यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे « Khabarhub

अन्तर्वार्ता

यो चुनावमा पनि कसैको बहुमत आउँदैन, सरकार बनाउने र ढाल्ने पुरानै दुष्चक्रमा देश फस्छ : सुरेन्द्र पाण्डे

नेता परीक्षण गर्दागर्दै जनताको जीवन बित्ने चिन्ता छ



काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे एमालेको बौद्धिक र विज्ञ नेताका रुपमा चिनिन्छन् । अहिले पनि अध्ययनलाई निरन्तरता दिइरहेका पाण्डेलाई यस पटक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिशोध साँधेर संसदीय टिकट दिएनन् । चितवन क्षेत्र नम्बर १ मा टिकट नपाए पनि पूर्वउपाध्यक्ष पाण्डे मनोनयन दर्ताकै दिन पार्टीका दावा दोर्जे लामालाई सघाउन पुगे । अहिले पनि उनी एमालेको चुनावी अभियानमै छन् ।

आफ्नो क्षमताले भ्याएजति पाठकलाई सघाइरहेको उनी बताउँछन् । पाण्डे एमाले वा कुनै पनि दलले निर्वाचनमा बहुमत नल्याउने दाबी गर्छन्। बहुमत ल्याउँछु भनेर जनतालाई ढाँट्नु ठिक नभएको उनको तर्क छ । उनी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संविधान संशोधन र निर्वाचन प्रणाली सुधारमा दलहरूलाई सुझाव दिनुपर्ने उनी बताउँछन् ।

०६४ सालमा माओवादीको जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको लहर देखिए पनि बहुमत ल्याउने सम्भावना नरहेको पाण्डे बताउँछन् । माओवादीसँग त्यसबेलै निश्चित एजेन्डा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीसँग नयाँ भन्नुबाहेक केही नरहेको पाण्डेको तर्क छ । पाण्डे आगामी प्रतिनिधिसभा पुनः ‘हङ पार्लियामेन्ट’ बन्ने बताउँछन्। निर्वाचन प्रणाली सुधार नगरेसम्म दलहरू सरकार बनाउन र भत्काउनेमा मात्रै केन्द्रित रहने उनको भनाइ छ।

अहिले पनि दलहरूले जनतालाई परीक्षण गरिरहेको उनको बुझाइ छ । जनताको जीवनचाहिँ दलबाट परीक्षण हुँदाहुँदै बित्ने हो कि भन्ने चिन्ता उनले देखाएका छन् । भन्छन्, ‘मान्छेहरू परीक्षण गर्न हरेक कुरामा सिपालु छन् । तर नेता परीक्षण गर्दागर्दै जनताको जीवन बित्ने हो कि भन्ने चिन्ता छ ।’ पाण्डे कांग्रेस र एमालेले संविधान संशोधन गर्छौँ भने पनि प्रारम्भिक कामहरूसमेत अगाडि नबढाएको स्वीकार गर्छन् ।

फागुन २१ गतेको निर्वाचनपछि संसद्को अवस्था, संविधान संशोधन र निर्वाचन प्रणाली सुधार, ओलीले टिकट नदिएको पृष्ठभूमि र एमालेको सम्भावित अवस्था लगायत विषयमा केन्द्रित रहेर पाण्डेसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

एमाले अध्यक्ष ओलीले यहाँलाई टिकट दिएनन्, चित्त दुखेको होला है ?

सबै मान्छेलाई जित्न भनेर टिकट निश्चित गरिएको हुन्छ । टिकट पाएका सबैले चुनाव जित्छन्, जित्दैनन्, त्यो हामी हेर्छौं । चुनावपछि त्यसको समीक्षा पक्कै पनि हुनेछ । कसले जित्थ्यो, कसले जित्दैनथ्यो भन्ने कुराको चुनावपछाडि समीक्षा हुन्छ । टिकट किन दिइएन र किन पाइएन भन्ने कुरा चाहिँ ओलीजीलाई मात्र थाहा छ । टिकट नपाएकोमा मैले कुनै हिसाबले चित्त दुखाएको छैन । तर मैले किन टिकट पाइनँ भन्ने प्रश्नको जवाफ म आफैँले भेट्टाएको छैन ।

एमालेका टिकट नपाउने नेताहरू उम्मेदवार जिताउन नलागेको आरोप यहाँमाथि पनि छ । के साँच्चिकै नखट्नु भएको हो ?

हाम्रा सबै मान्छेहरू आ-आफ्नो ढंगले खटिरहनु भएको छ । कसलाई कति जिम्मेवारी प्रदान गरिएको छ भन्ने कुरामा पनि भर पर्छ । जिम्मेवारी नदिए पनि आफ्नै विवेकको आधारमा टिकट नपाउने नेताहरू पनि खटिरहनु भएको छ, मेरो काम पनि त्यही हो । जिम्मेवारी दिनेले, कति दिएको छ, मलाई चाहिँ थाहा छैन ।

यहाँले जिम्मेवारी पाउनुभएको छ कि छैन ?

मलाई पर्सनल्ली यो गर, त्यो गर, भनिएको छैन। औपचारिक रुपमा जिम्मेवारी दिइएको छैन, तर म आफ्नो ढंगले लागिरहेको छु।

यस्तो आन्तरिक समस्याबीच एमालेले यपटक सम्मानजनक सिट ल्याउन सक्ला ?

त्यो त निर्वाचन पछाडि हेरौँ न, अहिले के भन्नु र ? एमाले अहिले देशको दोस्रो ठूलो दल हो । हाम्रो आशा पहिलो हुने हो । तर के हुन्छ, जनताले अनुमोदन गर्ने कुरा हो । यसमा मलाई थप कमेन्ट गर्न जरूरी लागेन ।

सबै परिप्रेक्षलाई नियाल्दा एमालेले जुन हिसाबमा बहुमत भनिरहेको छ, यही निर्वाचन प्रणालीमा त्यो सम्भव छ र ?

अहिले कसैको बहुमत आउँदैन । यो निर्वाचन प्रणाली आएपछि कसैको बहुमत आएको छ र ? संविधानको यो व्यवस्था कायमै रहँदा समानुपातिक र प्रत्यक्ष निर्वाचन दुवै मिलेर कूल प्रतिनिधि सभा सदस्य चुनाव जित्ने व्यवस्था रहेसम्म बहुमत ल्याउन कठिन छ । कुन पहिलो दल, कुन दोस्रो दल, कुन तेस्रो दल भन्ने अर्कै होला, तर बहुमत ल्याउने विषय यहाँहरूले सोध्दा पनि नहुने कुरा हो । दलहरूले दाबी गर्दा पनि यो बेतुकको र हास्यास्पद हो ।

यही व्यवस्थामा बहुमत ल्याउन सम्भव छैन भनेर लेखेकै हुन्, तर किन फेरि दलहरूले बहुमत-बहुमत भनेर जनता ढाँटेका ?

ढाँट्ने कुरा एउटा ठाउँमा छ। तर यही व्यवस्थामा बहुमत कसैको पनि आउँदैन । ढाट्ने कुरालाई दलहरूले बढावा दिइनु हुँदैन । यही निर्वाचन प्रणालीमा कसरी बहुमत आउँछ भनेर जनताले पनि प्रश्न गर्न सक्नुपर्छ ।

प्रत्यक्ष निर्वाचन पद्धति भएको भए बहुमत हुन्थ्यो । हाम्रोमा ०४८ र ०५६ सहित दुईवटा चुनावमा बहुमत आएको हो । तर त्यसपछि किन भएन भन्दा समानुपातिक व्यवस्था आयो । सबैभन्दा हाइएस्ट सिट आएको चुनावको हिसाबले ०७४ सालको चुनाव हो, जहाँ एमाले र नेकपा मिल्दा सम्भव भयो । त्यसबेला दुई दलले हामी एकता गर्छौं, पार्टी नै मिलाउँछौँ भनेर जनतासँग भोट मागिएको थियो ।

त्यस बेला पनि एमाले एक्लैको बहुमत आएन । दुईवटा पार्टी मिल्दा झण्डै दुईतिहाइनजिक थियो । तर एक्लैको बहुमत आएन । त्यसले के अर्थ लाग्छ भन्दा एक्लै बहुमत ल्याउन यो व्यवस्थामा सकिँदैन । यो चुनाव पद्धति नै बहुमत नआउने किसिमको हो ।

नयाँ दलहरूको दाबीले पनि कुनै काम गर्दैन ?

नयाँ भनेकाहरुको कुनै मुद्दा र एजेन्डा नै छैन । नयाँ भन्ने मात्रै नारा छ । मुलुक कसरी बनाउँछौँ भन्ने एजेण्डा मैले पढ्न पाएकै छैन । हिजोकाले यो-यो नगरेर बिगारे अथवा यो गरेर बिगारे, अब हामी यो काम गर्छौं भन्ने केही छैन । हामी नयाँ मात्रै भनेको छ । त्यो नयाँ पनि एकचोटी निर्वाचन लडेपछि पुरानो भइहाल्छ ।

उसो भए नयाँको भविष्य पनि यहाँले देख्नुभएको छैन ?

यो भाष्य सुरू गरेको माओवादीले हो । संसद्वादी दल र हामी नयाँ क्रान्तिकारी भनेर । अब माओवादी पनि पुरानोमा दर्ज भइसक्यो । यिनीहरू पनि एउटा चुनाव लडेपछि पुराना हुन्छन् ।

माओवादीको कुरा गर्दा ०६४ सालमा जुन प्रकारको लहर थियो, अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको त्यस्तो हुन्छ ?

त्यस्तै नहुन सक्छ । माओवादी त त्यसबेला निश्चित एजेन्डा र मागसहित जनतामाझ पुगेको थियो । सबै जनता एउटा-एउटा ढङ्गले विश्लेषणमा हिँडेको देश होइन । एक बेला काठमाडौंमा नानीमैयाँले ६५ हजार ल्याएको मत अर्को चुनावमा जमानत जफत भयो । त्यसबेला उनी असाध्यै पपुलर भएर आएको हो । माओवादीको ०६४ मा त्यस्तै भएको थियो, तर ०७० मा माओवादीको हालत के भयो, यहाँलाई भनिराख्नुपर्दैन ।

०७० पछि त अहिले माओवादीको हैसियत कति छ ? १२० सिट प्रत्यक्षमा जितेको माओवादी जम्मा २६ सिटमा झर्‍यो, ०७० मा । एकै चुनावमा त्यो हालत भएपछि कहिले माथि उठ्न सकेन । यो त हेर्नै बाँकी छ- किनभने परीक्षण गर्न मान्छेहरु हरेक कुरामा सिपालु छन् । तर नेता परीक्षण गर्दागर्दै तर जनताको जीवन बित्ने हो कि भन्ने चिन्ता छ । जनताले धेरै नेता परीक्षण गरिसके ।

सबै परिस्थिति नियाल्दा जनताले के निर्णय गर्नुपर्छ जस्तो लाग्छ ?

जनताले सही र सचेत ढंगले कसरी भोट हाल्दा ठिक ढङ्गले सही प्रतिनिधि छनोट हुन्छ भन्ने आँकलन गर्न सक्नुपर्छ । जनताले अनावश्यक र नहुने कुराको आश गर्नु हुँदैन । चुनावको बेला यो भएन, त्यो भएन भन्ने, अनि भोलि पर्सि गुनासो गर्ने । चुनाव लडेको मान्छेले नहुने कुरा पनि हुन्छ भन्नै पर्‍यो ! नहुने कुरा माग गरेपछि के हुन्छ ?

पहिले त आफैंले पनि हुने कुरा मात्रै पूरा गर्नुपर्‍यो । नहुने कुरा माग गर्‍यो भने चुनावमा उठ्नेले हुन्छ भन्दिन्छ । तर त्यो काम पछि हुन सक्दैन । यसमा दुवै जवाफदेही छ । जनताको चेतनाले पनि गलत निर्णयमा पुग्नको लागि काम गरेको छ । चुनावमा खर्च, गलत आश्वासनजस्ता अनेकौँ पक्षले काम गरेको हुन्छ । जस्तो मान्नुस् न- तीन तहका सरकार छन्- स्थानीय, प्रदेश र सङ्घ । संविधानले तीन सरकारको व्यवस्था गरेको छ । गाउँ र स्थानीय सरकारको काम संघ प्रदेश सरकारसँग तुलना गरेर तैँले यो गर्न सक्छस्, सक्दैनस् भनेर माग गर्‍यो भने के हुन्छ ?

उसले त गर्दिन्छु बाबा भन्छ । यथार्थमा उसले गर्ने कामै होइन त्यो । मतदाताले यी कुरा जानकारीमा नराखी उम्मेदवारलाई यतिबेला हो माग्ने यतिबेलै हुनेले जे भन्छन् स्वीकार्नुपर्छ दबाब दिने ढङ्गले भन कि भन भनेपछि त उम्मेदवारले भनिहाल्छ नि । अनि पछि त त्यो काम हुँदैन ।

चुनाव भनेको आफैंमा पनि पाठशाला हो । जनताले पनि चाहिने नचाहिने कुरा गर्छन् । प्रतिनिधिले पनि चाहिने नचाहिने कुरा गर्छन्, पछि हुन्छ हुँदैन भनेर यही कुरामा जनताले पनि सिक्छन् । जनता र प्रतिनिधि जुनबेला त्यो कुरा भन्ने ठाउँमा पुग्छन् अनि मुलुक अगाडि बढ्छ ।

उसो भए सबै निराशा चिर्छौं भनेर जुन दलहरूले दाबी गरिरहेका छन् यो वेतुकको कुरा भयो होइन ?

प्रतिनिधिसँग हुने कुरा आश गर्‍यो भने पूरा गरेर देखाउँछ । हुन नसक्ने र सम्भव नभएको कुरा पूरा गर्छस् कि गर्दैनस् भन्यो भने सम्भव छैन । जनताका निराशा चिर्छौं भन्छन्, तर जनताको के कस्ता निराशा छन्, त्यसलाई कसरी चिर्छौँ भन्नेतिर लाग्नुपर्‍यो नि । नहुने कुरा दिन्छु भनेर दाबी गर्नु ठिक छैन ।

यहाँको विचारमा आगामी सदन कस्तो होला ?

यो ‘हङ पार्लामेन्ट’ हुन्छ भन्नेचाहिँ यसै पनि देखिन्छ। दुईभन्दा बढी दलले सरकार बनाउनुपर्छ । हालत ०७९ को निर्वाचनपछाडिको जस्तै हुन्छ । दलहरू खाली सरकार बनाउने र भत्काउने खेलमा लाग्छन्, अवस्था उस्तै हुन्छ । भदौ २३ र २४ गतेको आन्दोलनले प्रधानमन्त्रीको राजीनामा माग्यो । संविधानबमोजिन होइन । संविधानबमोजिम संसद विघटन हुँदैन ।सडकबाट समाधान खोजियो । सडकबाट जनप्रतिनिधि नभएका मान्छेहरू प्रधानमन्त्री र मन्त्री भए । एक प्रकारले भन्ने हो भने सत्ता परिवर्तनको कुरा हो । निर्वाचनचाहिँ उही संविधानअन्तर्गत नै हुँदैछ । यही संविधानमा म बहुमतको सरकार बनाएर पाँच वर्ष चलाउँछु भन्छ भने यो जनतालाई ढाट्नेबाहेक केही होइन ।

विगतमा संविधान संशोधनकै एजेण्डा लिएर कांग्रेस-एमालेले सरकार बनाए । त्यसबेला केही कुरा गर्न भ्याउनु भएको थियो तपाईंहरूले ?

त्यसबेला केही पनि भएन । त्यसबेला केही भएको भए त हामीलाई पनि थाहा हुन्थ्यो होला । हुन त म सदनमा थिइनँ, तैपनि जानकारी त हुन्छ । पार्टीको सचिवालय बैठकमा पनि यसबारे कुनै कुराकानी हुन पाएको थिएन । छिटफुट कुरा उठेका थिए । तर संविधान संशोधन यो-यो विषयमा यसरी गर्ने भनेर कामै हुन पाएको थिएन । संविधान संशोधनको सुरुवात नै भएन ।

मस्यौदा बनाउने भनेर एकपटक टिम पनि घोषणा गरिएको थियो ?

केही भएन । सुरुवात नै भएन । केही भएको भए त जानकारी भइहाल्थ्यो नि । कुनै कुरा गोप्य हुन्छ त आजकाल ? कानुनी प्रक्रिया र व्यवहारबिना संविधान संशोधन हुन्छ र ? कुनै पार्टीहरूबीचमा औपचारिक रूपले संसद्ले इन्डोर्स गरेको समिति चाहियो, त्योबिना दुइटा कोठामा बसेर कुनै पार्टीका नेताहरूले प्राइभेट्ली गरेको आधारमा संविधान संशोधन हुँदैन ।

त्यसलाई औपचारिक कुरा मान्न पनि सकिँदैन । कसैले आज यस्तो भएको थियो भनेर भन्ने हो भने पनि त्यसको कुनै औपचारिक अर्थ छैन । तर आज पनि त्यो कुरा यथावत छ, किनभने संविधान संशोधनको एजेण्डा कि त यो संविधानले सबै कुरा दिएको छ भन्न सक्नुपर्‍यो । दिएको छैन भन्यो भने त हामी यसैमा उभिएर निर्वाचनमा गएका छौँ । यसले दिने नतिजा यही हो । योभन्दा बाहिर केही दिँदैन । व्यक्तिगत हिसाबले म यो सम्भव देख्दिन । अन्तरिम सरकारले नै यो काम गरेको भए हुनसक्ने थियो ।

जस्तो के काम गर्नुपर्ने थियो ?

संविधान संशोधन गर्नुपर्ने आवश्यकता हो । यसका लागि हामी सबै दल मिलेर यस्तो-यस्तो गरौँ भनेर एउटा प्रस्ताव गरौँ । त्यो प्रस्ताव चाहिँ चुनावको एजेण्डा बनोस्, त्यसपछि त्यो प्रस्तावलाई संसदले अनुमोदन गरेर संविधान संशोधन गरोस् भनेर चुनावमा गए पनि जनतामा आशा जाग्थ्यो होला ।

त्यसो भए बहुमत नल्याए पनि सबै कुरामा यसको कमिटमेन्ट छ भन्ने आशा गर्न सकिन्थ्यो । तर, केही पनि छैन भनेपछि त दलहरूका आ-आफ्नै विचार र मान्यता छन् । ती सबै आ-आफ्नो हिसाबले चुनावमा जाँदा बहुमत ल्याउने अवस्था कसैको छैन । यसको अर्थ सबैको ध्यान उही सरकार बनाउने कुरामा मात्रै हुनेछ । सबैको घोषणापत्र आएको छैन । तर दलहरूले घोषणा के गरेका छन् भने- फलानो प्रधानमन्त्री हुने । यसबाहेक प्रधानमन्त्रीले के गर्छ भन्ने कुरा त कसैले भन्या छैन नि ! अनि यसको के सोलुशन हुन्छ र ?

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ३७ बजे

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौं– नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी

कंक्रिट मोहले मौलिकता गुमाएको बारपाक (तस्बिरहरू)

काठमाडौं– गोरखा जिल्लाकै सबैभन्दा ठूलो, घना बस्ती भएको बारपाकले अहिले