काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाहले संसद्लाई बेवास्ता गरेर अस्वभाविक व्यवहार देखाइरहेका छन् । गत फागुन २१ गते निर्वाचित संसद्मा उभिएर एक पटक पनि सम्बोधन नगरेका उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफललाई पनि महत्व दिएनन् ।
दुईतिहाइ नजिकैको अर्थात् १८२ सिटसहितको राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरूले घेरेका छन्। रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन संसद् बैठकमा आएर जवाफ नदिएको उनीहरूको आरोप छ । बालेनले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहेका बेला बहिष्कारकै शैलीमा संसद् छाडेको भन्दै प्रतिपक्षीले घेरिरहेका छन् ।
सरकारले आफ्नै नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री उपस्थित नहुनाले लोकतन्त्र कमजोर भएको निष्कर्ष विपक्षीको छ। बालेन संसदीय मर्यादाभन्दा बाहिर गएको आरोप पनि प्रतिपक्षीको छ। विगतमा पनि प्रधानमन्त्री उपस्थित नहुँदा प्रतिपक्षले सदन घेर्ने गरेका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सदन छलेर उपस्थित नहुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले नै चर्को आलोचना गर्दै आएको थियो ।
ओली बालुवाटारमा बसेर टिकटकर र पार्टीका नेतालाई भेट्दै रमाएको आरोप रास्वपा सांसदहरूले लगाउने गरेका थिए। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि एमाले लगायत प्रतिपक्षीले सदनमा यही शैलीमा खोजी गर्ने गरेका थिए ।
तर नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्रले पनि पुरानै ढर्रा देखाएपछि सदनमा चर्को विरोध भएको छ।
सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमबारे मंगलबार प्रधानमन्त्रीले जवाफ दिनुपर्ने कार्यसूची रहँदा उनी उपस्थित भएनन् । त्यसपछि विपक्षी दलले प्रधानमन्त्रीको खोजी गरे।
परम्परागत दल नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतले प्रधानमन्त्री बालेनको खोजी गर्दा नयाँ दल श्रम संस्कृति पार्टीले राजीनामा माग्यो।

कहाँ छन् प्रधानमन्त्री?
संसद् बैठक सुरू हुनुअगाडि राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बसेको थियो। त्यहाँ पनि प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह उपस्थित थिएनन्। सदन सुरू हुनुअगाडि बसेको मन्त्रिपरिषद् बैठकमा वालेन्द्र उपस्थित थिए।
स्रोतका अनुसार वालेन्द्र कुनै बिरामी र असहज अवस्थामा छैनन्। तर प्रतिनिधिसभामा उपस्थित नहुने र स्वर्णिमले नै नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने अनुमति दिएका थिए।
वालेन्द्र भने प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने अडानमा थिए। त्यसपछि स्वर्णिमले नै अगाडि बढाउने भएपछि विपक्षी दलहरूले आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री केमा व्यस्त हुनुहुन्थ्यो ? प्रतिनिधिसभामा किप उपस्थित हुनु भएन भन्ने प्रश्नमा उनको सचिवालयले सिंहदरबारमै रहेको रहेको जवाफ दियो ।
‘प्रधानमन्त्रीज्यू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै हुनुहुन्छ । किन बैठकमा जानुभएन, हामीलाई जानकारी भएन’, प्रधानमन्त्रीका सचिवालय सदस्यले भने, ‘सिजनल सामान्य रुघाखोकी होला, त्यस्तो बिरामी पनि हुनुहुन्न ।’
प्रधानमन्त्री कार्यालयका कर्मचारीहरू पनि बालेन सिंहदरबारमै रहेको बताउँछन्। प्रधानमन्त्री सिंहदरबारमा केमा व्यस्त छन् ? उनीहरू भन्छन्, ‘नियमित काममै व्यस्त हुनुहुन्छ ।’
तर प्रतिनिधिसभामा गम्भीर विषयमा छलफल चल्न लाग्दा प्रधानमन्त्री उपस्थित नहुनु कल्पना गर्न नसकिने विषय भनिएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री उपस्थित हुनैपर्ने संवैधानिक जानकार राजेन्द्र फुयाँल बताउँछन् । फुयाँलका अनुसार प्रधानमन्त्रीले सबैको कुरा सुन्न पनि सदनमा उपस्थित हुनुपर्छ।
तर प्रधानमन्त्री बुधबार सदनमा उपस्थित हुने सम्भावना आज न्यून छ। ‘कुनै हालतमा आज प्रधानमन्त्री संसद्मा जानुहुन्छ जस्तो हामीलाई लाग्दैन। उहाँले अर्थमन्त्रीलाई जिम्मेवारी दिइसकेपछि नजाने नै देखिन्छ’, सचिवालयका एक सहयोगी भन्छन् ।
प्रधानमन्त्री शाह बुधबार सदनमा नजाने गरी बसेका छन् । बरू बिहीबार सदन चले त्यसै दिन जाने उनको तयारी छ।

प्रधानमन्त्री नपुगेर सदन अवरोध भइरहेको जानकारी सभामुखको सचिवालयले गराइसकेको छ। तर सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीलाई उपस्थित हुन सूचना पुर्याए वा पुर्याएनन थाहा छैन ।
यता सभामुख अर्यालले प्रधानमन्त्रीलाई संसद्मा ल्याउन आफूले संवाद गर्ने बताए । उनले रुलिङ भन्दा प्रधानमन्त्रीसँगै भेटेर यसबारे कुरा गर्ने बताएका छन् ।
संसद्मा विपक्षीले अवरोध गरिरहँदा प्रधानमन्त्री भने सिंहदरबारबाट टेलिभिजनमा लाइभ हेरिरहेका थिए। ‘स्वाभाविक रूपमा सिंहदरबारबाट उहाँले लाइभ हेरिरहनुभएको थियो। उहाँलाई अहिले संसद्मा भइरहेका सबै कुराको पूरा जानकारी छ’, स्रोत भन्छ ।
प्रधानमन्त्री स्रोतले उनी किन सदनमा नगएको भन्ने कुनै जानकारी नभएको बताएको छ।
यसबारे प्रधानमन्त्रीकी प्रेस सल्लाहकार दीपा दाहाल बुधबारका लागि अर्थमन्त्री वाग्लेलाई जिम्मेवारी तोकिसकेको बताइन् । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई नीति तथा कार्यक्रम टेबल गर्न जिम्मेवारी तोकेकाले अरू विषयमा आफूलाई जानकारी नभएको बताइन्।
रास्वपा नेतालाई थाहा छैन
विगतमा प्रधानमन्त्री उपस्थित नहुँदा रास्वपाले चर्को विरोध गर्थ्यो । सदनसमेत अवरोध गर्ने गरेको थियो। यसपटक आफ्नै पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री हुँदा किन सदनमा नबोलाएको भन्ने प्रश्नको जवाफ रास्वपाका नेताहरूसँग पनि छैन। उनीहरूले प्रधानमन्त्री आफ्नो एक्सेसमा नभएकाले यसबारे जानकारी नभएको बताए ।
सदनमा प्रधानमन्त्री उपस्थित नहुनेबारे रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली यसबारे जानकारी नभएको बताए । उनले बरू सरकारलाई सोध्न अनुरोध गरे।
पार्टी स्रोतका अनुसार प्रधानमन्त्री सदनमा उपस्थित नभएको विषयमा सभापति रवि लामिछाने पनि खुसी छैनन् । उनी बुधबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भए पनि उनको मुहार स्वाभाविक खुसी थिएन।
प्रतिपक्षी दलले सदन घेरेपछि छेउमा रहेका पार्टी महामन्त्री तथा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलाई रविले बोल्न लगाए । त्यस अगाडि सह-महममन्त्री तथा सांसद विपिन आचार्य, बुर्लाकोटी र लामिछानेले संसद्को नियमावली अध्ययन गरिरहेका थिए ।
विगतमा प्रधानमन्त्रीमाथि उठेको प्रश्नको जवाफ पार्टी बैठक र सार्वजनिक पत्रकार सम्मेलनमा रविले जवाफ दिने गरेका थिए । तर सदनमा पार्टी रवि चुपचाप देखिएका छन् ।

के भयो ?
प्रधानमन्त्रीलाई जवाफ नदिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पठाएपछि प्रतिपक्षीले सदन घेरे। अन्ततः प्रतिनिधिसभा बैठक बुधबार पहिलो पटक स्थगित भयो।
विपक्षीले सदन मात्रै घेरेनन्, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँगै उनको पार्टीका अरू सबै सांसदले बहिष्कार नै गरे । त्यसपछि सत्तापक्ष र प्रतिपक्ष दुवै दलका नेतालाई सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय दिए।
प्रतिपक्षी दलका नेता अर्जुननरसिंह केसीले सुरूमा बोल्दा प्रधानमन्त्रीले तोकेको मन्त्रीले बोल्न मिल्ने तर छलफलमा प्रधानमन्त्री आउने ग्यारेन्टी खोजे ।
‘म ४८ सालदेखि सदनमा छु। परिवर्तन नहुँदासम्म अहिलेको छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ’, केसीले भने, ‘तर जवाफ दिने बेलाचाहिँ प्रधानमन्त्री आउनुपर्छ । जवाफ दिने बेला पनि आउनुभएन भने हामीले बहिष्कार गर्नुपर्छ अथवा के गर्नुपर्छ सोच्नुपर्छ ।’
केसीले टेबल मात्रै गर्न भनेपछि राप्रपा दलका नेता ज्ञानेन्द्र शाही बोले। उनले प्रधानमन्त्री कालो चश्मा लगाएर सिंहदरबारमै बसेको बताउँदै संसद् बैठकमा उपस्थित हुनुपर्ने माग राखे।
ज्ञानेन्द्रपछि एमालेबाट ऐन महर बोले। उनले पनि सदनमा प्रधानमन्त्री उपस्थित हुनैपर्ने बताए। लगत्तै, सत्तापक्षका तर्फबाट बोलेका बुर्लाकोटीले निवेदन पढेर सुनाउँदै टेबल गर्न सकिने जानकारी गराए ।
तर विपक्षीले छोडेनन्। त्यसपछि विपक्षी दलका तर्फबाट भीष्मराज आङ्देम्बेले सभामुखलाई सदन रोकेर संसदीय दलका नेता, प्रमुख सचेतक र सचेतकसँग छलफल गरेर पछि सदन चलाउन अनुरोध गरे।
करिब २ घण्टादेखि सभामुख समाधान खोजिरहेका थिए तर प्रतिपक्षीले प्रधानमन्त्री आउनुपर्ने माग राखिरह्यो । अर्थमन्त्री वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल प्रस्ताव टेबल गरेका छन् । तर प्रतिपक्षले प्रधानमन्त्री आउनैपर्ने अडानसहित छलफल अगाडि बढाउन दिएका छैनन् ।














प्रतिक्रिया