एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा क्षति पुगेपछि मध्य अमेरिकी देश पनामाले राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन आपतकाल घोषणा गरेको छ। यसैबीच, मङ्गलबार बिहान पनामामा ६.१ म्याग्निच्युडको अर्को भूकम्प गएको नेसनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) ले जनाएको छ।
यसअघि शुक्रबार पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। त्यसपछि १४७ वटा परकम्प आएका थिए। तीमध्ये केहीको तीव्रता ६.१ देखि ६.६ म्याग्निच्युडसम्म रहेको थियो।
भूकम्पको केन्द्र लस सान्टोस प्रान्तको टोनोसीबाट करिब ३९ किलोमिटर उत्तरपश्चिममा रहेको थियो। भूकम्पबाट सबैभन्दा बढी क्षति दक्षिणी तटीय क्षेत्रको कोक्ले प्रान्तमा पुगेको छ भने राजधानी पनामा सहरमा पनि भौतिक क्षति भएको छ। प्रारम्भिक विवरणअनुसार केही व्यक्ति सामान्य घाइते भएका छन्।
राष्ट्रपति जोस राउल मुलिनोले राहत कार्यको समन्वय, स्रोतसाधनको व्यवस्थापन तथा प्रभावित समुदायका आवश्यकता सम्बोधन गर्न आयोग गठन गर्न निर्देशन दिए। सरकारले राहतका लागि चन्दा सङ्कलन केन्द्र स्थापना गर्नुका साथै प्रभावित क्षेत्रका अस्पतालबाट बिरामीलाई सुरक्षित स्थानमा सारेर उपचारको व्यवस्था गरेको छ।
भूकम्पपछि दुई मेट्रो लाइनको सेवा स्थगित गरिएको थियो। देशको मुख्य अन्तर्राष्ट्रिय विमानस्थल पनि सुरक्षाका लागि अस्थायी रूपमा बन्द गरिएको थियो। पछि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो।
यसैबीच, अमेरिकी दूतावासले मध्य तथा दक्षिण अमेरिकाका नौ देशमा परकम्प र सुनामीको सम्भावित जोखिमबारे चेतावनी दिएको थियो। यद्यपि, अमेरिकी सुनामी चेतावनी प्रणालीले पछि सुनामीको खतरा नरहेको जनाएको थियो।














प्रतिक्रिया