काठमाडौँ – छठ पर्व नजिकिएसँगै काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा केराको किनमेल बढेको छ । छठ पर्वमा पूजाका लागि केरालाई प्रमुख सामग्रीका रूपमा प्रयोग गरिने भएकाले बजारमा बिहानैदेखि खरिदबिक्री बढेको हो ।
छठलाई लक्षित गर्दै व्यापारीहरूले विभिन्न जिल्लाबाट केरा ल्याएर बिक्री गरिरहेका छन् । बजारमा मकवानपुर, चितवन, नवलपरासी, कैलाली, बारा, सर्लाही, झापा, मोरङ र उदयपुरलगायत जिल्लाबाट केरा आउने गरेको व्यापारीहरू बताउँछन् ।

कुलेश्वर फलफूल बजारमा विगत २० वर्षदेखि व्यापार गर्दै आएका डम्बरबहादुर बस्नेतले यस वर्ष नेपाली केराको उपलब्धता राम्रो रहेको बताए । उनका अनुसार मकवानपुरको बागमती गाउँपालिका र उदयपुरको कटारीलगायत क्षेत्रबाट उत्पादित केरा बजारमा आइरहेको छ ।
विगतमा भारतीय केरासँग प्रतिस्पर्धा गर्न नेपाली किसानलाई कठिन हुने गरेको उल्लेख गर्दै उनले अहिले भारतीय केरा आयात बन्द भएपछि नेपाली उत्पादनले बजार पाउन थालेको बताए । नेपाली केराको उत्पादन लागत बढी हुने भएकाले मूल्यमा प्रतिस्पर्धा गर्न भने समस्या रहेको उनको भनाइ छ ।

बस्नेतका अनुसार छठका लागि उपभोक्ताले ठूला आकारका भन्दा साना केरा बढी खोज्ने गरेका छन् । उपभोक्ताको मागअनुसार व्यापारीहरूले विभिन्न आकारका केरा बिक्रीका लागि ल्याएका छन् ।
यस वर्ष ढुवानी भाडा बढेकाले केराको लागत मूल्यसमेत बढेको उनले बताए । सामान्य अवस्थामा २० हजार रुपैयाँ पर्ने गाडीको भाडा पर्वका बेला ३० हजार रुपैयाँसम्म पुगेको उनको भनाइ छ । बजारमा केराको गुणस्तर र आकारअनुसार प्रतिगोटा ८ देखि १२ रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

यता, उपभोक्ताले भने गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य महँगिएको गुनासो गरेका छन् । कलंकीबाट केरा किन्न कुलेश्वर बजार पुगेकी सोनुले यस वर्ष केराको मूल्य करिब दोब्बर महँगो भएको बताइन् ।
उनका अनुसार गत वर्ष ६०० देखि ८०० रुपैयाँसम्ममा पाइने केराको घरी यस वर्ष राम्रो गुणस्तरको किन्न एक हजारदेखि १२ सय रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ ।

छठ पर्वका लागि केरासँगै नरिवल, स्याउ, सुन्तला, उखु, भोगटे, अम्बालगायत फलफूलको पनि किनमेल हुने गरेको छ । पर्व नजिकिँदै जाँदा कुलेश्वर बजारमा फलफूलको कारोबार अझ बढ्ने व्यापारीहरूको अपेक्षा छ ।





















प्रतिक्रिया