काठमाडौं- यही असार २५ र २६ गते गरी दुई दिनको अवधिमा मुलुकका विभिन्न स्थानमा तीन वटा आत्मदाहका घटना सार्वजनिक भए । २५ गते बिहीबार राजधानीको त्रिपुरेश्वरमा मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए ।
गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएका उनको २६ गते शुक्रबार उपचारका क्रममा मृत्यु भयो । सोही दिन काठमाडौंकै बुद्धनगरमा ४५ वर्षीय अश्विन राउतले पनि आत्मदाहको प्रयास गरे, उनको पनि वीर अस्पतालमै मृत्यु भयो ।
यसैगरी, सर्लाहीका ३५ वर्षीय विवेक मण्डलले पनि सोही दिन आगो लगाई आत्मदाहको प्रयास गरे । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुर अस्पतालमा उपचार गराइँदै छ । हाल ८५ प्रतिशत जलन भएका उनको अवस्था अत्यन्तै जटिल छ । उनी जीवन र मृत्युको दोसाँधमा छन् ।
यी घटनाहरू सार्वजनिक भएसँगै घटनास्थलमा गरिने प्रारम्भिक उद्धार, आगो निभाउने सही तरिका र प्राथमिक उपचारको अभावबारे गम्भीर प्रश्न उठेको छ । त्रिपुरेश्वरको घटनामा नजिकै पानीका जारहरू हुँदाहुँदै पनि मानिसहरू उद्धार गर्नुको साटो भिडियो खिच्न व्यस्त भएको र समयमै प्राथमिक उपचार नपाउँदा बिरामीको अवस्था जटिल बनेको देखिएको छ ।
जलनको पहिलो उपचार पानी खन्याउनु हो
कीर्तिपुर अस्पतालका जलन विशेषज्ञ प्रा. डा. शंकरमान राईका अनुसार जुनसुकै प्रकृतिको जलन भए पनि सबैभन्दा पहिलो र महत्त्वपूर्ण प्राथमिक उपचार भनेकै जलेको भागमा निरन्तर सफा पानी खन्याउनु हो ।
डा. राईले भने ‘अस्पताल आउन आधा वा एक घण्टा ढिलो भएर केही फरक पर्दैन, तर जतिसक्दो छिटो जलेको भागमा आधा घण्टासम्म निरन्तर पानी खन्याउनु पर्छ ।’ जलेको ठाउँमा पानी खन्याउँदा छाला र भित्री अङ्गलाई थप डढ्नबाट बचाउने उनले जानकारी दिए ।
त्रिपुरेश्वरको घटनालाई स्मरण गर्दै उनले दुःख व्यक्त गरे । ‘गणेश नेपालीको हकमा शरीरको माथिल्लो भाग मात्र ५५ प्रतिशत जति जलेको थियो । उद्धार गर्दा उनी हिँडिरहेका देखिन्थे । त्यहाँ नजिकै पानीका जारहरू प्रशस्त थिए रे !’ उनले भने, ‘भिडियो खिच्ने छेउछाउका मान्छेले पानी खन्याउन विवेक नपुर्याएको देखियो । यो दुःखलाग्दो र मानवताविहीन कुरा हो । तत्काल पानी खन्याएको भए अवस्था अर्कै हुन सक्थ्यो ।’

आगो बलिरहेको अवस्थामा तत्काल के गर्ने ?
डा. राईका अनुसार बलिरहेको आगो निभाउन बाक्लो कम्बल, ज्याकेट वा भिजेको कपडाले पीडितलाई छोप्नुपर्छ । यसो हुँदा बलिरहेको आगोमा अक्सिजन पुग्दैन र तुरुन्तै निभ्छ ।
यदि आफ्नै शरीरमा आगो लागेको छ भने नआत्तिई भुइँमा पल्टिएर लडिबुडी गर्दा आगो तत्काल निभ्ने उनको भनाइ छ । त्यस्तै, आफैँलाई आगो लाग्दा मानिस अत्तालिने हुनाले वरपर हुने प्रत्यक्षदर्शीले नआत्तिई कपडाले छोप्ने वा पानी खन्याएर आगो निभाउनुपर्ने डा. राईले बताए ।
जलनको मुख्य कारण गरिबी
डा. राईका अनुसार नेपालमा जलनको मुख्य कारण गरिबी हो । विपन्न वर्गका मानिसहरू बस्ने ठाउँ, खाना पकाउने विधि र सुरक्षाका उपायको अभावका कारण जलनका बढी सिकार हुने गरेका उनको भनाइ छ ।
‘हामीले विभिन्न क्लब र कलेजहरूमा जनचेतना जगाउने काम त गरिरहेका छौँ, तर जो मानिस साँच्चै जोखिममा छन्, उनीहरूसम्म रेडियो, टिभी वा मोबाइलको पहुँच पुग्न सकेको छैन,’ डा. राईले भने, ‘मिडियाले पनि यस्ता घटनापछि समाजमा कस्तो नकारात्मक असर पर्छ र प्राथमिक उपचार कसरी गर्ने भन्नेजस्ता सकारात्मक र चेतनामूलक समाचारलाई बढी प्राथमिकता दिनुपर्छ ।’
नेपालमा जलन उपचारको अवस्था
विगतमा जलन भएका बिरामीमध्ये सय जनामा २२ देखि २५ जनाको मृत्यु हुने गरेकोमा हाल प्रविधि, अनुसन्धान र दक्ष जनशक्तिका कारण मृत्युदर घटेर १० प्रतिशतमा झरेको डा. राईले जानकारी दिए ।
उनका अनुसार कीर्तिपुर अस्पतालमा विगत तीन वर्षदेखि लगातार देशका ७५ वटै जिल्लाबाट बिरामीहरू उपचारका लागि आउने गरेका छन् । गत वर्ष मात्रै त्यहाँ ८ सय ७० जना जलनका बिरामी भर्ना भएका थिए ।
अस्पतालमा १८ जनाको विशेष टिम छ, जसमा ८ जना चिकित्सक तथा नर्सहरू दिनरात जलनकै उपचारमा खटिएका हुन्छन् । अरु ७ जनाको टोली जलन सम्बन्धी अनुसन्धानमा मात्रै सक्रिय छ ।
डा. राईका अनुसार कुनै ठूलो विपद् हुँदा १८ जनाकै टोली जलनका बिरामीको उपचारमा केन्द्रित हुन्छ । कीर्तिपुर अस्पतालको यो विज्ञताकै कारण यहाँ अस्ट्रेलिया, अमेरिका, बेलायत र इटाली जस्ता देशबाट विशेषज्ञहरू सिकाउन आउँछन् भने पाकिस्तान, अफगानिस्तान, भुटान र अफ्रिकी देशका चिकित्सकहरू सिक्न आउने गरेका छन् ।












प्रतिक्रिया