काठमाडौं- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ। हाडजोर्नी उपचार, ट्रमा व्यवस्थापन तथा सम्बन्धित क्षेत्रमा कार्यरत चिकित्सकहरूको उपस्थितिमा बिहीबार सोसाइटी गठन भएको हो। वरिष्ठ चिकित्सक प्रा. डा. रमेशप्रसाद सिंहलाई संरक्षक चयन गरिएको छ।
सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्तकुमार गुप्ता, महासचिवमा डा. विजयेन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन्।
त्यस्तै, डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल सदस्यमा मनोनीत भएका छन्।
प्रदेशस्तरीय सदस्यमा कोशीबाट डा. रुपेशजंग बेल्बासे, मधेशबाट डा. चन्द्रभूषण यादव, बागमतीबाट डा. मनोज कँडेल, गण्डकीबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा. प्रकृतिराज कँडेल, कर्णालीबाट डा. पूजनकुमार रोकाया र सुदूरपश्चिमबाट डा. मन्दीप पाठक चयन भएका छन्।
नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्न आयोजित कार्यक्रममा अध्यक्ष डा. लामिछानेले वैज्ञानिक समितिको अध्यक्षमा डा. रोहित श्रेष्ठ तथा सदस्यमा डा. भाष्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौला चयन भएको जानकारी दिए।
अध्यक्ष डा. लामिछानेले नेपालको हाडजोर्नी तथा ट्रमा सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्याउने उद्देश्यले सोसाइटी गठन गरिएको बताए।
उहाँले काठमाडौं उपत्यकाबाहिरका जिल्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ चिकित्सकलाई पनि यथासम्भव समेट्ने प्रयास गरिएको उल्लेख गर्दै ट्रमा सेन्टरको विकास तथा विस्तार, जनचेतना अभिवृद्धि, अनुसन्धानमूलक गतिविधि, ट्रमा सर्जरीको गुणस्तर सुधार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार र नीति निर्माण तहमा सहयोग पुर्याउने विषयलाई प्राथमिकतामा राखिने बताए।
सोसाइटीले सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण नेपालमा गम्भीर चोट (ट्रमा) सम्बन्धी समस्या बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै विशेषज्ञहरूबीच ज्ञान, अनुभव र नवीनतम् प्रविधिको आदानप्रदानमार्फत उपचार सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला, गोष्ठी, नयाँ सर्जनका लागि फेलोसिप कार्यक्रम, उत्कृष्ट सर्जनलाई पुरस्कार, निःशुल्क स्वास्थ्य शिविर तथा अन्य ज्ञानवर्द्धक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको अध्यक्ष डा. लामिछानेले जानकारी दिए।
सोसाइटीका अनुसार हाल नेपालमा करिब ९०० हाडजोर्नी विशेषज्ञ चिकित्सक कार्यरत छन्। दुर्घटना तथा विपद्का कारण गम्भीर चोटपटक भोग्ने बिरामीहरूको उपचारमा उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ।












प्रतिक्रिया