एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरान युद्धबाट ध्यान हटाएर भ्रष्टाचार र अपराध नियन्त्रणसम्बन्धी अभियानमा केन्द्रित हुन निर्देशन दिएका छन्।
मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि इरान युद्धको आर्थिक तथा राजनीतिक प्रभावबारे आलोचना बढिरहेका बेला ट्रम्पको यस्तो निर्देशन आएको हो ।
ट्रम्पले इरानसँग सम्झौता गर्न आवश्यक नरहेको दाबी गर्दै अमेरिकाले आफ्नो खर्च र हर्मुज जलघाँटीमाथिको नियन्त्रणसमेत प्राप्त गरिसकेको बताएका छन् । यद्यपि, आवश्यक परे इरानमाथि पुनः सैन्य आक्रमण गर्न अमेरिका तयार रहेको उनले स्पष्ट पारेका छन् ।
इरानसँगको युद्ध अन्त्य गर्न वार्ताको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको एउटा कारण इरान युद्ध पनि भएको टिप्पणी गरेका थिए ।
यसैबीच, इरानका मुख्य वार्ताकार तथा संसद्का सभामुख मोहम्मद बाघेर कालिबाफले अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमार्फत प्रत्यक्ष वार्ताका लागि पहल गरेको दाबी गरे । यद्यपि, ह्वाइट हाउसले यसबारे स्पष्ट प्रतिक्रिया दिएको छैन ।
उता, हर्मुज जलघाँटी आसपास तेल ट्याङ्करमाथि आक्रमणका घटना भइरहेका छन् । बेलायती सेनाका अनुसार पछिल्ला दिनमा कम्तीमा दुईवटा तेल ट्याङ्कर प्रक्षेप्य आक्रमणमा परेका छन् । ती घटनाले खाडी क्षेत्रको समुद्री सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ ।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार हर्मुज जलघाँटी हुँदै हुने तेल ढुवानी युद्धअघिको स्तरनजिक पुगे पनि जहाजहरूले अमेरिकी नौसेनाको सुरक्षा साथ लिनुपरेको छ ।














प्रतिक्रिया