ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा « Khabarhub

ड्रागनफ्रुट खेतीबाट २५ लाख कमाउने ७२ वर्षीय मानबहादुर को अपेक्षा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–६ का मानबहादुर तामाङ उमेरले ७२ वर्ष पुगे । 

यो उमेरमा धेरैका लागि सामाजिक सुरक्षा भत्ता बुझेर घरमै आराम गर्ने समय भए पनि तामाङ भने अझै खेतबारीमै व्यस्त छन् । बुढेसकालमा पनि उनको कृषि कर्मप्रतिको लगाव र सक्रियता लोभलाग्दो छ ।

पछिल्लो ६ वर्षदेखि व्यावसायिक कृषिमा जोडिएका तामाङले जिल्लामै नयाँ मानिएको सिउडी प्रजातिको ड्रागनफ्रुट खेती गरेर आफूलाई सक्रिय तथा अगुवा कृषकका रूपमा स्थापित गरेका छन् । 

पाँच वर्ष अघिसम्म सुख्खा र बाँझो रहने जमिनमा कुनै विशेष अध्ययन, प्राविधिक ज्ञान र नियमित प्राविधिक अनुगमनबिनै सुरु गरेको ड्रागनफ्रुट खेती अहिले उनको आम्दानीको मुख्य स्रोत बनेको छ ।

१० रोपनी क्षेत्रफलमा गरिएको ड्रागनफ्रुट खेतीबाट उनले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । 

खेती सुरु गरेको दुई वर्षमै फल उत्पादन गर्न सफल भएका तामाङले गत वर्ष ड्रागनफ्रुट बिक्रीबाट खुद १८ लाख रुपैयाँ आम्दानी गरेका थिए । 

यस वर्ष पहिलो र दोस्रो लटमा गरी १३ लाख रुपैयाँ बराबरको फल बिक्री भइसकेको उनले बताए । अझै करिब १२ लाख रुपैयाँ बराबरको ड्रागनफ्रुट पाक्ने क्रममा रहेको उनको भनाइ छ ।

खडेरीले उत्पादन घटाए पनि २५ लाखभन्दा बढी आम्दानीको अपेक्षा

नाम्दुमा उत्पादित ड्रागनफ्रुट जिल्लामै नयाँ र स्वादिलो फलका रूपमा परिचित हुँदै गएको छ । 

स्थानीय बजारमा यसको माग बढ्दै गएपछि उत्पादन गर्न आफूलाई थप हौसला मिलेको तामाङ बताउँछन् ।

‘सुरुसुरुमा लगानी नै डुब्ने हो कि भन्ने चिन्ता लाग्थ्यो। अहिले भने लगानीअनुसारको प्रतिफल पाउन थालेको छु,’ तामाङले भने ।

गत वर्ष ६ लटसम्म ड्रागनफ्रुट उत्पादन गरेका तामाङले यस वर्ष भने लामो समय परेको खडेरीका कारण उत्पादनमा असर परेको बताए । 

वैशाखपछि परेको खडेरीका कारण करिब ६ लाख रुपैयाँ बराबरको ड्रागनफ्रुटमा क्षति पुगेको उनको भनाइ छ । 

समयमै फूल नफुलेपछि दुई लट ढिलो भएकाले यस वर्ष चार लट मात्र उत्पादन लिन सकिने उनले बताए ।

यस वर्ष करिब ३० लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेका तामाङले खडेरीका कारण लक्ष्य केही घट्ने भए पनि २५/२६ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरेका छन् ।

तामाङले उत्पादन गरेको ड्रागनफ्रुट प्रतिकिलो ४ सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । 

नाम्दुमा उत्पादित फल वैतेश्वरको मैनापोखरी बजारसँगै जिरी, तामाकोशी र सदरमुकाम चरिकोटसम्म पुग्ने गरेको छ । 

बसेर खाने उमेरमा पनि कृषि कर्ममा सक्रिय रहँदा आफूलाई जिल्लामै अगुवा किसानका रूपमा चिनाउन सफल भएकोमा तामाङ खुसी छन् । 

उमेरले काम गर्न छेक्दैन भन्ने उदाहरण बनेका तामाङको मेहनत र लगनशीलता जिल्लाका अन्य किसानका लागि समेत प्रेरणाको स्रोत बनेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ११ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर