मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’ « Khabarhub

मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बाँसका चोया र कप्टेरा बनाउन व्यस्त महोत्तरीको औरही–१ दलित बस्तीका ३२ वर्षीय छोटे मरिक डोम भन्छन्, ‘बाबु बाजेले सिकाएका सीप यही हो, तर यसले अब जीवन धान्ने दिन गए, जहान परिवारको पालनपोषण अब कसरी गर्ने भन्ने चिन्ताले पिरोल्दै छ ।’ 

केही दशकअघिसम्म यही सीपले वर्षभरिको गुजारा चलाएका छोटे अब  आफूले बनाएका बाँसका चोया र कप्टेराले बुनिएका छिटी, डाली, पङ्खा, नाङ्लो, चाल्नोसहितका सामग्री दैनिक जीवनमा उपयोग हुन छाडेका उनको भनाइ छ । 

‘अब हामीले बुन्ने सामान चाडपर्वको प्रयोगमा सीमित भए, यसले वर्षभरिको गुजारा चल्दैन’, छोटु भन्छन्, ‘अब आफ्नो पुस्तासम्म रहेको यो सीप छोराछोरी पुस्तामा सर्लाजस्तो छैन ।’

यी सामग्री अब दीपावली, छठजस्ता पर्व र मरनपछि गरिने क्रियाकलापमा मात्र प्रयोग हुनुले गुजाराका लागि अन्य काममा लाग्नुपर्ने अवस्था बनेको छोटे बताउँछन्। 

पछिल्लो समय नेपाली समाज पनि आधुनिकतातर्फउन्मुख भएपछि कतिपय परम्परा र प्रचलन लोप हुँदै गएका कारण त्यस्ता समुदायलाई जीवन धान्न पुर्ख्यौली पेशा नै बदल्नुपर्ने अवस्था आएको हो ।

वर्षभरिको जीवन गुजारा नचले पनि दीपावली र छठ पर्वमा आफ्नो सीपका सामग्रीले बजार पाउनेहुँदा यसताका आफ्नो परिवार उक्त काममा जुट्ने गरेको उनको भनाइ छ ।

‘दीपावली र छठकै कमाइले आफ्नो घरको चाडबाड मनाउन र केही महिनाको नगद खर्चको जोहो हुन्छ’, पतिको भनाइमा सही थाप्दै चोया र कप्टेरा कात्नमै व्यस्त छोटकी पत्नी जीना मरिक भन्छन्, ‘यसले चाडपर्वको रमाइलो र केही आर्जनको अवसर मिल्ने गरेको छ ।’

छोटेजस्तै सो बस्तीकै इन्दल मरिकको पनि आफ्नो सीप दीपावलीदेखि छठसम्म खुम्चिएको भनाइ छ । आमसर्वसाधारणले अब बाँसका चोया र कप्टेराले बुनिनेभन्दा प्लाष्टिकका यस्ता सामान प्रयोग गर्न थालेपछि आफूहरूको पुर्ख्यौली पेसा अब अघि बढ्ने अवस्था नरहेको इन्दल बताउँछन्। 

‘हाम्रो पुस्तासम्म त बेलाबेला यो काम गर्दैछौँ’, ४० वर्षीय इन्दल भन्छन्, ‘हामीपछिको पुस्ताले त वास्ता गर्न छाडे । हाम्रा छोराहरू अब रोजगारीका लागि भारत गइरहेका छन् ।’

आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिक पहुँचबाट निकै टाढा रहेको डोम जाति समुदायको जीवन गुजाराको पुर्ख्यौली पेसा बाँसका यिनै सामग्री बुन्नु र सुँगुरपालन हो । महोत्तरीका सबैजसो बस्तीमा धेरथोर बसोबास रहेका डोम बस्तीमा सुँगुरपालन पनि असहज बन्दै गएको ती समुदायका अगुवाको भनाइ छ ।

‘पहिले बस्ती पातलो थियो, एक छेउमा हाम्रो बसोबास हुन्थ्यो, अब बस्ती सबै जातिको छ्यासमिस भयो’ सम्सी–६ का सुरेश मरिक भन्छन्, ‘अन्य धेरैजसो जाति समुदाय सुँगुरसँग परहेज राख्छन् , त्यसैले सुँगुर पालन असजिलो बनेको छ ।’ 

आफ्नो भन्ने केही हात लम्बाइ÷चौडाइको जग्गामा सुँगुरका खोर नअट्ने र अब खुलापालन गर्न सामाजिक असजिलो बढेपछि यो पेसा छुटेको सुरेश बताउँछन्।
 
बाँसका चोया र कप्टेरा खेलाउने काम धेरै चल्न छाडेको र सुँगुरपालन सामाजिक रुपमा असहज बन्दै गएपछि डोम जातिका नयाँ पुस्ता किशोरावस्थामै कामका लागि भारत जाने क्रम बढ्दो छ । 

‘अब यहाँ बसेर आफ्नो र जहानपरिवारको पेट पाल्न सकिन्न, त्यसैले पछिल्लो पुस्ता १५-१६ वर्षका भएपछि काम खोज्न भारत जान्छन्’, सोनमा बस्तीका परमेश्वर मरिक भन्छन्, ‘यहाँ न हाम्रो पुर्ख्यौली सीपको पेसाले जीवन धान्छ, पेट पाल्न निकै सकस भइरहेको छ, यस्तो अवस्थामा हामीलाई सरकारले हेर्नुपर्छ !’
देशमा तीन-तीन वटा सरकार भएका सुनेको भए पनि आफ्नो बस्तीमा चुनावका बेलामा भोट माग्न आएबाहेक कुनै सरकार नचिनिएको परमेश्वरको गुनासो छ ।

त्यस्तो गुनासो उक्त जातिका अगुवाले अचेल बाक्लै गर्ने गरेका छन् । औरही–१ दलित बस्तीकी ४५ वर्षीया ललिता मरिक भन्छन्, ‘मधेसमा हामीजस्ता निम्सरा दलित र गरिब अरु होलान्जस्तो त लाग्दैन, त्यस कारण पनि सरकारले हामीलाई हेर्ने पर्छ ।’

  गौशाला–१२ की अञ्जली मरिकको पनि ललिताको जस्तै गुनासो छ । अहिले मरिक समुदायका अगुवामा छोराछोरी पढाउन पर्ने चेत त खुल्दै गएको छ । तर नानीहरु स्कुल पठाउन पनि आर्थिक समस्याले नै पिरोलेको मरिक बताउँछन् । 

‘हाम्रा नयाँपुस्ताका छोराछोरीलाई स्कुलमा पढ्ने र कमाइ खाने नयाँ सीप गाउँको सरकारले व्यवस्था गरीदिएहुन्थ्यो’ भन्ने सोनमाका अनारस मरिकको माग छ ।
‘

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ६ : २० बजे

आर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक गणनाअन्तर्गत छ वटा प्रदेशका व्यावसायिक

मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’

महोत्तरी– बाँसका चोया र कप्टेरा बनाउन व्यस्त महोत्तरीको औरही–१ दलित

टर्कीमा नेपाली दूतावास वा कन्सुलर सेवा विस्तार गर्ने सरकारको तयारी

टर्किए– परराष्ट्रमन्त्री शिशिर खनालले टर्कीमा रहेका नेपाली नागरिकका कन्सुलर सेवा तथा

आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली

झोलुङ्गे पुल निर्माणपछिस्थानीयलाई आवतजावतमा सहज

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर