काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट विद्रोह गरी बाहिरिएका प्रभावशाली नेता डा. धवलशमशेर राणा र ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँबीच नयाँ राजनीतिक शक्ति निर्माणका लागि भएको दुई महिना लामो सहकार्य औपचारिक रूपमा टुंगिएको छ।
शुक्रबार डा. राणाले प्रसाईँको सहमति र हस्ताक्षरबिनै निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता गर्ने प्रक्रिया अगाडि बढाएसँगै राजावादी शक्तिभित्र अर्को फुटको शृंखला थपिएको हो।
गएको जेठ २२ गते राणा र प्रसाईँबीच ११ बुँदे सहमति भएपछि एउटै पार्टी निर्माणको गृहकार्य सुरु भएको थियो।
प्रारम्भिक समझदारीअनुसार डा. राणा अध्यक्ष र प्रसाईँ ‘सर्वोच्च नेता’ रहने भनिएको थियो। तर, दल दर्ताको अन्तिम चरणमा नेतृत्वको वरीयता र कार्यकारी अधिकारलाई लिएर दुई पक्षबीच सहमति हुन सकेन।
प्रसाईँले पार्टीको पहिलो नम्बरको वरीयता र उम्मेदवार चयन गर्नेजस्ता कार्यकारी अधिकार आफ्नो हातमा हुनुपर्ने अडान राख्दै आएका थिए। राणाले भने उक्त अडान स्वीकार गरेनन्।
यसका साथै, प्रसाईँ पक्षले भदौ ५ गतेको साइत प्रस्ताव गरे पनि राणा पक्षले साउन २९ गते नै दल दर्ता गर्ने निर्णय लिएपछि दुई पक्षबीचको दूरी थप बढेको हो।
समझदारीबाट टाढिएपछि प्रसाईँले राणामाथि राजसंस्था पुनःस्थापनाको वास्तविक चाहना नराखेको आरोप लगाएका छन्।
नेपालका राजावादी राजनीतिक शक्तिहरूमा यो विभाजन नयाँ भने होइन। नेपालमा पूर्वपञ्च र राजावादी शक्तिहरूको इतिहास विभाजन र अल्पकालीन एकताको एउटा निरन्तर दुष्चक्रममा फसेको देखिन्छ।
वि.सं. २०४७ जेठ १५ गते राप्रपा स्थापना भएकै दिन सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दबीच नेतृत्वको विवादका कारण दुईवटा राप्रपा घोषणा भएका थिए।
३६ वर्षको इतिहासमा राप्रपा र यसबाट फुटेका समूहहरू १० पटकभन्दा बढी विभाजित भइसकेका छन्। विशेष गरी सत्ताको खेल, प्रधानमन्त्री पदको लुछाचुँडी र पछिल्लो समय नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै यो समूह पटक–पटक फुट्दै र जुट्दै आएको छ।
२०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ सिट जितेको राप्रपा गत फागुन २१ गते भएको निर्वाचनमा केवल पाँच सिटमा खुम्चिन पुग्यो।
पार्टीको एजेन्डालाई जनमतमा बदल्न नसकेको भन्दै राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमाथि प्रश्न उठाउँदै नयाँ दल खोल्ने प्रक्रिया थालेको थियो।
डा. राणाले शुक्रबार नै निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया अगाडि बढाएपछि दुर्गा प्रसाईँले पनि आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन्।
यससँगै राजतन्त्र पुनःस्थापनाको एजेन्डा बोकेका शक्तिहरूबीच फेरि एकपटक नेतृत्व, कार्यकारी अधिकार र राजनीतिक रणनीतिलाई लिएर विभाजन देखिएको छ। पछिल्लो घटनाले राजावादी शक्तिहरूबीचको एकता कति टिकाउ हुन्छ भन्ने प्रश्नसमेत उठाएको छ।












प्रतिक्रिया