पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन् « Khabarhub

एमालेको समानुपातिक

पुरानैको रजगज, पार्टीको लज्जास्पद हार हुँदा पनि नाम फिर्ता लिएनन्



काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकबाट निर्वाचित हुनेहरूको संख्या बिहीबार निर्धारण गरेको छ।

आयोगले बिहीबार समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सम्पूर्ण मतगणना सकिएर प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको जनाएको छ।

आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका जनाएको छ। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।

उता समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । जसमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ।

समानुपातिकतर्फको सिट

समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी-५७ सिट
नेपाली कांग्रेस -२० सिट
नेकपा एमाले -१६ सिट
नेकपा -९ सिट
श्रमसंस्कृति पार्टी -४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी-४ सिट

आयोगले सिट संख्याअनुसार तीन दिनभित्र समानुपातिकतर्फबाट निर्वाचित हुने उम्मेदवारको नाम छनोट गरी पठाउन सम्बन्धित दलहरूलाई पत्राचार भइसकेको पनि जनाएको छ।

एमालेमा पुरानैलाई अवसर

यस पटकको निर्वाचन केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) इतिहासमै सबैभन्दा कमजोर बनेको छ। माधवकुमार नेपालले २०६४ ताका नेतृत्व गरेको भन्दा कमजोर हैसियत एमालेको छ।

एघारौँ महाधिवेशनमा पेलेर तेस्रो कार्यकालका लागि अध्यक्ष बनेसँगै अध्यक्ष ओलीले आफूनिकट र आसेपासे धेरैलाई समानुपातिकमा राखे । पार्टीका लागि योगदान दिने अन्य कयौँ इमान्दार नेता कार्यकर्तालाई पाखा लगाएका उनले जनताले पनि नरूचाएका पुरानै अनुहार दोहोर्‍याउन चाहे ।

फागुन २१ को निर्वाचनको परिणामले एमालेलाई भदौ २३ र २४ को जेन-जी आन्दोलनको भन्दा ठूलो धक्का लागेको छ । भदौ २४ गते एमाले अध्यक्ष ओलीसहितका २ सय बढी घरमा आगो लगाइएको थियो ।

पार्टी कार्यालय पनि त्यसबेला जले । तर यो निर्वाचनले एकसाथ एमालेको तीन पुस्तालाई धक्का दिएको छ । यो अवस्थामा एमालेको समानुपातिक सूचीले समर्थकलाई झनै निराश बनाउने अवस्था छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पेलेर देशलाई निर्वाचनमा लैजाँदा आएको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटमा पुग्दा एमाले करिब थला परेको छ। तर अध्यक्ष ओली लज्जास्पद परिणाम आउँदा पनि नेतृत्व छाड्न तयार छैनन् ।

भदौमा भएको विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याएर उनले एमाले कब्जा गरे। अब उनले समानुपातिकमा राखे तिनै पुराना अनुहार यस पटक पनि संसद्मा देखिने अवस्था आएको छ।

उनले समानुपातिकमा राखेका कोही पनि उम्मेदवारले नैतिकताका आधारमा आफ्नो नाम फिर्ता लिन चाहेका छैनन् । प्रत्यक्षतर्फ ९ सिटमा समेटिएको अवस्थामा पटक पटक अवसर पाएकाहरू फेरि पनि पदको लोभमा मौन बसेका छन् ।

उपाध्यक्ष रामबहादुर थापा बादल, नेता गुरू बराल, सचिव पद्मा अर्याल, नेतृहरू कोमल वली र शान्ता चौधरीहरू फेरि पनि आफैं अवसर छोप्न तम्तयार भएर बसेका छन् ।

जबकि चुनावी परिणामले पुरानो नेतृत्वलाई विश्राम दिएर नयाँ नेतृत्व ल्याउनुपर्ने सन्देश दिएको छ । तर ओलीले समानुपातिकमा राखेका कुनै पनि अनुहारले फागुन २१ को लाजमर्दो चुनावी परिणामपछि आफूलाई विश्राम दिने नैतिकता देखाउन सकेका छैनन् ।

एमालेमा तेस्रो पटक बलजफ्ती अडिएका ओलीलाई फागुन २१ को निर्वाचनले देशकै लोकप्रिय दलबाट सानाहरू राप्रपा र जसपाको हैसियतमा ल्याइदिएको छ। एमाले, कांग्रेस र नेकपा साना दल भएका छन् ।

पार्टी करिब करिब सकिने गरी संकट आउँदा पनि ओलीले प्रतिनिधि सभा निर्वाचनको परिणाम आफ्नो अपेक्षाअनुसार नआएको बताएका छन्। उनले पार्टी ध्वस्त हुँदा पनि यो परिणामलाई सामान्य भनेका छन् । उता उनको वरिपरि रहेर अवसर पाइरहने समानुपातिक उम्मेदवारहरू आफ्नो नाम झिक्न तयार छैनन् ।

२०७९ को निर्वाचनमा समानुपातिक र प्रत्यक्ष दुवैमा ७८ सिट जितेको एमाले यस पटक २५ सिटभन्दा तल समेटिएको छ। तर पनि ओली र उनका निकटहरू गल्ती स्वीकार्नुको साटो फेरि अवसर छोप्ने दाउमा छन् ।

फेरि अवसर छोप्नेहरू

रामबहादुर थापा ‘बादल’

माओवादीमा हुँदादेखि नै सत्ता र शक्तिको केन्द्रमा रहेका रामबहादुर थापा ‘बादल’ फेरि संसद् यात्रामा छन् । उनलाई ओलीले यस पटक पनि समानुपातिक सूचीमा राखे । उनी आदिवासी जनजातीको पहिलो नम्बर छन् ।

नेकपाकालमा माओवादीबाट एमालेमा आएर यतै बसेका उनी यसअघी पटक पटक रक्षा र गृह मन्त्री भइसकेका छन् । उनैलाई यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाइएको थियो ।

२०६३ मङ्सिर ५ गते माओवादीले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछिको पहिलो संविधानसभा निर्वाचनमा प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा उनी रक्षामन्त्री बने। तर त्यसबेला ०६६ सालमा तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा सरकार नै ढल्यो ।

नेकपा माओवादीमा विवादका कारण उनी मोहन वैद्य पक्षतिर गए । वैद्य समूहबाट केही नेतासहित प्रचण्डको नेतृत्वको माओवादी केन्द्रमा फर्किए। उनी २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भए।

उनी २०७४ को निर्वाचन ३ हजार ३ सय ९६ मत ल्याउँदै राष्ट्रियसभाको सदस्यमा विजयी भएका थिए। २०७४ फागुन १४ गते गृहमन्त्रीमा नियुक्त भए ।

२०७८ फागुनमा नेकपा बदर भएपछि उनी माओवादी छोडेर एमाले प्रवेश गरे। त्यहीकारण राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भए। २०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा उनी एमालेको उम्मेदवार भए । तर विपक्षी गठबन्धनको उमेदवार डा. खिमलाल देवकोटासँग पराजित भए।

उनी एमालेको १० औँ महाधिवेशनमा उपाध्यक्ष बने । एघारौँ महाधिवेशनमा पनि त्यही पदमा निरन्तरता पाएका उनी यस पटक एमालेको चुनावी कमान्डर थिए । तर उनले कुनै पनि चुनावी सभालाई सम्बोधन गरेनन् ।

पार्टी कार्यालय च्यासलमै बसेर समय बिताए । ओली र चुनावी कमान्डर बादल कहीँ कतै नगएको यो चुनावमा एमाले पनि करिब पत्तासाफ भयो । अब उनै बादल प्रतिनिधिसभामा जाने तयारीमा छन्, त्यो पनि समानुपातिकबाट ।

गुरू बराल

एमालेको एघारौँ महाधिवेशनमा उपाध्यक्ष र केन्द्रीय सदस्यमा पराजित गुरू बराललाई अध्यक्ष ओलीले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेका छन् । समानुपातिकका १७ मध्ये उनी निर्वाचित हुने करिब निश्चित छ ।

एमाले अध्यक्ष केपी ओलीले समानुपातिक सूची तयार पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा राखेका थिए । बराल अध्यक्ष ओलीका विश्वास प्राप्त भएकैले अर्को अवरको सम्मुखमा छन् ।

ओलीसँग पाँचौँ महाधिवेशनदेखि निकट रहेका उनी मोरङका हुन् । उनले अवसर पाउँदैन पाएका होइनन, २०५१ सालमै सांसद भइसकेका नेता हुन् बराल। २०५१ सालको उपनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट जितेका उनी त्यसयता संसदीय चुनावमा निरन्तर हारिरहेका छन्।

०५१ सालसहित उनी पाँचपटक उम्मेदवार बनिसकेका छन् । ०५६ मा मोरङ-६, ०६४ को संविधानसभामा मोरङ-४ र ०७० मा मोरङ-३ बाट पराजित भए ।

०७८ माघमा भएको राष्ट्रियसभा निर्वाचनमा पनि उनी हारे । पार्टीकै दुईजना प्रदेश सांसदले ‘अन्तरघात’ गर्दा मतभार नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भयो । गोलाप्रथामा निर्णय गर्दा उनी पराजित भए।

एमालेको एघारौँ महाधिवेशनमा ओली गुटमै भए पनि उनी उपाध्यक्ष पदमा पराजित भए । दशौँ महाधिवेशनपछि निर्वाचित उपाध्यक्ष सुवास नेम्बाङको निधनपछि ओलीले उनलाई उपाध्यक्ष बनाएका थिए । तर पार्टीको आन्तरिक चुनावमै पराजित उनलाई ओलीले अर्को अवसर दिन लागेका छन् ।

पद्मा अर्याल

ओलीका प्रिय पात्रमध्ये एकजना हुन् पद्मा कुमारी अर्याल । तर उनी समानुपातिकमा अवसर नै दिनुपर्ने गरी पिछडिएकी नेतृ भने होइनन् । उनी २०७४ सालमा स्याङ्जबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित नेतृ हुन् । उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कृषि तथा पशुपंक्षी विकास मन्त्री भइसकेकी छन् । त्यसअघि उनी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भएकी थिइन् ।

ओलीले माया गर्ने नेतृहरूमा पर्ने उनी एमालेको एघारौँ महाधिवेशनमा संस्थापन प्यानलबाट सचिव बनेकी छन् । मन्त्री हुँदा दीपक मल्होत्रासहितका व्यवसायीसँग निकटता बनाएर झापाको गिरीबन्धु टी स्टेट बिक्री गर्न भूमिका खेलेको आरोप उनीमाथि लाग्ने गरेको छ। मन्त्री खुस्किएपछि उनी मल्होत्राहरूकै कालिकास्थानको एउटा अपार्टमेन्टमा सरेकी थिइन् ।

निरूदेवी पाल

ओलीका प्रिय पात्रमध्ये एक हुन् कञ्चनपुरकी निरुदेवी पाल । उनी पनि यस पटक समानुपातिक सूचीमा छिन् । उनी एमालेमा अवसर नै नपाएकी नेतृ होइनन्।

युवा संघ नेपालको नेतृत्वसमेत गरिसकेकी उनी २०७४ सालमै समानुपातिक सांसद बनेकी हुन् । २०७४ मा समानुपातिकमा बसेकी उनी २०७९ मा प्रत्यक्ष चुनाव लड्दा पराजित भइन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा उनी २०७९ सालमाा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग पराजित भइन् । प्रत्यक्षमा पराजित भएकी उनलाई ओलीले फेरि समानुपातिकको बाटोबाट संसद् ल्याउन लागेका हुन्।

तर २०७९ मा पराजित उनलाई ओलीले फेरि अर्को अवसर दिन लागेका छन् । तर एमालेले यस पटक गम्भीर क्षति भोगेकाले उनी निर्वाचित हुने सम्भावना कमजोर छ। तर महिलाहरूको क्लस्टर मिलाउँदा उनले संसद् यात्रा तय गर्न सक्ने अवस्था पनि छ।

ओलीले पनि अवसर नै नपाएकालाई ल्याउनुपर्नेमा आफूलाई विश्वास गर्नेका लागि पद बाँड्ने गरेको उदाहरण समानुपातिक सूची भएको छ।

जितबहादुर गौतम दर्जी

उनी नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य हुन् । गौतम पनि अवसर पाउँदै नपाएका नेता होइनन् । उनी पूर्वराज्यमन्त्री भइसकेका नेता हुन् । उनी फेरि दलित क्लस्टरबाट संसद् यात्रामा निस्किन लागेका छन् । झापाका उनै जितु गौतमले २०७१ ताका कार्यकर्तामाथि ठगी गरेको आरोप लागेर पार्टी महाधिवेशनमा उम्मेद्वार बन्न पनि पाएका थिएनन्।

झापाको पृथ्वीनगर घर भएका गौतमले पत्नी तुलसा गौतम दाससँग मिलेर आफ्नै गृहजिल्लाका कार्यकर्तालाई अमेरिका पठाइदिने भन्दै १८ लाखभन्दा बढी रकम ठगी गरेको आरोप लागेको थियो ।

गौतम पूर्व सामान्य प्रशासन राज्यमन्त्री हुन् । माधवकुमार नेपाल २०६६ सालमा प्रधानमन्त्री हुँदा सामान्य प्रशासन राज्यमन्त्री रहेका गौतम एमालेका केन्द्रीय सदस्य हुन्। उनी एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका छन् ।

ओलीले झापाबाट एमालेको समानुपातिकको सूचीमा नर्वदादेवी शिवाकोटी, लता प्रसाईं, जितबहादुर दर्जी गौतम, मेनुका काफ्ले, विद्यानन्द सिंह राजवंशी, नीता घतानी, बीणाकुमारी साह र अनिता कन्दङ्वालाई राखेका थिए । समानुपातिकमै राखेका सोम पोर्तेल राष्ट्रिय सभा सदस्यमा लगियो।

एमालेको समानुपातिक सूचीमा पटक पटक अवसर पाएकी कोमल वली पनि खस आर्यबाट छिन् । प्रतिनिधि सभा र राष्ट्रियसभामा थइसकेकी उनी यस पटक पनि आउने तयारीमा थिइन् । तर एमालेले धक्का खाएपछि खसआर्यबाट उम्मेदवार रहेकी उनी पर्ने अवस्था छैन ।

ओलीका प्रियपात्रमध्ये शान्ता चौधरी पनि समानुपातिक सूचीमा छन् । तर यसअघि २०७४ मै समानुपातिकबाट प्रतिनिधिसभामा आइसकेकी उनको पनि विजयी हुने सम्भावना छैन ।

ओलीले राखेका आफ्ना कयौँ प्रिय पात्रहरू यस पटक संसद् जानबाट बञ्चित भएका छन् । प्रत्यक्षमा जस्तै समानुपातिकमा पनि एमाले लज्जाजनक मत लिन सफल भएकाले समानुपातिकलाई उपयोग गर्ने अवसर ओलीनिकट धेरै नेताहरूले गुमाएका छन् ।

सम्भावित विजयी

१. भूमिका लिम्बू सुब्बा- आदिवासी जनजाति
२. पद्मा अर्याल- खस आर्य
३. एशुदाकुमारी बराल- पिछडिएको क्षेत्र, अपाङ्गता
४. विष्णुमाया विक- दलित
५. मञ्जुकुमारी चौधरी- थारू
६. रिगंला यादव- मधेशी
७. साजिदा खातुन सिद्दिकी- मुस्लिम

एमालेले एकजना महिला जुन क्षेत्रबाट पनि पठाउन सक्छ । अन्यतर्फ ८ जना पुरुष समानुपातिकबाट सांसद हुनेछन् । पुरूषतर्फ पनि सबै क्लस्टर मिलाउनुपर्ने हुन्छ ।

एमालेमा पिछडिएको क्षेत्रबाट गोरखबहादुर बोगटी जान सक्छन् । एमालेले यस पटक प्रत्यक्षबाट एक जना महिला पनि नजिताएकाले समानुपातिकमा हिसाब मिलाउनुपर्ने हुन्छ।

१. सोनाम छिरिङ लामा- पिछडिएको क्षेत्र
२. रामबहादुर थापा ‘बादल’- आदिवासी जनजाति
३. गुरुप्रसाद बराल- खस आर्य
४. जितबहादुर दर्जी गौतम- दलित
५. कृपाराम राना- थारू
६. चन्द्रश्वर मण्डल- मधेशी
७. एजाज आलाम- मुस्लिम

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  २ : ११ बजे

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन

‘मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं– नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका रुपमा

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन