मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै « Khabarhub

मिथिला क्षेत्रमा ‘जुडशीतल’ पर्व मनाइँदै


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ । वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ ।

वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ । विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । उनका अनुसार आज ‘सतुवाइन’ विधिसँगै यो पर्व मनाउन सुरु भएको हो ।

मिथिलामा सौरमास गणनामा मनाइने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि पर्दछ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर यो पर्वलाई ‘जुडशीतल’ भनिएको प्राचार्य कर्णले जानकारी दिए । ‘पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ’, उनले भने ।

बढ्दो गर्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको प्राचार्य कर्णले जानकारी दिए । उनका अनुसार पर्वको दोस्रो दिन घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिने गर्दछन् ।

नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् ध्रुव रायले बताए । यही कारणले पर्वमा चना वा बदामको सातु, दाल, सोहिजन (मुँग) को तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहिआएको उनले जानकारी दिए ।

संस्कृतिविद् रायका अनुसार सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलाबासी एकापसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ । नयाँ वर्षको प्रारम्भमा धुलो र हिलो खेल्ने परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने उनको भनाइ छ ।

उनका अनुसार पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मधेसका मिथिला क्षेत्रका जिल्ला र सीमावर्ती भारतका सीतामढी, झञ्झारपुर, शिवहर र सीतामढीसहित जिल्लामा यो पर्व उल्लासका साथ मनाउने गरिन्छ । यो पर्वले आपसी सद्भाव, सहकार्य, समन्वयको सन्देश दिने पाका मैथिली सदस्य बताउँछन् । नयाँ वर्षको प्रारम्भ कृषिसँग जोडेर पूर्वजहरूले ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देश पर्वमार्फत् दिएका लोकपरम्परा र संस्कृतिका ज्ञाता कामेश्वर झाले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ७ : २६ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक