खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी « Khabarhub

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी



राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर विवादका कारण निलम्बनमा पर्ने अवस्थामा छन्। उनको सांसद पद र पार्टीको केन्द्रीय सदस्य खारेज हुने दाबी गरिन्छ। पछिल्लो समय बाहिर आएको अडियोमा सत्यता भएको खण्डमा उनी निलम्बनमा पर्छन्। सुनुवारले एक महिलामाथि सुन्नै नसकिने किसिमको अश्लील गालीगलौज, दुर्व्यवहार र हिंसा गरेको देखिन्छ। त्यो अडियो सार्वजनिक हुँदा उनले भने ‘एआई’बाट निर्माण गरिएको अडियो हो भन्ने किसिमले पन्छिरहेका छन्। तर त्यो घटना सत्य भएको दाबी गरिँदै आएको छ। अहिले रास्वपाको अनुशासन आयोग र नेपाल सरकारका निकाय लगायतले उनीमाथि अनुसन्धान गरिरहेको दाबी पार्टी नेत्री लिमा अधिकारी गर्छिन्। उनी चार-पाँचवटा अडियो आएको र ती आफूले सुन्नै नसकेको बताउँछिन्। अडियोमाथि छानबिन भइरहेकाले दोषी भएको अवस्थामा खगेन्द्र ‘राइट टु रिकल’ प्रक्रियामार्फत फिर्ता हुने उनको भनाइ छ । रास्वपा सांसद अधिकारीसँग खगेन्द्र सुनारको अडियो प्रकरणको विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

प्रतिनिधिसभा सांसद खगेन्द्र सुनुवारको विषयमा अहिले के अनुसन्धान भइरहेको छ ?

हामी एउटा लोकतान्त्रिक राजनीतिक पार्टी हौँ। हाम्रो विधि-विधान छँदैछ। एउटा पद र मर्यादामा बसेको सांसद, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर निर्वाचित भएको सांसद। उहाँमाथि लागेको यो गम्भीर आरोप हो। यस विषयमा पार्टी एकदमै गम्भीर बनेको कुरा त यहाँहरूले थाहा पाइहाल्नुभयो। पार्टी कति गम्भीर छ भन्ने कुरा त एउटा पार्टीको महामन्त्रीले जारी गरेको विज्ञप्तिबाटै थाहा हुन्छ।

विधि-विधान र कानुनमाथि कोही पनि छैन। यसको निष्पक्ष छानबिन हुनुपर्छ। हाम्रो पार्टीको आन्तरिक अनुशासन आयोगले उहाँमाथि लागेको आरोप जुन अडियो आयो, त्यसको पनि घनीभूत रूपमा छानबिन गरिरहेको छ। परेको खण्डमा सरकारले पनि उहाँमाथि छानबिन गरोस्। यदि उहाँ त्यो आवाजमा दोषी ठहरिनुभयो भने कारवाही हुन्छ । महिलामाथि भएको हिंसा र दुर्व्यवहारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि किसिमले सहँदैन। उसलाई कारबाही हुन्छ। कुनै पनि महिलामाथि हुने दुर्व्यवहारप्रति पार्टीको शून्य सहनशीलता छ। महिलाको विषयमा अझै बढी सजग हुनुपर्छ, किनभने यस्ता घटनाहरू दिनदहाडै भइरहेका छन्। समाज यतिसम्म विकृतितिर गइरहेको छ कि समाज कहाँबाट अगाडि बढिराखेको छ, कसरी गइरहेको छ भन्ने कुराले पनि प्रभाव पारेको छ।

योभन्दा पनि एउटा सार्वजनिक व्यक्तित्व, नेता, राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद तथा केन्द्रीय सदस्यमाथि जुन तरिकाको अडियो टेपको आरोप आयो, त्यसमा छानबिन हुन्छ। उहाँ दोषी ठहरिनुभयो भने कारबाही हुन्छ।

कारबाही गरिनुपर्छ भन्ने तपाईंहरू सबैको माग देखियो। तर किन ढिलाइ भइरहेको छ ? ढाकाकुमारको केसमा त चाँडै एक्सन लिनुभएको थियो ?

ढाकाजीको केसमा हामी २४ घण्टामै एक्सनमा गएका थियौँ। त्यसबेला तत्काल प्रमाण फेला परेको अवस्था थियो। यो घटना चाहिँ तीन-चार वर्षपहिला भएको कारणले गर्दा पार्टीको अनुशासन आयोग र सरकारी तर्फबाट पनि आफ्नै तरिकाले छानबिन भइरहेको हामीलाई जानकारी छ। यसमा चार-पाँच वर्ष अगाडिको घटना छ। त्यसमा पनि सत्यतथ्य अलिकति केलाउनुपर्ने अवस्था छ। यदि आवाजै उहाँको हो भने धेरै गम्भीर र सुन्नै नसकिने छ। चार-पाँचवटा भिडियो आए, हामीले राम्रोसँग सुन्नै सकेनौँ। मैले चाहिँ सुन्नै सकिनँ। यस्तो पनि बोलिन्छ र ? यस विषयमा एकदमै गम्भीर भएर मज्जाले नै अनुसन्धान गर्नुपर्छ।

त्यो अनुसन्धानमा उहाँले सार्वजनिक भिडियो गरेर ‘म अनुसन्धानलाई सहयोग गर्छु’ भन्नुभएको छ। त्यो राम्रो कुरा हो। अनुशासन निष्पक्ष ढङ्गबाट हुन्छ। सरकारले पनि अनुसन्धान गर्नुपर्छ, पार्टीले पनि सघाउँछ भन्ने हाम्रो कुरा थियो। सरकारी तर्फबाट पनि अनुसन्धान भइरहेको छ। यो विषय एकदम गम्भीर भएर आएको छ, यसबारेमा सत्यतथ्य छानबिन हुनुपर्छ। पीडितले न्याय पाउनुपर्छ, पीडकले सजाय भोग्नुपर्छ।

हिजोका दिनमा पनि खगेन्द्रमाथि विभिन्न प्रकारका आरोपहरू आउने गरेका थिए ? तर चुपचाप तपाईंहरूले निर्वाचनको बेला टिकट दिनुभयो भन्ने कुराहरू पनि उठेका छन् ?

त्यो बेलामा आएर पुष्टि हुने अवस्था थिएन, आरोप मात्रै लागिरहेको भन्ने खालका कुराहरू आए। आरोप आयो भन्दैमा उसलाई ब्रेकै लाउन सकिँदैन। पहिला उहाँमाथि निष्पक्ष छानबिन हुनुपऱ्यो। एउटा प्रोसेसमा जानुपऱ्यो नि! प्रोसेसमा गएपछि चाहिँ उहाँलाई कसैले दोष मात्रै लगाएको थियो, कानुनी प्रक्रिया अनुसार अगाडि बढेको थिएन। योपालिको केस हेर्नुहुन्छ भने एकदमै गम्भीर छ। यस्तो गम्भीर केसमा छानबिन भएन र उहाँमाथि साँच्चिकै दोषी प्रमाणित भएको अवस्थामा कारबाही भएन भने त यो त अचम्मको कुरा हुन्छ। त्यसकारण हामी कारबाहीको विषयमा गम्भीर छौँ। उहाँ यदि दोषी हो भने कारबाही हुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी लिएर जितेको उम्मेदवारको यस्तो बोली हुन्छ भन्ने त यो त अचम्मको विषय भयो! हुन त हरेक पार्टीमा राम्रा-नराम्रा व्यक्तिहरू हुन्छन्, तर उहाँ यतिसम्म सार्वजनिक व्यक्ति गिर्नुहुन्छ भन्ने चाहिँ हामीलाई महसुसै थिएन। यस विषयमा सत्यतथ्य सार्वजनिक हुनुपर्छ र कडा कारबाही हुनुपर्छ। अलिकति साधारण किसिमको अडियो भए ‘एक-दुई दिन छानबिन गरौँ’ भन्ने हुन्थ्यो होला। जुन किसिमले एकपछि अर्को, एकपछि अर्को अडियो आएको छ, यो त एकदमै समाजलाई नै भ्रमित पार्ने किसिमको छ। यस्तो किसिमको अडियो आउँदा पनि उहाँमाथि कारबाही नहुने भन्ने हुँदैन। अडियोमा एउटा बच्चाको पनि कुराकानी आएको छ। यसले चाहिँ अझ हामीलाई चिन्तित बनाएको छ। यद्यपि ती महिलाले “म होइन, मेरो आवाज होइन” भन्ने कुरा गर्नुभएको छ। के हो, त्यो विषय पनि राम्रोसँग बाहिर आउनुपर्छ। फरेन्सिक टेस्टको रिपोर्टहरू आउनुपऱ्यो।

दोषी देखियो भने उहाँलाई के गर्नुहुन्छ?

दोषी देखियो भने पार्टीको विधानमै ‘राइट टु रिकल’ लेखिएको छ। त्यसको राम्रोसँग कार्यान्वयन हुन्छ। पार्टीले सदस्यता खोसेपछि उहाँ रिकल हुनुपर्छ। यस्ता गम्भीर घटना घट्छन् र घट्लान् भनेरै पार्टीले ‘राइट टु रिकल’को अवधारणा अगाडि सारेको हो। विपिनकुमार आचार्यको संयोजकत्वमा बसेको ‘राइट टु रिकल’को टोलीले पनि केही कुराहरू अगाडि बढाएको छ।

दोषी देखिएको अवस्थामा उहाँ ‘राइट टु रिकल’को प्रक्रियामार्फत फिर्ता हुनुहुन्छ?

दोषी देखियो भने पार्टीले बकाइदा विधानमै लेखेको ‘राइट टु रिकल’को प्रक्रियाअन्तर्गत उहाँ फिर्ता हुनुहुन्छ। ‘राइट टु रिकल’ गर्ने अधिकार पार्टीसँग छ। पार्टीले सदस्यता खोसेपछि उहाँ रिकल हुनुपर्छ। र, यस्ता गम्भीर घटना घट्लान् भनेर नै पार्टीले ‘राइट टु रिकल’ भन्ने प्रक्रिया राखेको हो। यो सम्बन्धी काम गर्नका लागि महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा बनेको टिमले काम गरिरहेको छ। ‘राइट टु रिकल’को प्रोसेसमा काम अगाडि बढिसकेको छ। कुनै पनि अनुशासन आयोग अथवा जिम्मेवार निकायले उहाँलाई दोषी ठहर गर्‍यो भने उहाँमाथि कारबाही हुन्छ। पार्टी कुनै एक व्यक्तिका लागि सती जान सक्दैन, जानु हुँदैन। यस्तो व्यक्ति उहाँ नै हो भने उहाँलाई कडाभन्दा कडा सजाय हुनुपर्छ।

रिजल्ट चाहिँ कहिले आउँछ ?

अनुशासन आयोगलाई सक्रिय बनाएर चाँडोभन्दा चाँडो अनुसन्धान गरिदिनुपऱ्यो भनेर हामीले भनेका छौँ। यो दसैँअगाडि नै उहाँको विषयमा फाइनल आउँछ। राजनीतिमा लागेका व्यक्तिको सबैभन्दा महत्त्वपूर्ण स्वभाव भनेको उसको अनुशासन, आचरण र जीवनशैली हो। महिलामाथि हुने हिंसा र दुर्व्यवहार क्लियर हुनुपर्छ। उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर चुनाव लडेको मान्छे हो। पार्टीले कुनै पनि महिलामाथि हुने दुर्व्यवहार र हिंसामा, खगेन्द्र सुनुवार होस् या कसैलाई पनि यदि दोषी ठहरिसकेको छ भने उहाँलाई माफ गर्नु हुँदैन र माफ गर्दैन पनि। त्यो चाहिँ कारबाहीमा जान्छ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ७ : २१ बजे

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी