काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका २० हजार रुपैयाँ सम्म बचत गर्ने बचतकर्ताहरूको रकम फिर्ता गरिने भएको छ ।
कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले करिब १५ महिना गरेको छानबिन पछि २० हजार रुपैयाँ सम्म रकम बचत गरेका २ सय ८७ जना बचतकर्ताहरूलाई करिब २८ लाख ५७ हजार रुपैयाँ फिर्ता दिन लागिएको हो ।
समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कोशी प्रदेशका सदस्य सचिव पदम बहादुर ठकुराठीले अम्बे कोशी बचत तथा सहकारी संस्थाले करिब २४ करोड ८८ लाख रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको जानकारी दिए ।
संस्थाको खातामा १ करोड ३८ लाख ४४ हजार रुपैयाँ बैंकमा रहेको पाइएको र सोही रकमबाट बचत फिर्ता गर्न लागिएको उनले बताए ।
पत्रकार सम्मेलनमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इसराइल मन्सुरीले सहकारीका सञ्चालकहरूको जग्गा र सम्पत्ति रोक्का गरिएको र चाडै नै एक लाख सम्म रकम जम्मा गर्ने बचतकर्ताहरूको रकम फिर्ता दिने तयारी रहेको बताए ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थामा १ हजार १ सय ७३ जना बचतकर्ताहरूले रकम दाबी गरेका थिए ।
अहिले सम्म समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा कोशी प्रदेशका थप दुई वटा सहकारीहरूले समस्याग्रस्त सहकारी घोषणाका लागि आग्रह गरेकोमा दाबी नपुगेको जानकारी दिइएको थियो ।













प्रतिक्रिया