बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन « Khabarhub

बूढीगण्डकी बाढी : उत्तरी गोरखाको पाँचहजार घर विद्युत् विहीन


२८ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घर विद्युत्विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो ।
 
बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। 

गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले जानकारी दिए ।

‘बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,’ उनले भने, “आइतबार बिहान ४ः०० बजे बाढी आएदेखि यो भेगमा बिजुली छैन ।’

विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटा बताउँछन्। उनका अनुसार विद्युत् र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । निजी सङ्घसंस्थाहरू र स्थानीय नागरिकहरू पनि मर्कामा परेका उनको भनाइ छ ।
 
उनी भन्छन्, ‘बाढीले पुल बगायो, बाटो बगायो, बिजुली पनि बगायो । अहिलेको डिजिटल युगमा बिजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरूको ज्यान जोगिएको हो ।’

फिलिमको केही घरहरूमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताए। 

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउँछिन्।

‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो,’ उनले भनिन्, ‘झनै बिजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानवीय क्षति भने भएको छैन ।’ 

उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा बिजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाइ छ ।
 
बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको सात वटै वडाका करिब चार हजार घर विद्युत्विहीन बनेका पालिकाको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिए । विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्‍याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उनले बताए। 

‘बाढीले यहाँको बिजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो,’ उनले भने। 

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत्विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए । उनका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत् सेवा अवरुद्ध बनेको छ ।
 

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ४ : ५२ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ