आत्मदाह प्रकरणमा जलन विज्ञको प्रश्न- भिडियो खिच्नेले पानी किन खन्याएनन् ? « Khabarhub

आत्मदाह प्रकरणमा जलन विज्ञको प्रश्न- भिडियो खिच्नेले पानी किन खन्याएनन् ?

जलनको पहिलो र महत्वपूर्ण ओखती पानी


२९ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही असार २५ र २६ गते गरी दुई दिनको अवधिमा मुलुकका विभिन्न स्थानमा तीन वटा आत्मदाहका घटना सार्वजनिक भए । २५ गते बिहीबार राजधानीको त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए ।

गम्भीर अवस्थामा वीर अस्पताल पुर्‍याइएका उनको २६ गते शुक्रबार उपचारका क्रममा मृत्यु भयो । सोही दिन काठमाडौंकै बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले पनि आत्मदाहको प्रयास गरे, उनको पनि वीर अस्पतालमै मृत्यु भयो ।

यसैगरी, सर्लाहीका ३५ वर्षीय विवेक मण्डलले पनि सोही दिन आगो लगाई आत्मदाहको प्रयास गरे । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुर अस्पतालमा उपचार गराइँदै छ । हाल ८५ प्रतिशत जलन भएका उनको अवस्था अत्यन्तै जटिल छ । उनी जीवन र मृत्युको दोसाँधमा छन् ।

यी घटनाहरू सार्वजनिक भएसँगै घटनास्थलमा गरिने प्रारम्भिक उद्धार, आगो निभाउने सही तरिका र प्राथमिक उपचारको अभावबारे गम्भीर प्रश्न उठेको छ । त्रिपुरेश्वरको घटनामा नजिकै पानीका जारहरू हुँदाहुँदै पनि मानिसहरू उद्धार गर्नुको साटो भिडियो खिच्न व्यस्त भएको र समयमै प्राथमिक उपचार नपाउँदा बिरामीको अवस्था जटिल बनेको देखिएको छ ।

जलनको पहिलो उपचार पानी खन्याउनु हो

कीर्तिपुर अस्पतालका जलन विशेषज्ञ प्रा. डा. शंकरमान राईका अनुसार जुनसुकै प्रकृतिको जलन भए पनि सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्राथमिक उपचार भनेकै जलेको भागमा निरन्तर सफा पानी खन्याउनु हो ।

डा. राईले भने ‘अस्पताल आउन आधा वा एक घण्टा ढिलो भएर केही फरक पर्दैन, तर जतिसक्दो छिटो जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउनु पर्छ ।’ जलेको ठाउँमा पानी खन्याउँदा छाला र भित्री अङ्गलाई थप डढ्नबाट बचाउने उनले जानकारी दिए ।

त्रिपुरेश्वरको घटनालाई स्मरण गर्दै उनले दुःख व्यक्त गरे । ‘गणेश नेपालीको हकमा शरीरको माथिल्लो भाग मात्र ५५ प्रतिशत जति जलेको थियो । उद्धार गर्दा उनी हिँडिरहेका देखिन्थे । त्यहाँ नजिकै पानीका जारहरू प्रशस्त थिए रे !’ उनले भने, ‘भिडियो खिच्ने छेउछाउका मान्छेले पानी खन्याउन विवेक नपुर्‍याएको देखियो । यो दुःखलाग्दो र मानवताविहीन कुरा हो । तत्काल पानी खन्याएको भए अवस्था अर्कै हुन सक्थ्यो ।’

डा. शंकरमान राई

आगो बलिरहेको अवस्थामा तत्काल के गर्ने ?

डा. राईका अनुसार बलिरहेको आगो निभाउन बाक्लो कम्बल, ज्याकेट वा भिजेको कपडाले पीडितलाई छोप्नुपर्छ । यसो हुँदा बलिरहेको आगोमा अक्सिजन पुग्दैन र तुरुन्तै निभ्छ ।

यदि आफ्नै शरीरमा आगो लागेको छ भने नआत्तिई भुइँमा पल्टिएर लडिबुडी गर्दा आगो तत्काल निभ्ने उनको भनाइ छ । त्यस्तै, आफैँलाई आगो लाग्दा मानिस अत्तालिने हुनाले वरपर हुने प्रत्यक्षदर्शीले नआत्तिई कपडाले छोप्ने वा पानी खन्याएर आगो निभाउनुपर्ने डा. राईले बताए ।

जलनको मुख्य कारण गरिबी

डा. राईका अनुसार नेपालमा जलनको मुख्य कारण गरिबी हो । विपन्न वर्गका मानिसहरू बस्ने ठाउँ, खाना पकाउने विधि र सुरक्षाका उपायको अभावका कारण जलनका बढी सिकार हुने गरेका उनको भनाइ छ ।

‘हामीले विभिन्न क्लब र कलेजहरूमा जनचेतना जगाउने काम त गरिरहेका छौँ, तर जो मानिस साँच्चै जोखिममा छन्, उनीहरूसम्म रेडियो, टिभी वा मोबाइलको पहुँच पुग्न सकेको छैन,’ डा. राईले भने, ‘मिडियाले पनि यस्ता घटनापछि समाजमा कस्तो नकारात्मक असर पर्छ र प्राथमिक उपचार कसरी गर्ने भन्नेजस्ता सकारात्मक र चेतनामूलक समाचारलाई बढी प्राथमिकता दिनुपर्छ ।’

नेपालमा जलन उपचारको अवस्था

विगतमा जलन भएका बिरामीमध्ये सय जनामा २२ देखि २५ जनाको मृत्यु हुने गरेकोमा हाल प्रविधि, अनुसन्धान र दक्ष जनशक्तिका कारण मृत्युदर घटेर १० प्रतिशतमा झरेको डा. राईले जानकारी दिए ।

उनका अनुसार कीर्तिपुर अस्पतालमा विगत तीन वर्षदेखि लगातार देशका ७५ वटै जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । गत वर्ष मात्रै त्यहाँ ८ सय ७० जना जलनका बिरामी भर्ना भएका थिए ।

अस्पतालमा १८ जनाको विशेष टिम छ, जसमा ८ जना चिकित्सक तथा नर्सहरू दिनरात जलनकै उपचारमा खटिएका हुन्छन् । अरु ७ जनाको टोली जलन सम्बन्धी अनुसन्धानमा मात्रै सक्रिय छ ।

डा. राईका अनुसार कुनै ठूलो विपद् हुँदा १८ जनाकै टोली जलनका बिरामीको उपचारमा केन्द्रित हुन्छ । कीर्तिपुर अस्पतालको यो विज्ञताकै कारण यहाँ अस्ट्रेलिया, अमेरिका, बेलायत र इटाली जस्ता देशबाट विशेषज्ञहरू सिकाउन आउँछन् भने पाकिस्तान, अफगानिस्तान, भुटान र अफ्रिकी देशका चिकित्सकहरू सिक्न आउने गरेका छन् ।

प्रकाशित मिति : २९ असार २०८३, सोमबार  ७ : ०१ बजे

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग

रुसको गुप्तचर गतिविधिबारे खुलासापछि जापान सतर्क, जासुसी नियन्त्रण थप कडा बनाउने तयारी

टोकियो– रुसले जापानलाई गुप्तचर गतिविधि सञ्चालन तथा युक्रेन युद्धसँग सम्बन्धित

सीके राउत भन्छन् : सञ्चार गृहसामुन्ने शंकास्पद गाडी राख्नेले भोलि घरमा बम पनि राख्न सक्छ

काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले विभिन्न सञ्चारगृह