एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् ।
सेनाको सञ्चार शाखा ‘इन्टर सर्भिसेज पब्लिक रिलेसन्स’(आईएसपीआर) द्वारा जारी विज्ञप्तिअनुसार, लडाकुहरूको उपस्थितिबारे गुप्तचर सूचना प्राप्त भएपछि उत्तर वजिरिस्तान जिल्लाका विभिन्न क्षेत्रमा सुरक्षा बलले कारबाही सञ्चालन गरेको थियो ।
विज्ञप्तिमा उल्लेख भएअनुसार, जिल्लाको अली खेल क्षेत्रमा भएको मुठभेडमा १२ जना लडाकु मारिएका थिए । त्यस्तै, मिर अली र दत्ता खेल क्षेत्रमा भएको छुट्टाछुट्टै कारबाहीमा दुई–दुई जना लडाकु मारिएका थिए ।
कारबाहीका क्रममा लडाकुहरूको साथबाट हातहतियार र गोलीगठ्ठासमेत बरामद गरिएको सेनाले जनाएको छ । आईएसपीआरका अनुसार, उक्त कारबाहीका क्रममा दुई पाकिस्तानी सैनिकले पनि ज्यान गुमाएका छन् ।
सेनाले मारिएका लडाकुहरू सर्वसाधारणमाथि आक्रमण गर्नेलगायत विभिन्न आतंकवादी गतिविधिमा संलग्न रहेको दाबी गरेको छ ।














प्रतिक्रिया