कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल ! « Khabarhub

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !



काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कांग्रेस लास र दासहरुको नभई ‘जिउँदो मानिसहरुको पार्टी’ भएको अभिव्यक्ति दिएका थिए । साथै, उनले फरक मत राखेकै कारण नेतृत्वले आफूहरुमाथि ढुंगा हानिरहे त्यही ढुङ्गा टिपेर कांग्रेसको घर बनाउने बताएका थिए । र, बाले नबोल् भन्दा नबोल्ने कार्यकर्ता कांग्रेसमा कोही नभएको, सबै समान भएको बताएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो । जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ । फरक मत राखेकै कारण नेतृत्वले हामीलाई ढुंगा हानिरह्यो हामी त्यही ढुंगा टिपेर कांग्रेसको घर बनाउनेछौँ ।’

कसैलाई गालीगलौज नगरी आफ्नो कुरा राख्न माहिर गगनको अभिव्यक्तिलाई धेरैले प्रशंसा गरेका छन् । तर उनको अभिव्यक्तिले नेकपा एमालेमा भने तरङ्ग उठेको छ । एमालेमा फरक मत राख्ने वा प्रश्न गर्नेलाई कारवाही गर्ने अभ्यास छ ।

उदाहरणको लागि भाटभटेनीका मालिक मिनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन जग्गा अनुदान दिएको विषयमा बोल्दा नेताद्वय विन्दा पाण्डे र र उषाकिरण तिमिल्सना ६ महिना कारवाहीमा परे । उनीहरुको बचाउमा कसैले पार्टीभित्र एकशब्द बोलेनन् । त्यसैगरी पार्टीको आन्तरिक अधिवेशनमा उनीहरुलाई हराइयो ।

नेकपा एमालेका सचिव महेश बस्नेतले गगन थापालाई संकटमा नेतृत्वको खोइरो खन्नु वीरता हो ? भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘संकटको घडीमा पार्टी र नेतृत्वको रक्षा गर्नु दासता र पार्टी र नेतृत्वको खोइरो खनेर शत्रुको चाहना पूरा गर्नु वीरता हो ?

भाद्र २३ र २४ गतेपछि गुलाम बनेर, मानवीयतासमेत भुलेका एउटा ‘लास’ जसलाई हामीले आस र सास भरिदिए पछि आज केही मास जम्मा गरेर भन्न थालेछन् । हामी लास र दास होइनौँ । इतिहासले अवश्य सोध्नेछ । लास होइन भने आस र सास कसले भर्दियो ?’

उनै बस्नेतले जेन–जी आन्दोलनपछि सहाराविहीन जस्तै अवस्थामा रहेका आफ्नो पार्टीका अध्यक्ष केपी ओलीलाई उनले नै सहारा दिएर आफ्नो आवास क्षेत्र भक्तपुरको गुण्डुमा बसोबासको व्यवस्थापन मिलाएका थिए । त्यही जगमा उभिएर जेन-जी आन्दोलन विरुद्ध खनिएका बस्नेत एमालेको महाधिवेशनबाट सानदार मत प्राप्त गरी सचिवमा विजयी भएका थिए । शीर्ष नेताहरु समेत असुरक्षित रहेको अवस्थामा बस्नेतले बाघ झै गर्जिएर विध्वंशकारीहरुलाई कारवाही गर्ने चेतावनी दिएका उनले उनले ओलीलाई राष्ट्रपिता भन्दै सामाजिक सञ्जालमा बखान गरेका थिए ।

नेकपा एमालेका अर्का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गरी एमालेलाई गाली गरेको प्रति कटाक्ष गरेका छन् । कांग्रेस नेताहरूको उक्त गतिविधिलाई संकेत गर्दै थापाले एमालेको चरित्र त्यसप्रकारको नभएको बताएका छन् ।

थापाले सञ्जालमा लेखेका छन्, ‘एमाले वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर–सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन । चेतना भया ।’

थापाले यस्तो राजनीतिक संस्कारप्रति सचेत रहनुपर्ने बताएका छन् । साथै, उनले एमालेको आन्तरिक एकता, नेतृत्वप्रतिको सम्मान र राजनीतिक संस्कारको पक्षमा गरिएको स्पष्ट पार्न खोजेका छन् ।

त्यसैगरी एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको भविष्य संकटमा परेको बेला उत्सव मनाउन नसकिने रहेछ भनेर व्यङग्य गरेका छन् । उनले लेखेका छन्, ‘यसरी पनि सोच्न सकिन्छ । भूराजनीतिक स्वार्थका सामु लम्सार पर्नु दासता हो । त्यसका विरुद्ध आवाज उठाउनु स्वाभिमान हो । विध्वंस, अराजकता र आतंकका सामु झुक्नु कायरता हो । त्यसका विरुद्ध उभिएर जनताको मनोबल उठाउनु साहस हो । संविधान, लोकतन्त्र र राष्ट्रको भविष्य नै संकटमा परेको बेला, जन–जनको हृदय जलिरहेको घडीमा उत्सव कसरी मनाउन सकिन्छ र ?

हो, देश जलिरहेका बेला उत्सव मनाउन नसक्नेहरू कसैका लागि ‘दास’ जस्ता लाग्न सक्छन् । तर ती तथाकथित दासहरू नै आजको समयका स्पार्टाकस पनि हुन सक्छन् । ती स्पार्टाकस जसले स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानको झण्डा बोकेर आधुनिक विश्वव्यवस्थाको नयाँ आधारशिला निर्माण गर्नेछन् ।’

default

एमालेभित्रै विद्रोह गर्ने नेताको रुपमा चिनिन्छन् योगेश भट्टराई । नेकपा एमालेका उपमहासचिव भट्टराईले अन्य नेताहरुझै टिकाटिप्पणीमा उत्रिएका छैनन् । उनले कांग्रेसमा परिवर्तनको चाहना राख्नेहरुप्रति सलाम व्यक्त गरेका छन् । विशेष महाधिवेशन पक्षधरको प्रशंसा गरेका छन् । उनले सञ्जालमा लेखेका छन्, ‘हामीले बोल्यौ, केही गर्यौ । तपाईंहरूले बोल्नुभयो, हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू ।’

एमाले नेता प्रदीप ज्ञवालीले पनि नेपाली काँग्रेसको विशेष महाधिवेशनप्रति चासो व्यक्त गरेका छन् । त्यहाँ चलिरहेका बहस, विमर्श र विवादलाई नजिकबाट नियालिरहेको भन्दै उनले भनेका छन्– ‘कतिपय नेताका अभिव्यक्ति र पेश गरिएका दस्ताबेजमा प्रस्तुत एउटा विषय भने अलि गम्भीर छ । त्यो हो– भदौ २४ गते मुलुकमा भएको विध्वंश र त्रासदीप्रति रहस्यमय मौनता या तुष्टिकरण । सत्य हो– समाजमा असन्तुष्टि थियो । सत्य हो– युवाहरुसँग समाज, सत्ता र संस्थाहरुको दूरी एक हदसम्म बढेको थियो । त्यो असन्तुष्टि भदौ २३ गते पूर्वाह्नमा भद्र प्रदर्शनमा प्रकट भएको थियो । तर अपराह्नपछि त्यो प्रदर्शन न आयोजकहरुले भनेजस्तो शान्तिपूर्ण रह्यो, न उनीहरुको नियन्त्रणमा नै । प्रदर्शनभित्र घुसपैठ गरेर त्यसलाई रक्तपातमा रुपान्तरण गर्ने र युवाहरुलाई मानवढाल बनाउने कृत्यमा संलग्नहरुलाई पनि जेन*जी आन्दोलनकारी‘ ठान्ने हो र त्यसकै आडमा भोलिपल्ट भएको देश दहनलाई पनि प्रकारान्तरले उचित ठहर्‍याउने हो भने त्यस अपराधलाई बैधता दिएको ठहर्छ ।’

उनी थप्छन्– ‘नेतृत्वका गल्ती थिए होलान, भोलि अर्को नेतृत्वबाट पनि गल्ती होलान, तर त्यस बहानामा भएको लोकतन्त्र, संविधान र राष्ट्रियतामाथिकै आक्रमणलाई पनि जायज ठहर्‍याउन थालियो भने कहाँ पुगिएला ? नेतृत्वका गल्तीको विरोध गर्ने नाममा कम्तीमा नेपाली काँग्रेसका साथीहरु त्यही बाटोमा नहिँडे हुने हो ।’

एमाले नेतृ उषाकिरण तिमल्सिनाले कांग्रेसको विशेष महाधिवेशन गरेर नेतृत्वमाथि दिएको दबाबको खुलेले प्रशंसा गरेकी छन् । उनी लेख्छिन्– ‘विशेष महाअधिवेशनले नेपाली समाजलाई दुईवटा स्पष्ट सन्देश दिएको छ, जसले मलाई व्यक्तिगत रूपमा पनि खुशी बनाएको छ। पहिलो चुनावी तालमेल नहुने कुराको स्पष्ट ग्यारेन्टी, दोस्रो पुराना पार्टीहरूभित्र युवाहरूको हस्तक्षेप ।’

एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत लेख्छन्– ‘गगन थापाहरूको ‘दास र लास’ को भाषण सुनेर कम्युनिष्टहरू पनि ओहो, केपी ओली र नेकपा एमालेका नेताहरुलाई ठोक्ने हतियार पो भेटियो भन्दै उफ्रन थालेको पाइयो । गगनहरूले आफ्नो दर्शनको वकालत गरे, कम्युनिष्टहरू भने आफ्नो दर्शन बिर्सिएर उनीहरूको पछाडि दौडिए । एक पटक कम्युनिष्ट घोषणापत्र र कांग्रेसको पूजीवादको वकालतनामा पढे त प्रष्टै भइन्छ होला नि ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ५ : ०९ बजे

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन

अर्थमन्त्रीले देशको अर्थतन्त्रलाई सही तवरले ड्राइभ गर्न सक्दैनन् : प्रभु साह

रौतहट – आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु