‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’ « Khabarhub

‘अस्ट्रेलिया र भारत नेपाल आएर खेलिदिए हाम्रो क्रिकेट अझै फैलिने थियो’

'ठूला टिमसँग खेल्न नपाउँदा सोचेजस्तो एक्स्पोजर पाएनौँ'


२९ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टेस्ट राष्ट्र सँग नियमित खेल्ने वातावरण मिलाइदिन आग्रह गरेका छन् । सन् २०२४ को टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि नेपाली खेलाडीले सोचे अनुरूपको एक्स्पोजर र अवसर नपाएको उनले गुनासो गरे ।

२०२४ को विश्वकपमा नेपालले फाइनल पुगेको दक्षिण अफ्रिकासँग मात्र १ रनको रोमाञ्चक हार बेहोरेको थियो । तर, त्यसयता नेपालले टेस्ट खेल्ने राष्ट्रमध्ये सेप्टेम्बर २०२५ मा सारजाहमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० शृङ्खला मात्र खेल्न पाएको छ ।

इटालीसँगको खेलअघि बोल्दै रोहितले भने, “दुई वर्षको अवधिमा हामीले जुन स्तरको एक्स्पोजर र अनुभव पाउँछौँ भन्ने सोचेका थियौँ, त्यो पाएनौँ । राम्रा टिमहरूसँग खेलेर आफ्नो क्षमता परीक्षण गर्नु हाम्रा लागि निकै महत्त्वपूर्ण छ, तर त्यो अवसर पुगेको छैन ।”

नेपालका कप्तान रोहितकुमार पौडेल । तस्बिरः क्यान

रोहितका अनुसार नेपालको क्रिकेट विकासका लागि शीर्ष टोलीसँगको निरन्तरता अनिवार्य छ । जारी विश्वकपपछि यो परिस्थिति बदलिनेमा उनी आशावादी छन् ।

“यदि हामीले वर्षमा ६-७ वटा नभए पनि कम्तीमा एक वा दुईवटा शृङ्खला ठूला टिमसँग नियमित खेल्न पायौँ भने हामी आफूलाई परीक्षण गर्न सक्छौँ,” उनले थपे, “आशा छ, यो विश्वकपपछि अवस्था परिवर्तन हुनेछ ।”

सन् २०२६ को विश्वकपको पहिलो खेलमा नेपालले इंग्ल्याण्डलाई कडा टक्कर दिएको थियो । यसले नेपाल पनि उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने प्रमाणित गरेको रोहितको भनाइ छ ।

उनले अगाडि भने, “अस्ट्रेलिया वा इंग्ल्याण्डजस्ता टिम नेपाल आएर खेल्नुको ठूलो अर्थ हुन्छ । यसले विश्व क्रिकेटलाई नेपालले पनि राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश दिनेछ । पछिल्लो विश्वकपमा हामीले राम्रो खेल्यौँ र यो पटक अझ बलियो भएर आएका छौँ । यदि अस्ट्रेलिया, इंग्ल्याण्ड वा भारत नेपाल आएर खेल्ने हो भने हाम्रो क्रिकेटको विकास हुन्छ र यसले क्रिकेटको विश्वव्यापीकरणमा पनि मद्दत पुग्छ ।”

मुम्बईमा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपाल ऐतिहासिक जितको निकै नजिक पुगेर चुकेको थियो । हारले निराश बनाए पनि टोलीको आत्मविश्वास भने बढेको रोहित बताउँछन् ।

“निराशा त छ, तर इंग्ल्याण्डजस्तो दाबेदार टिमसँग जसरी हामीले खेल्यौँ, त्यसले एउटा समूहको रूपमा हामीलाई धेरै आत्मविश्वास दिएको छ,” रोहितले भने, “हामीले राम्रो योजना बनाएका छौँ, अब त्यसलाई मैदानमा उतार्ने समय आएको छ । दबाबपूर्ण परिस्थितिमा कसरी खेल्ने भन्ने हामीले सिकिरहेका छौँ । हामीले ठुलो संख्यामा दर्शकका सामु खेलिसकेका हुनाले दबाब झेल्न अब हाम्रा खेलाडी अभ्यस्त भइसकेका छन् ।”

नेपालको यो प्रदर्शनले डेल स्टेनजस्ता दिग्गज क्रिकेटर्सको समेत ध्यान खिचेको छ । यसले नेपाली क्रिकेटमा सकारात्मक चर्चा थपेको रोहितको बुझाइ छ ।

यस विश्वकपमा नेपालका सबै चार खेल मुम्बईको वानखेडे स्टेडियममा तय भएका छन् । रोहित यसलाई नेपालका लागि ठुलो फाइदा मान्छन् । “एशियाली परिस्थितिमा खेल्नु हाम्रा लागि सधैँ फाइदाजनक हुन्छ । त्यसमाथि वानखेडेमा सबै खेल हुनु अझ राम्रो हो । त्यहाँको पिचले पनि हाम्रो खेल शैलीलाई साथ दिइरहेको छ,” उनले निष्कर्षमा भने । –यो ईएसपिएन क्रिकइन्फोबाट अनुवाद गरिएको सामग्री हो ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार  १० : २६ बजे

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा