उपग्रह प्रक्षेपण गरिसकेका छन्। भारतले पहिलोपटक २९ नोभेम्बर २०१८ मा ३८० किलो तौलको एचवाईएसआईएस उपग्रह प्रक्षेपण गरेको थियो। अन्वेषा त्यही एचवाईएसआईएसको उन्नत संस्करण हो, जसको क्षमता अझ बढी छ।













प्रतिक्रिया