महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन « Khabarhub

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन



काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। मंगलबार दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको सांगठनिक तथा राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बनेका ९ समूहले आ–आफ्नो निष्कर्ष निकालेका थिए । बुधबार ती निष्कर्षहरू प्रस्तुत गर्ने र त्यसमा संशोधनसहित छलफल गर्ने क्रम चलिरहेको छ ।

बन्दसत्रमा दुवै महामन्त्रीसहित करिब ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिको उपस्थिति रहेको छ। यस्तै, पार्टीलाई बहुमत प्रतिनिधिको मागअनुसार रूपान्तरण र एकताबद्ध बनाउने विषयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित डा. शेखर कोइराला र महामन्त्रीहरूको टोलीबीच त्रिपक्षीय छलफल पनि चलिरहेको छ ।

यसैबीच बन्दसत्र स्थलमा भेटिएकी कास्कीबाट आएकी महाधिवेशन प्रतिनिधि सीता गुरुङले कांग्रेस भएर पनि अन्य दलको चुनाव चिह्नमा मतदान गर्नुपर्ने बाध्यता अन्त्य हुनुपर्ने माग उठाइन् ।

उनले भनिन्, ‘महामन्त्रीद्वयले प्रस्तुत गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रको पहिलो दिन छलफल गर्‍यौं । निर्वाचनमा हामी जहिले पनि आफ्नै रुख चिह्नमा मात्र भोट हाल्न पाउनुपर्छ। गठबन्धनका नाममा अन्य चिह्नमा भोट हाल्न बाध्य पारेर हाम्रो अधिकार खोसिनु हुँदैन भन्ने माग राखेका छौँ।’

महामन्त्रीद्वयको प्रतिवेदनमा गठबन्धनको विषय उल्लेख नभए पनि विगतका अभ्यास र भोगाइका आधारमा सुधारका सुझाव दिएको उनले स्पष्ट पारिन् ।

उनको समूहले पार्टीको आन्तरिक तथा बाह्य नेतृत्व चयन गर्दा हुने खल्तीबाट नियुक्ति र टिकट वितरणको अभ्यास अन्त्य गरी प्रतिस्पर्धात्मक मापदण्ड अपनाउनुपर्ने सुझाव पनि दिएको छ ।

‘विगतमा क्षमताभन्दा पनि चिनजान र चाकडीका आधारमा पार्टी, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थामा जिम्मेवारी र टिकट दिँदा आक्रोश र मतभेद बढ्यो। यसले आम निर्वाचनमा सम्भावित क्षेत्रसमेत गुमाउनुपर्ने अवस्था आयो’ गुरुङले भनिन्, ‘अब स्पष्ट मापदण्ड बनाएर प्रतिस्पर्धाका आधारमा छनोट हुनुपर्छ ।’

उनले नियमित महाधिवेशन तोकिएकै समयमा जुनसुकै हालतमा विधानअनुसार हुनुपर्ने माग पनि राखिएको जानकारी दिइन्। 

बहुमत महाधिवेशन प्रतिनिधिको मागलाई केन्द्रिय समितिले समयमा सम्बोधन नगर्दा अहिलेको अवस्था सिर्जना भएकोप्रति उनले असन्तुष्टि जनाइन् । ‘हामी एकताका लागि भेला भएका हौँ। विशेष महाधिवेशन खबरदारी हो, पार्टी छिन्नभिन्न बनाउन होइन’ उनले भनिन्, ‘अधिवेशनको समयमा मात्रै क्रियाशील सदस्यता दिने प्रावधान पनि बदलिनुपर्छ भन्ने हाम्रो माग छ ।’

बन्दसत्र चलिरहँदा बाहिर सभापतिसहित केन्द्रीय समितिसँग सहमतिको प्रयास भइरहेको सन्दर्भमा उनले भनिन्, ‘हामी नीति र नेतृत्व दुवै परिवर्तनका लागि यहाँ आएका हौँ। सभापति ज्यू हिजो नै ‘यो मेरो घर हो, म यहाँ आउनुपर्थ्यो’ भनेर उपस्थित हुनुपर्थ्यो, त्यो गल्ती भयो। अझै केही बिग्रेको छैन, उहाँलाई हामी सम्मानसाथ बोलाउँछौँ।’

तर पुस्तान्तरणको विषयमा भने कुनै सम्झौता नहुने उनको स्पष्ट अडान छ। ‘नेतृत्व जुनसुकै हालतमा पुस्तान्तरण हुनै पर्छ ।  पुस्तान्तरणमा सम्झौता हुँदैन,’ उनले भनिन् ।

उनका अनुसार नीतिगत रूपमा अघि बढिसकेको यो विशेष महाधिवेशन अब कुनै पनि हालतमा सम्झौतामा टुंगिदैन । 
कांग्रेसमा देशभर ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्, जसमध्ये करिब ६३ प्रतिशतले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ०१ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने