काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले दिएको आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याललाई भेटेका छन्।
उनले सुनारले संसदीय मर्यादासमेत भुलेर आफूविरुद्ध संसदीय समितिको बैठकमा दिएको अभिव्यक्ति र गरेको व्यवहारबारे गम्भीर ध्यानाकर्षण गराएका हुन्।
कार्की नेपाल प्रहरीका अन्य उच्च अधिकारीसहित सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । उता सुनार केही दिनयता गुमनाम जस्तै छन्। प्रधानमन्त्री वालेन्द्र शाहनिकट मानिने खगेन्द्रले आईजीपीलाई अमर्यादित व्यवहार गरेपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार कडा आपत्ति जनाएका छन्।
सांसद सुनारले समितिको बैठकमा प्रहरीको पोसाक तथा सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै आईजीपी कार्कीलाई पदबाट हटाएर छानबिन गर्नुपर्ने माग गरेका थिए। उनले आईजीपीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको दाबीसमेत गरेका थिए।

यसअघि शुक्रबार नै गृहमन्त्री गुरुङले पनि आफ्नो मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि संसदीय समितिमा भएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका थिए।
प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिको बैठकमा बोल्दै गुरुङले आफ्नो अनुपस्थितिमा गृहसचिव तथा प्रहरी प्रमुखमाथि गरिएको व्यवहार र प्रस्तुतिप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए।
रास्वपा सांसद सुनारलाई लक्षित गर्दै उनले उजुरी वा आरोपकै आधारमा कसैले पनि आफूलाई न्यायाधीश ठानेर अर्को व्यक्तिलाई दोषी करार गर्न नमिल्ने बताए।
‘उजुरीको भरमा कोही पनि न्यायाधीश बन्न मिल्दैन,’ गुरुङले भने। उनले वर्तमान सरकारको स्पिरिटअनुसार प्रहरी प्रशासन दिनरात काम गरिरहेको दाबीसमेत गरे।

के भएको थियो सार्वजनिक लेखा समितिमा?
गत बुधबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको पोसाक तथा सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे छलफलका क्रममा सांसद सुनार र आईजीपी कार्कीबीच चर्काचर्की भएको थियो।
बैठकमा सुनारले प्रहरीको पोसाक तथा सामग्री खरिदमा ठूलो अनियमितता भएको दाबी गर्दै गृहसचिव र आईजीपीलाई पदबाट हटाएर निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेका थिए।
सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको र चोरीमा संलग्न भनिएका व्यक्तिलाई प्रहरीले यातना दिइरहेको आरोपसमेत लगाएका थिए।
‘आईजीपी साबको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भयो र चोरीमा संलग्न भनिएका मान्छेहरूलाई प्रहरीको विशेष ब्युरोले लगेर यातना दिइरहेको छ,’ सुनारले भनेका थिए।
आरोप लागेका व्यक्ति पदमै रहेर आफूमाथिको छानबिन प्रभावित पार्न सक्ने उनको दाबी थियो।
‘आरोप लागेका व्यक्ति पदमै बसेर आफूविरुद्धको छानबिनमा प्रभाव पार्न सक्छन्। बर्दी लगाएर बसेर ल, मलाई छानबिन गर भन्न पाइँदैन,’ उनले भनेका थिए।
भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई समितिबाट हटाए पनि आपत्ति नहुने भन्दै सुनार बैठकबाट बाहिरिएका थिए। उनले आरोप लगाएपछि बैठकबाट बाहिरिएको विषयमा अन्य सांसदहरूले समेत आपत्ति जनाएका थिए।
नेकपाका सांसद वर्षमान पुनले आरोप लगाएर बैठकबाट बाहिरिन नमिल्ने बताएका थिए। राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले आईजीपीको राजीनामा माग्नु र असभ्य शैलीमा प्रस्तुत हुनु संसदीय अनुशासनविपरीत भएको टिप्पणी गरेकी थिइन्।
सांसद गोविन्द पन्थी र महेन्द्रबहादुर शाहीले पनि सुरक्षा निकायका प्रमुखलाई समितिमा बोलाएर निलम्बनको माग गर्नु तथा अपराधीजस्तो व्यवहार गर्नु दुःखद् भएको बताएका थिए।
आरोपपछि आईजीपी पनि आक्रोशित
सांसद सुनारको आरोपप्रति आईजीपी कार्कीले बैठकमै कडा आपत्ति जनाएका थिए। प्रहरीमा रहेकै कारण आफूले सधैं आरोप र अपमान सहनुपर्ने हो भन्दै उनले प्रश्न गरेका थिए।
‘न त ३ करोड हराएको छ, न हाम्रा घरपरिवारका मान्छेहरू संलग्न छन्। प्रहरी भएकै कारणले सधैं सबै कुराको अबगाल खाइराख्नुपर्ने हो र?’ कार्कीले भनेका थिए।
उनले आफ्नो तथा परिवारका बैंक विवरण र कल रेकर्डसमेत जाँच गर्न चुनौती दिएका थिए।
‘मेरो र मेरो परिवारको बैंक डिटेल्स, कल रेकर्ड जे–जे हेर्नुपर्छ हेर्नुस्,’ उनले भनेका थिए, ‘उच्च पदमा बसेपछि कालकुट विष पिएर निलेर बस्नुपर्ने बाध्यता रहेछ।’
पोसाक खरिदको विवरण १५ दिनभित्र माग
बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको पोसाक तथा सामग्री खरिदसम्बन्धी सम्पूर्ण विवरण १५ दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको थियो।
समितिका सभापति भरतबहादुर खड्काका अनुसार निर्वाचनका बेला निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्दै उजुरी परेपछि आन्तरिक, प्राविधिक तथा आर्थिक मूल्यांकन, आपूर्तिको गुणस्तर परीक्षण, बिल तथा भुक्तानीलगायत सम्पूर्ण विवरण माग गरिएको हो।












प्रतिक्रिया