नेपालको सांस्कृतिक सम्पदामध्ये सबैभन्दा अनौठो र विश्वमै कमै देखिने परम्परा हो– भक्तपुरको ‘जिब्रो छेड्ने जात्रा’। यो जात्रा विशेषगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइन्छ । यो जात्रा केवल एक धार्मिक अनुष्ठान मात्र होइन, गहिरो आस्था, सांस्कृतिक पहिचान र समुदायको सामूहिक विश्वाससँग जोडिएको जीवित परम्परा हो । भक्तपुर उपत्यकाको सांस्कृतिक धरोहरसँग जोडिएको यो जात्रा आजसम्म पनि निरन्तर चलिरहेको छ, जसले पुरानो विश्वास र आधुनिक समयबीचको पुलको रूपमा काम गरिरहेको देखिन्छ ।
यो जात्राको इतिहास कहिलेबाट सुरु भयो भन्ने ठ्याक्कै लिखित प्रमाण उपलब्ध छैन । संस्कृतिविद् र स्थानीय परम्पराअनुसार यो परम्परा धेरै पुरानो हो । सम्भवतः मल्लकालदेखि चल्दै आएको मानिन्छ । त्यतिबेला समाजमा धर्म, तान्त्रिक अभ्यास र देवताप्रतिको गहिरो आस्था दैनिक जीवनसँग घनिष्ठ रूपमा जोडिएको थियो। प्राकृतिक विपत्ति, रोग–व्याधि र डर–त्रासबाट जोगिन मानिसहरूले विभिन्न धार्मिक विधिहरू अपनाउने गर्थे । त्यही धार्मिक र सामाजिक वातावरणबाट यो जिब्रो छेड्ने जात्राको विकास भएको विश्वास गरिन्छ ।
भक्तपुरको नीलबाराही देवगणसँग यो जात्रा विशेष रूपमा जोडिएको मानिन्छ । स्थानीय विश्वासअनुसार देवी–देवताप्रतिको श्रद्धा, आत्मशुद्धि र समुदायको संरक्षणका लागि यो अनुष्ठान सुरु भएको हो । यद्यपि यसको उत्पतिबारे विभिन्न लोककथाहरू पनि प्रचलित छन् । ती कथाहरूमा प्राचीन समयमा बोडे क्षेत्रमा भूतप्रेत, पिशाच र नकारात्मक शक्तिहरूले मानिसहरूलाई सताउने गरेको उल्लेख पाइन्छ । त्यसलाई नियन्त्रण गर्न एक तान्त्रिकले विशेष विधि प्रयोग गरी ती शक्तिहरूलाई परास्त गरेको र त्यसपछि जिब्रो छेड्ने परम्परा सुरु भएको भन्ने कथा सुनिन्छ । तर यस्ता कथाहरू ऐतिहासिक प्रमाणमा आधारित नभई मौखिक परम्परा र धार्मिक विश्वासका आधारमा पुस्तौँदेखि चल्दै आएका हुन् । त्यसैले यसलाई इतिहासभन्दा पनि लोकविश्वासका रूपमा बुझ्नुपर्छ ।
जात्राको मुख्य आकर्षण जिब्रो छेड्ने प्रक्रिया हो, जुन अत्यन्तै कठोर नियम र धार्मिक अनुशासनसँग जोडिएको हुन्छ । जिब्रो छेड्ने व्यक्ति चयन भएपछि उनीहरूले केही दिन अगाडि नै आफूलाई शुद्ध बनाउनु पर्छ । सामान्यतया तीन दिनसम्म निराहार व्रत बस्ने, केवल पानी मात्र खाने र मानसिक रूपमा पनि शान्त तथा पवित्र रहने परम्परा हुन्छ । जात्राको दिन नाइकेहरूले देवगणको विशेष पूजा गर्छन् । त्यसपछि करिब एक महिनासम्म तेलमा डुबाएर राखिएको करिब १० इन्च लामो सुइरो जिब्रो छेड्न प्रयोग गरिन्छ । यो कार्य पाँचो गणेशको प्राङ्गणमा विशेष विधिअनुसार सम्पन्न गरिन्छ ।
जिब्रो छेडेपछि जात्रा अझै समाप्त हुँदैन। सहभागी व्यक्तिले चन्द्राकार ‘भ्वाय’ अर्थात् महाद्वीप बोकेर टोल–टोल घुम्नुपर्छ । यो नगर परिक्रमा केवल प्रदर्शन होइन, समुदायलाई आशीर्वाद दिने र धार्मिक ऊर्जा फैलाउने प्रतीक मानिन्छ। परिक्रमाका क्रममा सहभागीले अत्यन्तै कठोर नियम पालना गर्नुपर्छ । जिब्रो छेडेपछि नगर परिक्रमा पूरा नगरेसम्म पानीसमेत नखाने नियम रहेको छ ।
नगर परिक्रमा पूरा भएपछि अन्तिम चरणमा भाँगु टोल हुँदै पाँचो गणेश मन्दिरमा पुगेर जिब्रो छेडिएको सुइरो निकालिन्छ । त्यसपछि महालक्ष्मी मन्दिरमा सुइरो ठोकेपछि मात्र जात्रा विधिवत रूपमा सम्पन्न हुन्छ । यो सम्पूर्ण प्रक्रिया धार्मिक आस्था, आत्मसमर्पण र सांस्कृतिक अनुशासनसँग गहिरो रूपमा जोडिएको हुन्छ ।
मध्यपुरथिमिमा दुई वटा जिब्रो छेड्ने जात्रा प्रचलनमा रहेको छ । पहिलो बिस्का : जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख २ गते बोडेमा हुने जिब्रो छेड्ने जात्रा र दोस्रो इन्द्रजात्राको भोलिपल्ट अर्थात आश्विन शुक्ल पूर्णिमाको दिन मनाइने ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’ ।
दुवै जात्राको आआफ्नै विशेषता रहेको छ । बोडेको जिब्रो छेड्ने जात्रामा एक जनाले मात्र जिब्रो छेडाउने प्रचलन रहेको छ भने यो जात्रा परिक्रमा गरिने निश्चित प्रदिक्षामार्ग (रुट) रहेको हुन्छ । तर थिमिको ‘येंया पुन्ही म्ये प्वाः खनेगु जात्रा’मा जिब्रो छेडाउने व्यक्ति एक जना भन्दा धेरै पनि हुनसक्छन् । यो जात्रामा जिब्रो छेडाउन इच्छाइएको व्यक्ति धेरै भएमा एकजना भन्दा बढीले पनि जिब्रो छेडाउन पाइन्छ ।
यो जात्राको अर्थ केवल शारीरिक पीडा सहनु मात्र होइन, बरु आत्मशुद्धि, अहङ्कार त्याग र देवताप्रतिको पूर्ण समर्पणको प्रतीक मानिन्छ। जिब्रो बोल्ने अंग भएकाले यसलाई छेड्नु भनेको अनावश्यक बोलाइ, अहङ्कार र गलत व्यवहारमाथि नियन्त्रणको सङ्केत का रुपमा व्याख्या गरिन्छ । यसैले यसलाई केवल साहसको प्रदर्शन मात्र नभई आध्यात्मिक अभ्यासको रूपमा पनि लिइन्छ ।
समयसँगै यो जात्रा भक्तपुरको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ । विभिन्न पुस्ताले यसलाई निरन्तरता दिँदै आएका छन्। कुनै समय यो परम्परा केही समुदायभित्र मात्र सीमित भए पनि अहिले यो राष्ट्रिय र अन्तर्राष्ट्रिय चासोको विषय बनेको छ। प्रत्येक वर्ष हजारौँ मानिस यो जात्रा हेर्न बोडेमा जम्मा हुन्छन्। यसले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्याएको छ।
यद्यपि आधुनिक समयसँगै यस जात्राबारे विभिन्न प्रश्न र बहस पनि उठ्ने गरेका छन्। कतिपयले यसलाई अत्यन्तै कठोर र जोखिमपूर्ण परम्परा भन्दै आलोचना गर्छन् भने कतिपयले यसलाई सांस्कृतिक सम्पदाको रूपमा जोगाउनुपर्ने बताउँछन्। तर स्थानीय समुदायका लागि यो केवल परम्परा मात्र नभई आफ्नो पहिचान, आस्था र इतिहाससँग जोडिएको गहिरो भावनाको रुपमा लिने गर्दछन् ।
भक्तपुरको जिब्रो छेड्ने जात्रा कुनै एक निश्चित घटनाबाट सुरु भएको प्रमाणित इतिहास होइन। यो मल्लकालीन धार्मिक–सांस्कृतिक वातावरण, तान्त्रिक विश्वास र लोककथाहरूको मिश्रणबाट विकसित भएको परम्परा हो। यससँग जोडिएका भूत–प्रेत र तान्त्रिक कथाहरू ऐतिहासिक तथ्य नभई लोकविश्वास हुन्, तर यिनै कथाहरूले यस जात्रालाई अझ रहस्यमय र आकर्षक बनाइदिएका छन्। आज यो जात्रा भक्तपुरको अमूल्य सांस्कृतिक सम्पदा बनेको छ, जसले परम्परा, आस्था र समुदायको एकतालाई जीवन्त रूपमा प्रस्तुत गरिरहेको छ।













प्रतिक्रिया