‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’ « Khabarhub

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’



काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पुष्पा भुसाल उपसभापति बनिन् । निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनपछि सभापति बनेका गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिइसकेका छन् । तर, त्यसअघि सभापतिस रहेका शेरबहादुर देउवा बिहीबार पाँच महिनाको विदेश बसाइपछि नेपाल फर्केर पार्टी सभापतिकै हैसियतमा छुट्टै कार्यालय खडा गरेर बसेका छन् ।

चुनदेवीमा पार्टी कार्यालय बनाएर बसेका देउवाले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरेर अभिभावकीय भूमिका खेल्दै पार्टी एकीकरणतर्फ लाग्नुपर्ने भुसालको सुझाव छ । खबरहबसँगको कुराकानीका क्रममा उनले देउवा नेपाल आएर सभापतिकै हैसियतमा चुनदेवीमा बस्नुहोला भन्ने आफूहरूले कल्पना नगरेको बताइन् । उनी देउवाहरु कांग्रेसको संस्कारभन्दा बाहिर गएको विश्लेषण गर्छिन् ।

भुसाल जसरी पनि कांग्रेसले मंसिरमा १५औँ महाधिवेशन सम्पन्न गर्ने दिशामा अगाडि बढेको बताउँछिन् । हामीले नेपाली कांग्रेसको उपसभापति पुष्पा भुसालसँग कांग्रेसको पछिल्लो राजनीतिक अवस्थाका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

आजको राष्ट्रिय भेलामा तपाईंहरूलाई निम्तो थिएन ?

छैन, हामीलाई कुनै पनि हिसाबले जानकारी छैन । भेला गर्न पाइन्छ, तर त्यो भेलाले पार्टीलाई असर पुर्‍याउनु भएन । हामीले भेलाबारे धेरै चासो दिएका छैनौँ, तर पार्टीलाई असर पुर्‍याउने गतिविधि भएमा त्यो दुःखद हो । भेलाले पार्टी संगठनलाई कमजोर बनाउँछ भने त्यो दुःखद हुन्छ ।

पार्टीकै नेता–कार्यकर्तालाई विभाजन गराउने भेला चाहिँ हामी स्वीकार गर्न सक्दैनौँ । शान्तिपूर्ण रूपमा उहाँहरूले भेला गर्न पाउनुभयो । पार्टी विभाजनको सन्देश भेलाबाट गयो भने त्यो दुःखद पक्ष हुन्छ । भेलाले संगठन र पार्टीमा लागेका साथीहरूलाई निराशाको सन्देश दिनु हुँदैन ।

हिजो शेरबहादुर देउवा नेपाल आएपछि कांग्रेस सभापतिकै हैसियतमा चुनदेवी जानुभो, कांग्रेस त दुई वटा भएछ नि ?

होइन, निर्वाचन आयोग र सर्वोच्च अदालतले बोलिसकेपछि अरू गतिविधि गर्नु असंवैधानिक कुरा हो । सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णयलाई त सबैले मान्नुपर्‍यो नि । हामी कानुनी शासनका कुरा गर्छौँ । स्वतन्त्र न्यायपालिकाका कुरा गर्छौँ । कांग्रेसको यो सिद्धान्त भन्छौँ, तर अदालतले नै गरेको निर्णयलाई हामी किन मान्दैनौँ ?

अदालतले नै निर्णय गरिसकेको कुरामा अन्यथा तरिकाले चल्नु कत्तिको जायज हो ? हामीले न्यायपालिकालाई नै विश्वास गर्दैनौँ भन्ने पुष्टि यसले गर्छ होला । अरू सभापति न संविधानले, न विधानले, न सर्वोच्च अदालतको फैसलाले चिनेको छ । मैले यसमा धेरै आफ्ना विषयहरू उठाउन चाहन्नँ ।

तर, मेरो कुरा के हो भने सर्वोच्च अदालतले निर्णय गरिसकेपछि त्यो निर्णयलाई स्वीकार गर्नुपर्दछ । पूर्वसभापतिज्यू नेपाल आउनुभएको छ । पार्टी विभाजनतर्फ होइन, एकीकरणतर्फ लागिदिनुहोस् ।

किन अर्को पक्षले गगन थापालाई पार्टी सभापति स्वीकार नगरेका होला ?

नेतृत्व स्वीकार गर्ने, नगर्ने यो पार्टीभित्रको आफ्नो संस्कार हो । यसलाई हामी हाम्रो संस्कार र व्यवहारभित्र लिएर आउँछौँ । विधान र प्रक्रियाअनुसार विशेष महाधिवेशन भयो र त्यसलाई मान्यता पनि आयोग र अदालतले दियो । तर, हामी पार्टीभित्र किन नमान्ने ? हामी कस्तो संस्कार र संस्कृति पार्टीभित्र भित्र्याउँदै छौँ ?

अदालतले सभापति भनेर विशेष महाधिवेशनलाई मान्यता दिएर नेतृत्व र सभापतिलाई स्वीकार गरिसकेपछि अब हामी कानुनी शासन, संविधान, स्वतन्त्र न्यायपालिका र न्यायपालिकाको निर्णय स्वीकार गर्ने भएकाले अरू विषयमा प्रवेश गर्न जरुरी छैन ।

तपाईंहरूलाई उहाँले यतिसम्म गर्नुहोला भन्ने फिल भएको थियो ?

होइन, यो त स्वतन्त्र न्यायपालिकामाथिको विश्वास गुमाएको अवस्था हो नि त । हामी त पार्टीको विधान, नीति र सिद्धान्तलाई मान्ने भएकाले न्यायपालिका र अदालतको निर्णयविपरीत उहाँहरू जानुहोला, चल्नुहोला भन्ने चाहिँ थिएन । किनभने यो कांग्रेसभित्रको संस्कार पनि होइन ।

सभापति नेपाल आएपछि चुनदेवीमा पार्टी कार्यालय खोलेर उहाँले छुट्टै सभापतित्व लिने विषयमा जानकारी थिएन ?

न्यायपालिका र आयोगको निर्णयलाई अस्वीकार गर्दै सभापतिकै भूमिकामा देउवा दाइ बस्नुहोला भन्ने महसुस थिएन । नेपाली कांग्रेसको नेता, नेतृत्व र निर्णय, नीति मान्ने व्यक्ति भएका हिसाबले हामीले यस्तो चाहिँ सोचेका थिएनौँ ।

कानुनी शासनभन्दा बाहिर गएर नेताहरूले काम गर्नुहुन्छ भनेर कसरी थाहा पाउने र ? हामी उहाँहरूबाट स्कुलिङ भएर आएको हो। तर उहाँहरूको व्यवहार चाहिँ यस्तो होला भन्ने थिएन । यस्तो गर्नुहोला भनेर त सोच्ने विषय नै भएन नि ।

यी गतिविधिलाई सामान्य ढङ्गले हेर्नुभएको छ कि के हो, अब तपाईंहरूको योजना के छ ?

हामी १५औँ महाधिवेशनको तयारी अगाडि बढिसकेका छौँ । १५औँ महाधिवेशन सफल गराउनुपर्ने जिम्मा छ । मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने विधानले दिएको समयसीमा हो । पार्टीको विधानले पनि एउटा कार्यविधि तोकेको छ र १५औँ महाधिवेशन सबैका निम्ति खुला पनि छ ।

यसलाई बृहत् रूपमा सबैलाई समेटेर महाधिवेशनमा जाने, स्वस्थ प्रतिस्पर्धा गर्ने र कसैलाई निषेधको राजनीति नगर्ने तथा महाधिवेशनको वातावरण सिर्जना गर्ने काम हाम्रो हो र हामी त्यसकै सिलसिलामा छौँ ।

त्यसका लागि पार्टीमा बढीभन्दा बढी सहभागिताका लागि पार्टी नेतृत्वले आफ्नो पहल गरिरहेकै छ । हाम्रो मिसन भनेको १५औँ महाधिवेशन हो । त्यसमा सबैजना जोडिनुहोला र जोडिनुहुन्छ भन्नेमा विश्वस्त छौँ ।

उहाँ नेपाल फर्किएपछि तपाईँहरूसँग संवादमा जुट्नुभएको छ कि छैन ?

व्यक्तिगत र समूहगत रूपमा विभिन्न तरिकाले छलफल त चलिनै रहेको छ । तर उहाँसँग ठ्याक्कै भेट भएर छलफल भएको छैन । १५औँ महाधिवेशनलाई सफल कसरी बनाउने र १५औँ महाधिवेशनमा मिलेर कसरी जाने भन्ने सन्दर्भमा छलफल भइरहेको छ ।

पूर्वसभापति फर्किनुभयो, उहाँको हामीले पूर्ण स्वास्थ्यलाभको कामना गरेका छौँ । हिजोको बैठकमा पनि गर्‍यौँ । उहाँले अभिभावकीय भूमिका खेल्नुपर्छ भन्ने हाम्रो अपेक्षा र अनुरोध छ । तर के हो भने संविधान, विधान र स्वतन्त्र न्यायपालिकाको निर्णयलाई हामी सबैले स्वीकारेर अगाडि बढ्नुपर्छ । सभापतिज्यूले पनि स्वीकार्नुपर्छ ।

देउवालाई सल्लाह दिने व्यक्तिले पनि मिल्न दिएनन् भन्ने कुराहरू आइरहेका छन् । उहाँहरूलाई के अनुरोध गर्न चाहनुहुन्छ ?

हामी संविधान मान्ने, संविधानले दिएका उपलब्धिलाई बचाउन सक्ने र संविधानले दिएका उपलब्धिलाई बचाउन एकजुट हुनुपर्ने बेला हो। पार्टीको संगठन दरिलो बनाउनुपर्ने र पार्टी आफैँ मजबुत बन्नुपर्ने बेला यही हो । चारैतिर छरिएका कार्यकर्तालाई एकीकृत गरेर महाधिवेशनकेन्द्रित गतिविधिमा लाने बेला पनि यही हो । पार्टीमा सबैलाई समेटेर निषेध र गुट–उपगुटको राजनीतिलाई अन्त्य गर्नुपर्ने बेला यही हो ।

हामीले विगतमा पनि गुट–उपगुट चलाएर नै पार्टीलाई ध्वस्त बनाउने प्रयत्न गरेका थियौँ । निर्वाचनमा त्यसको परिणाम देखिसकिएको छ । संविधानलाई मान्ने, कानुनी शासन मान्ने, स्वतन्त्र न्यायपालिकालाई मान्ने भएकाले हामी यही परिधिभित्र रह्यौँ भने पार्टी मजबुत हुन्छ । पार्टीलाई कमजोर गराउने छुट कसैलाई पनि छैन । सबैलाई समेटेर अगाडि बढ्न साथ दिन अनुरोध गर्दछु ।

पार्टी एकीकृत बनाउनका लागि पूर्वसभापति देउवा दाइले अभिभावक भएर भूमिका खेलिदिनुहोस् भन्ने म सुझाव दिन्छु । उहाँहरूले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गरेर छलफलमा लचिलो भइदिएको अवस्थामा पार्टी जुरुक्कै एकजुट भएर जान्छ । देउवा दाइले पार्टीलाई विभाजनतर्फ नलागेर एकीकरणतर्फ लागिदिनुपर्छ ।

तपाईंहरू पनि लचक हुनुभएन रे, उहाँहरूलाई समेट्नै खोज्नुहुन्न रे ? पार्टी विभाजन त गगन थापाले गर्दैछन् भन्ने आरोप तपाईंहरूमाथि पो लागिरहेको छ नि ?

पार्टीको सभापतिले कसरी पार्टी विभाजन गर्नु ? उहाँले त पार्टी मजबुत कसरी बनाउने, संगठन कसरी बलियो बनाउने, सबैलाई कसरी समेट्ने भन्ने कुरा हो । पार्टी विभाजन त कुनै पनि हालतमा गर्नु हुँदैन ।

पार्टीका नेताहरूले गरेका संघर्ष, योगदान, पाएका अवसर, राम्रा–नराम्रा पाठहरूलाई फेरि समीक्षा गर्दै नयाँ पुस्ताले खोजेको परिवर्तनको नेतृत्व गरेर पार्टी संगठन मजबुत बनाउनका लागि गगन थापाले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसलाई सबैले समर्थन गर्नुपर्छ ।

किनभने कांग्रेसको मिसन त क्लियर छ । अर्कोतिर १५औँ महाधिवेशनमा सबैलाई प्रतिस्पर्धा गर्न बाटो खुला छ । कसैलाई निषेध गरिएको छैन । विश्वासको वातावरण कसरी सिर्जना गर्ने भनेर छलफल भइरहेको छ ।

त्यसकारण मलाई लाग्छ, त्यस्तो कुनै गुट बनाउने, पार्टी संगठन कमजोर बनाउने किसिमका कामहरू त पार्टी सभापतिबाट भएको देखिएको छैन ।

अब चार महिनाभित्रमा अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता हामीलाई छ । हामी सबैजना अधिवेशनकै तयारीमा लाग्नुपर्ने हुन्छ ।

उहाँहरू नजोडिए पनि तपाईंहरू चार महिनाभित्रमा महाधिवेशन गर्ने पक्षमै हुनुहुन्छ ?

हामी संविधानको समयसीमाभन्दा बाहिर जान सक्दैनौँ । हामीले महाधिवेशन जतिखेर सम्पन्न गर्नुपर्छ भनेर विधान र नियममा तोकिएको छ, त्यसअनुसार गर्छौँ ।

उहाँहरू जोडिने, नजोडिने सवाल नै छैन नि । १५औँ महाधिवेशनको कुनै पनि कार्यविधिमा कहीँ पनि रोकटोक गरिएकै छैन । अहिले पनि के हो भने सबैलाई बृहत् एकता गरेर विश्वासको वातावरण बनाएर अधिवेशनमा जाऔँ भन्ने हाम्रो मिसन त्यही छ ।

त्यसका लागि छलफल, संवाद र आवश्यक परेका कुराकानीहरू भइरहेका छन् । अहिले हामी न्यायपालिका र निर्वाचन आयोगको निर्णय मान्दैनौँ, संविधान नै मान्दैनौँ भन्ने छुट छैन । राजनीतिक दल पनि संविधानको एउटा अंग नै हो ।

अब हाम्रो तयारी १५औँ महाधिवेशनकै हो । र अहिले १५औँ महाधिवेशन गर्नका लागि पार्टी नेतृत्व र पार्टी चाहिँ एकदम उदार भएर अगाडि बढेको छ । हामी सबैलाई समेटेरै १५औँ महाधिवेशनमा जाने तयारीमा छौँ ।

यो १५औँ महाधिवेशनमा सबैलाई एकजुट बनाएर लैजाने मूल सुत्र चाहिँ के हो ? समाधानको उपाय के हो ?

पहिला त संविधान, विधान र न्यायपालिकाको निर्णय मान्नुपर्छ । १५औँ महाधिवेशनमा भाग लिनका लागि विश्वासिलो वातावरण तयार गर्न छलफल अगाडि बढाउने हो । सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नुपर्‍यो, नेतृत्व स्वीकार गर्नुपर्‍यो ।

संगठन बलियो बनाउन सकारात्मक ढङ्गले सबै अगाडि बढ्नुपर्‍यो । संगठन मजबुत बनाउन सकारात्मक अभ्यास देखाएनौँ भने पार्टी संगठन आफैँ कमजोर हुन्छ। त्यस्तो छुट त हामीलाई छैन नि । त्यसकारण हामी केन्द्रीय नेतृत्व र सबै पार्टीमा भरपूर एकता गर्ने र एक सूत्रमा बाँध्ने अभियानमा छौँ ।

अहिलेका पदाधिकारीले पुराना नेताको कुरै सुन्दैनन् भन्ने चर्चा हुन्छ, तपाईं पनि उपसभापति हुनुहुन्छ, पुराना नेताको कुरै नसुन्नुभएको हो ?

होइन, त्यो सम्भवै छैन । पुरानो नेतृत्वलाई स्वीकार नगर्ने र उहाँहरूलाई सम्मान नगर्ने हाम्रो राजनीतिक संस्कार होइन । हामीले उहाँहरूलाई स्वीकार नगर्ने हो भने त हामी कस्तो संस्कार सिक्दै छौँ र ?

त्यस्तो भावना, त्यस्तो किसिमको अभ्यास अहिलेको केन्द्रीय समितिले कतै गरेको पनि छैन र गर्नु पनि हुँदैन । हामी उहाँहरूलाई सधैँ सम्मान गर्छौँ र हामी पनि उहाँहरूबाट त्यही अपेक्षा राख्छौँ ।

पार्टीको पूर्वसभापतिलाई एयरपोर्टमा समेत स्वागत गर्न नजाने ? उहाँहरूले सम्मान गर्ने भए त एयरपोर्टमा स्वागत गर्न जानुहुन्थ्यो र पार्टी कार्यालय नै जाऔँ भन्ने अनुरोध गर्नुहुन्थ्यो नि भन्ने कुरा पनि उठेको छ नि ?

हाम्रो पार्टीका पूर्वसभापति पार्टीका अभिभावक हुनुहुन्छ । उहाँको पूर्ण स्वास्थ्यलाभको कामना पनि हामी गरिरहेका छौँ । उहाँलाई अब भेट्ने र कुरा गर्ने भन्ने विषय त हाम्रो संस्कारभित्रकै कुरा हो ।

पार्टी सभापति गगनकुमार थापाले पनि उहाँलाई भेट्ने, कुरा गर्ने अवस्था रहन्छ नै । नभेट्ने कुरै हुँदैन । हामी पनि भेट्छौँ ।

हाम्रो अभिभावकका रूपमा रहनुभएका नेतालाई पार्टी मजबुत गराउने किसिमबाट उहाँले अभिभावकीय भूमिका खेल्नुपर्छ । यो समूह, त्यो समूहभन्दा पनि उहाँ त अब अभिभावकीय रूपमा अगाडि बढ्नुपर्ने समय आइसकेको छ ।

उहाँलाई विवादको रूपमा बनाउने, उहाँको नाम अगाडि सारेर पार्टीलाई कमजोर बनाउने काम कसैले पनि गर्नु हुँदैन । कसैले गर्नुपर्ने आवश्यकता छ जस्तो पनि मलाई लाग्दैन ।

उसो भए पूर्वसभापति शेरबहादुर देउवा नेपाल आउँदै हुनुहुन्छ भन्ने जानकारी थिएन ?

थिएन । हामीले यस्तै सञ्चारमाध्यमहरूबाट मात्रै सुनेका हौँ । आधिकारिक रूपमा हामीलाई केही पनि जानकारी थिएन ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ४ : ०० बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर