हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै « Khabarhub

हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पाँचथर– लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङले शासन सत्ता सञ्चालन गरेको स्थान हिलिहाङ गाउँपालिका-४ हस्तपुरमा प्यागोडा शैलीको दरबार निर्माण भएपछि पर्यटकको आकर्षण बढेसँगै आन्तरिक पर्यटन प्रवर्द्धन हुन थालेको छ । धार्मिक, ऐतिहासिक र पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण हिलिहाङ दरबार क्षेत्रमा पूर्वाधार विस्तार गरिएपछि पर्यटन प्रवर्द्धनको माध्यम बनेको हो । 

दरबार क्षेत्रमा प्यागोडा शैलीको तीनतले दरबार निर्माण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र हिलिहाङ गाउँपालिकाको साझेदारीमा दुई करोड ५१ लाख ६८ हजार रुपैयाँको लागतमा दरबार निर्माण भएको गाउँपालिका कार्यालयले जनाएको छ । मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा निर्माण भएको दरबारका संरचना भगवती बौद्ध जेभी इलामले निर्माण गरेको हो । 

दरबारमा अवलोकनका अन्य सामग्री नभए पनि यसको आकर्षक बनोट, यहाँको भूगोल र इतिहासप्रतिको चासोले पर्यटकलाई आकर्षण गर्ने गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले बताए । 

उनका अनुसार यहाँ पुग्ने पर्यटकले राजा हिलिहाङको समयका बैठकस्थल, राजसभास्थल, पर्खाल, दरबारमा प्रयोग भएका इँटा, खड्पललगायत संरचनाको अवलोकन गर्न पाउँछन् । त्यस्तै राजा हिलिहाङले शक्ति प्राप्त गरेको विश्वास गरिने युमा साम्माङ माङयुक्ना हिम (महारानी शक्तिपीठ) को दर्शन गर्ने प्रचलन रहिआएको उनले जानकारी दिए । 

नेपालको संविधानबमोजिम स्थानीय तह पुनर्संरचनाका क्रममा साविकका भारपा, सुभाङ, पञ्चमी र अमरपुरलाई जोडेर हिलिहाङ गाउँपालिका बनेपछि राजा हिलिहाङ तथा उनको दरबारबारे खोजी सुरु भएको थियो । हिलिहाङ फाउन्डेसनले मेची राजमार्गको याङवरक गाउँपालिका–६ नागीमा प्रवेशद्वार निर्माण गर्नुका साथै हिलिहाङ दरबार अगाडि सालिक निर्माण गरेको छ । 

गाउँपालिकाले हिलिहाङ महोत्सव गर्नुका साथै कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय स्थापना गरेपछि यस क्षेत्रबारे थप चासो बढेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार पुरातत्व विभागले हिलिहाङ दरबार क्षेत्रको पुरातात्त्विक सम्पदाबारे खोजी गरिरहेको छ ।

समुद्री सतहबाट एक हजार ८२० मिटर उचाइमा पर्ने हिलिहाङ दरबार क्षेत्र जङ्गलको बीचमा अवस्थित छ । शान्त, एकान्त र सुन्दर हरियालीमा अवस्थित यस पर्यटकीय क्षेत्रसम्म गाउँपालिकाको पहलमा सडक विस्तार भएपछि पर्यटकको आवागमन सहज भएको छ । गाउँपालिकाले पाँच वर्ष अघिदेखि राजा हिलिहाङको जन्मोत्सव मनाउन थालेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

उनका अनुसार हिलिहाङ दरबार क्षेत्रलाई पर्यटकको आकर्षण बनाउने, हिलिहाङ राजाको शासनकालका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राख्ने प्रयास भइरहेको छ । दरबार क्षेत्रसँगै जोडिएको भोटेगढीसहित पर्यटकीय क्षेत्रमा पर्यटन पूर्वाधार विकास र प्रचारप्रसारमार्फत पर्यटन प्रवर्द्धन गर्न पालिकाले लगानी गरिरहेको उनले बताए । 

‘नेपाल एकीकरणका क्रममा तत्कालीन गोरखा फौजसँग हिलिहाङको फौज १७ पटकसम्म अपराजित रहेको विश्वास गरिन्छ । तर विसं १८३१ साउनमा राजा हिलिहाङले नेपाल एकीकरण अभियानलाई सहजीकरण गर्दै याङवरक थुम (जिल्ला)लाई नेपाल मातहत राखी स्वशासनको अधिकार लिएको इतिहास छ । विसं १८४२ मा हिलिहाङको अकस्मात मृत्यु भएपछि याङवरक थुम पूर्णतः नेपाल मातहतमा गाभियो । यही आधारमा हिलिहाङलाई लिम्बूवानका अन्तिम राजा भन्ने गरिन्छ’, अध्यक्ष अधिकारीले भने । 

पराक्रमी मानिने राजा हिलिहाङको निधनपछि उनीसँग रुष्ट पक्षले दरबार र राज्यसत्तामा दखल दिएकाले दरबारको संरक्षण हुन नसक्दा भत्किएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । अध्यक्ष अधिकारीका अनुसार उक्त दरबारमा प्रयोग भएका इँटा र सो समयमा लगाइएका पर्खालहरू अझैपनि दरबार परिसरमा छन् । रासस
 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : ३० बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ