पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति « Khabarhub

पुटिनको कुरिल भ्रमणमा जापानको आपत्ति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापानले आफ्नो भूभाग दाबी गर्दै आएको विवादित कुरिल टापुहरूको पहिलो भ्रमण गरेपछि रुस–जापानबीचको पुरानो क्षेत्रीय विवाद फेरि सतहमा आएको छ । जापानले पुटिनको भ्रमणप्रति कडा विरोध जनाउँदै ती टापुहरू आफ्नो भूभाग भएको दोहोर्‍याएको छ ।

क्रेमलिनले बिहीबार कुरिल द्वीपसमूहमध्ये एक टापुमा पुटिनको भ्रमणको भिडियो सार्वजनिक गरेको थियो । रूसी सञ्चारमाध्यमका अनुसार ७३ वर्षीय पुटिनले त्यहाँ रहेको माछा प्रशोधन केन्द्रको निरीक्षण गरेका थिए र उनलाई क्याभियरसमेत प्रदान गरिएको थियो ।

पुटिनले त्यसअघि बुधबार नजिकैको रूसी टापु सखालिनको भ्रमण गरेका थिए । सखालिनमा उनले रुसी सेनाले सञ्चालन गरिरहेको अभ्यासको निरीक्षण गर्दै ‘रुसको पूर्वी सिमानाको सुरक्षा सुनिश्चित गर्ने’ विषयमा बैठक गरेको रुसी समाचार संस्था आरआइए नोभोस्तीले जनाएको छ ।

जापानका विदेशमन्त्री तोसिमित्सु मोतेगीले पुटिनको कुरिल भ्रमणप्रति कडा आपत्ति जनाएका छन् । उनले उत्तरी क्षेत्र भनेर चिनिने ती टापुहरू ऐतिहासिक तथा अन्तर्राष्ट्रिय कानून दुवैका आधारमा जापानको अभिन्न भूभाग भएको बताउँदै भ्रमणको विरोध गरेका हुन् ।

कुरिलका चार मुख्य टापुलाई लिएर रुस र जापानबीच लामो समयदेखि विवाद रहँदै आएको छ । दोस्रो विश्वयुद्धको अन्तिम चरणमा सन् १९४५ मा सोभियत सङ्घले ती टापुहरू कब्जा गरेपछि जापानले आफ्नो दाबी कायम राख्दै आएको छ । यही क्षेत्रीय विवादका कारण दुवै देशबीच शान्ति सन्धिसम्बन्धी वार्तामा समेत लामो समयदेखि पूर्ण सहमति हुन सकेको छैन ।

सन् २०२२ मा युक्रेनमा रुसले व्यापक सैन्य कारबाही सुरु गरेपछि भने दुई देशबीचको सम्बन्ध थप चिसिएको छ । जापानले जी–७ का अन्य सदस्य राष्ट्रसँगै रुसमाथि प्रतिबन्ध लगाउँदै युक्रेनलाई आर्थिक तथा गैरघातक सैन्य सहायता उपलब्ध गराउँदै आएको छ ।

पुटिनले बुधबार जापानले लगाएको प्रतिबन्धलाई ‘अप्रेरित’ भन्दै आलोचना गरेका थिए। जापानले रुसलाई आफ्नो प्रमुख सुरक्षा खतरामध्ये एकका रूपमा हेरेको उल्लेख गर्दै उनले रुसले जापानलाई धम्की नदिएको दाबी गरेका थिए । बरु जापानले रुसविरुद्ध क्षेत्रीय दाबी गरिरहेको उनको भनाइ थियो ।

यसैबीच रुस र चीनबीच सैन्य सहकार्य पनि पछिल्ला वर्षमा बढेको छ । दुवै देशका नौसेना तथा वायुसेनाले जापान वरपरका क्षेत्रमा संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । जापानले आफ्ना लडाकू विमानले रुसी तथा चिनियाँ सैन्य विमानको गतिविधिलाई निगरानी गर्न वर्षमा सयौँपटक उडान गर्नुपरेको जनाएको छ ।

उत्तर कोरियाले पनि जापानको बढ्दो सैन्य क्षमतालाई लिएर आलोचना गर्दै आएको छ । यसै महिनाको सुरुआतमा उत्तर कोरियाले जापान आफ्नो सैन्य निर्माणलाई ‘युद्धरत राज्यमा रूपान्तरण’ गर्ने दिशामा अघि बढिरहेको आरोप लगाएको थियो । प्योङयाङले युक्रेनविरुद्धको युद्धमा रुसलाई सहयोग पुर्‍याउन आफ्ना सैनिक तथा तोपखाना पठाएको विषय पनि यस क्षेत्रको सुरक्षा समीकरणमा थपिएको छ ।

जापानले यसै महिना सार्वजनिक गरेको पछिल्लो रक्षा श्वेतपत्रमा रुस, चीन र उत्तर कोरियाबाट उत्पन्न सुरक्षा जोखिमलाई विशेष रूपमा औँल्याएको छ । यसले पूर्वी एसियामा बढिरहेको सैन्य प्रतिस्पर्धा र क्षेत्रीय तनावप्रति टोकियोको बढ्दो चिन्ता देखाएको छ ।

कुरिल टापुहरूको विवाद नयाँ भने होइन । सन् २०१० मा तत्कालीन रूसी राष्ट्रपति दिमित्री मेदभेदेभ विवादित क्षेत्रको भ्रमण गर्ने पहिलो रुसी राष्ट्रपति बनेका थिए । उनले पछि प्रधानमन्त्रीका रूपमा समेत ती क्षेत्रको भ्रमण गर्नुभएको थियो । पुटिनको यसपटकको भ्रमण भने जापानसँगको सम्बन्ध थप तनावपूर्ण बनेको अवस्थामा भएको हो ।

कुरिलका विवादित चार टापु ज्वालामुखीय कुरिल द्वीपसमूहको हिस्सा हुन् । यो द्वीपसमूह रुसको कामचटका प्रायद्वीपदेखि जापानको उत्तरी मुख्य टापु होक्काइडोसम्म फराकिलो चापमा फैलिएको छ । ती चार टापु रुसी भाषामा कुनासिर, हबोमाई, शिकोटान र इटुरुप तथा जापानी भाषामा क्रमशः कुनासिरी, हबोमाई, शिकोटान र एटोरोफु भनेर चिनिन्छन् ।

कठोर जलवायु रहेको ती टापुमा करिब २० हजार रुसी नागरिक बसोबास गर्छन् । त्यहाँ सुन र चाँदीलगायत खनिज स्रोतका साथै प्रशस्त माछा पाइने समुद्री क्षेत्र छन् । यही कारण टापुहरूको आर्थिकसँगै सामरिक महत्त्व पनि रहेको छ ।

सन् १९४५ मा सोभियत सेनाले टापुहरू कब्जा गरेपछि त्यहाँ बसोबास गर्ने करिब १७ हजार जापानी नागरिकलाई विस्थापित गरिएको थियो । 

त्यसपछि शीतयुद्धका क्रममा सोभियत सङ्घले ती टापुमा हवाई तथा समुद्री सैन्य संरचना विकास गरेको थियो । जापान र अमेरिकाको प्रशान्त क्षेत्रमा रहेको सैन्य उपस्थितिको सामना गर्न ती क्षेत्र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्थे ।

सोभियत सङ्घले सन् १९४५ अगस्ट ८ मा जापानविरुद्ध युद्ध घोषणा गरेको थियो । त्यसको केही दिनपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । त्यसै युद्धको अन्तिम चरणमा सोभियत सेनाले कुरिल टापुहरू कब्जा गरेपछि सुरु भएको विवाद आजसम्म समाधान हुन सकेको छैन ।

पुटिनको यसपटकको भ्रमणले पुरानो क्षेत्रीय विवादलाई पुनः चर्चामा ल्याएको मात्र नभई रुस–जापान सम्बन्धमा विद्यमान तनावलाई समेत थप स्पष्ट पारेको छ । 

जापानले आफ्नो दाबी दोहोर्‍याइरहेको र रुसले ती टापुमा आफ्नो प्रशासन तथा सैन्य उपस्थिति निरन्तर विस्तार गरिरहेको अवस्थामा विवाद तत्काल समाधान हुने सम्भावना कमजोर देखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  २ : ३४ बजे

बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार

एजेन्सी- इन्डोनेसियाको बालीस्थित पर्यटकीय क्षेत्रनजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको

रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता

काठमाडौं- अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा

रेडिसन होटलमा १८४ सिलिन्डर ग्यास भेटियो

काठमाडौं- उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले

अब्राहम लिङ्कन विमानवाहक पोतमा के भएको हो ?

वाशिङ्टन- अमेरिकी नौसेनाको विमानवाहक पोत युएसएस अब्राहम लिङ्कनभित्रको अवस्थालाई लिएर