काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत् उनले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताए ।
सुनारले आफू र काल्पनिक महिलाबीचको संवाद भन्दै अडियो सार्वजनिक गरिएको उल्लेख गर्दै त्यस्ता प्रचार एआईलगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन् । आजसम्म सार्वजनिक भएका सबै आरोप झुटा रहेको उनको भनाइ छ ।
आफूमाथि उठेका प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गर्दै उनले छानबिन प्रक्रियामा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भनेका छन् ।
सुनारले यस्ता प्रचार र भ्रममा नपर्न आम नागरिकलाई आग्रहसमेत गरेका छन् ।
सोमबार जनआस्थाले उनको एक महिलासँगको अडियो संवाद सार्वजनिक गरेको थियो । त्यसपछि उनमाथि हाल पार्टीले छानबिन सुरु गरेको जनाएको छ ।














प्रतिक्रिया