समयको घडामा आशाको पालुवा « Khabarhub

समयको घडामा आशाको पालुवा

पीडा लुकाएर हाँस्ने, मन बाँधेर बाँच्ने



आएर कहिल्यै ऋतु सिद्धिदैन, लाएर माया मुटु रित्तिदैन
स्वीकार मात्र गर एक बार, संसार तिम्रै अनि बार बार !

राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखनीमार्फत समय र प्रेमलाई जीवनको चास्नीमा घोलेका थिए । सुख–दुख, हाँसोे–आँसु, अँध्यारो–उज्यालो सम्भवतः जीवनको रंग भनेकै यही हो । सुगन्धविनाको फूल, तृप्ति र उद्देश्यविनाको प्राप्ति अनि प्रसन्नताविनाको जीवन व्यर्थ हुन्छ । मान्छेले सुख एकै वस्तुको प्राप्तिबाट पाउँछ भने दुःखका निम्ति धेरै चीजको संयोग मिल्नुपर्छ । धनभित्रको दरिद्रभन्दा गरिबीभित्रको दुःख लाखौँ गुना बेश छ ।

बा भन्थे– बाबु , जत्रो ओढ्ने छ , त्यतिमात्र खुट्टा पसार्नू । तर विडम्बना म सत्य चाहन्छु, असत्य छ । जीवन चाहन्छु, मरण छ । संयोग खोज्छु, वियोग छ । पूर्णता खोज्छु, जबर्जस्तसँग अपूर्णता आइलाग्छ । अनि मेरो मानसले भन्यो– हेर, संसार योजनामा चल्दैन । सन्तोषभन्दा ठूलो सफलता अर्को छैन ।

आर्थिक सम्पन्नताको चुली टेकेका बिल गेट्सको डिभोर्स भएको छ । डायनाको एक झल्को पाउन संसारले मरिहत्ते गर्‍याे, तर युवराज चार्ल्सलाई  त्यो सम्बन्ध जचेन । आइन्स्टाइनको मस्तिष्क मानव सभ्यताका लागि उपहार बन्यो । उनै महान्आत्मा ‘यहुदी’का नाममा जन्मभूमिबाट लखेटिए । स्वरकिन्नरी लतामंगेशकरको स्वरलाई दुनियाँले पूजा गर्‍यो । जीवनको उत्तराद्र्धमा उनले स्वमूल्यांकन गर्दै भनिन्– ‘अर्को जन्म हुन्छ भने मलाई लतामंगेशकर भएर जन्मन नपरोस् । यसभित्र कति पीडा छ, त्यसको अनुभव मलाई मात्र छ ।’ त्यसैले जे छ त्यसमा चित्त बुझाउनु, जे छैन त्यसका पछिल्तिर नकुद्नु जीवन बाँच्ने असली कला हो । अरुको आँगनको दुबो हरियो देखेजस्तै हो– उपलब्धीको मापन । त्यसमा कुनै सार छैन ।

प्रतिकूल परिवेशमा अनुकूलको जमिन टेक्नु नै सफलताको मापन हो । अहिले जस्तो मेट्रो ट्रेन वा बोइङ चढेर मदन ल्हासा गएको भए ठोकेर भन्न सकिन्छ– मुनामदन कृतिको रचना हुने थिएन । उहिल्यै लाली पाउडर जन्मिएको हुँदो हो त लैला– मजनु, रोमियो–जुलियट यस धरामा देखा पर्ने थिएनन ।

न्यूक्लियरको आविष्कार भएको थियो भने रामायण र महाभारतका ती ठेलीको जन्म नै हुने थिएन । मानिस समस्याका कारण आतिन्छन, रुन्छन, कराउँछन, गुनासो गर्छन् । तर समस्या त हरेक युगमा थियो । कपाल फुलेपछि बाउले छोरालाई सरक्क राज्य सुम्पने रामराज्यमा पनि समस्या थिए । समस्याको गाँठो फुकाउन नै त मानव सभ्यता यो धरामा निसृत भएको हो । यही सही प्रयासले नै त उसले आफैँले पत्याउन नसक्ने गरी आविष्कार गर्‍यो ।

शास्त्रले खबरदारी गरेको छ– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नु । लेख्नुअघि दुईपल्ट सोच्नु । केही काम गर्नुअघि तीनपल्ट सोच्नु । सधैं हेक्का राख्नु– घमण्डले मान्छे फुल्न सक्ला तर फैलिन सक्दैन । जो मान्छेसँग धनबाहेक अरु केही छैन, त्यो भन्दा महादरिद्र संसारमा अरु कोही हुँदैन ।

भविष्य रहेसम्म सपना देख्नुपर्छ । चुक घोप्ट्याएजस्तो रात चिर्न सके मात्र विहान आउँछ । आमाले शिशु जन्माएपछि प्रस्रव पीडा बिर्सिएजस्तै भत्किएका सपना टेकेर नयाँ सपना देख्नु जीवन हो शायद ।

भविष्य रहेसम्म सपना देख्नुपर्छ । चुक घोप्ट्याएजस्तो रात चिर्न सके मात्र विहान आउँछ । आमाले शिशु जन्माएपछि प्रस्रव पीडा बिर्सिएजस्तै भत्किएका सपना टेकेर नयाँ सपना देख्नु जीवन हो शायद । मान्छेको गुनासो र रहर पनि पानीमा लेखिएको अक्षरजस्तै रहेछन् । तरंगित त हुन्छ, स्थायी रहँदैन । पानीले पानीमा कसले पो पानी लेख्न सकेको छ र ? समयसँग जिस्किएर अनि जोरी खोजेर बिताएका ती दिन अब फिर्ता ल्याउन पक्कै सकिन्न ।

सुकर्मले ऊर्जा दिन्छ, दुष्कर्मले खोटी बनाउँछ । सुख खोज्न हिँडेको मानिस दुखको गर्तमा जाकिएको छ । सन्तान चाहिने सम्पतिले पुरिएको छ । सम्पति दरकार पर्ने सन्तानले घेरिएको छ । साधन धनीसँग छ, स्वाद गरिबले पाएको छ । नरम आसन पैसावालले जोडेको छ तर गहिरो निद्रा निर्धनको आँखाभित्र लुकेको छ । फेरिएको त मूलत : अंक मात्र हो।

प्रकृतिका नियम समान छन् । देशको राजनीतिक व्यवस्था फेरिए पनि गाईवस्तुले घाँस चपाएरै उग्राएका छन् । लामखुट्टेले रगत चुसेर भाग्ने क्रम छोडेको छैन । कली धपक्कै बलोस न बाघले कुनै बाहनामा घाँस खान थालेको छैन । मयूरको नाच उही छ । कोइली स्वरको सम्मोहन घटेको छैन । गौंथली गुँडको कलात्मक आकर्षण झन्झन् बढ्दो छ ।

सूर्यको पूर्वबाट शुरु भएको यात्रा पश्चिममा घर्किने क्रम यथावत छ । संगीतको सम्पूर्ण काव्य सात सुरमै सीमित छ । कखरा र एबीसीका अक्षर न बढ्न सके, न घट्न । यी यावत दृश्य देख्दादेख्दै पनि मानिसभित्र एउटा छद्म अहं छ, जसले प्रकृतिका हरेक अंशमा आफ्नो स्वामित्व खोज्छ ।

भरिया भएर सन्तानलाई शहरिया बनाउने बा र शहर भासिएका सन्तानबाट एउटा फरिया नपाउँदा पनि गुनासो नगर्ने आमाका सपना पाइला पाइला शहीद हुँदै आएका छन् । निराशाले सबैलाई लपेटेको छ । धेरै मानिस २५ वर्षकै उमेरमा मरेका छन् तर उनीहरुको अन्तिम संस्कार ७५ वर्षमा हुने गरेको छ । आखिर जति नै किताब पढे पनि पीडा लुकाएर हाँस्न र मन बाँधेर बाँच्न त जिन्दगीले नै सिकाउने हो ।

बीस वर्षको उमेरमा एउटा मानिस आफ्नो इच्छामा हिँड्छ, तीस वर्षमा बुद्धि र ४० वर्षमा अनुमानमा हिँड्छ । अज्ञानी हुनु लाजमर्दो होइन, जति सिक्ने इच्छा नराख्नु हो । बाफ बनेर उँडेका सपना एकदिन बादल बनाएर बर्षाउनु सफलता हो । केही यस्तो लेख जुन पढ्न लायक होस, केही त्यस्तो गर लेख्न लायक होस् । आत्मविश्वास पनि छाताजस्तै होस, झरी त रोक्दैन तैपनि बाछिटाबाट बचाउँछ ।

बाफ बनेर उँडेका सपना एकदिन बादल बनाएर बर्षाउनु सफलता हो । केही यस्तो लेख जुन पढ्न लायक होस, केही त्यस्तो गर लेख्न लायक होस् । आत्मविश्वास पनि छाताजस्तै होस, झरी त रोक्दैन तैपनि बाछिटाबाट बचाउँछ ।

समय घडी हेरेर मात्र नभई बाटो हिँडेर पनि घर्किने रहेछ । धनी र असलमा मान्छेमा फरक के हो भने धनी मानिस अरुको दुःखमा स्वार्थ देख्छ भने असल मानिसले दया । सफल मानिस फैसलाले दुनियाँ बद्ल्छ । असफल मानिस दुनियाँको डरले फैसला बद्ल्छ । जिन्दगीमा यस्तो मानिसलाई किमार्थ अन्याय नगर्नु जो सँग गुहार्न ईश्वरबाहेक कोही हुँदैन । जिन्दगी कुहिरोजस्तै हुन्छ, जति हिँड्दै गयो उति बाटो देखिदै जान्छ । मेहनत, हिम्मत र लगनले सपना सफलतामा अनुवाद हुन्छ । सबै गुमाएर पनि हौसला बाँकी छ भने केही गुमेको छैन ।

टेकेको लाठी, समाएको हाँगा र उक्लिएको सिंढी बिर्सिनेको अस्तित्व एकदिन नामेठ भएर जान्छ । शरीरको सौन्दर्य त भ्रम हो । सबैभन्दा सुन्दर वाणी हो, यसले दिल जित्न र चिर्न दुवै सक्छ । दुनियाँमा समस्या समस्यामा नभएर दृष्टिकोणमा हुन्छ । आफू अज्ञानी छु भन्ने थाहा पाउनु ज्ञानको ठूलो फड्को हो । प्रकृतिको नियम यो छ कि जुन रुखमा मीठो फल हुन्छ, मान्छे त्यहीँ बढी ढुंगा मिल्काउँछन् ।

ठूलो मानिस बन्नु उत्तम हो, अझ राम्रो मान्छे बन्नु सर्वोत्तम हो । हार्दिक सम्बन्धले बाचा, कसम माग्दैन । रोज डे, प्रपोज डे, चकलेट डे जस्तै रोटी डे हुँदो हो त संसारमा कसैले सारंगी पेट बाँच्नु पर्दैनथ्यो । अभावको गीत लेख्न दरबार पर्दैनथ्यो । आखिर जसले जस्तो बाटो बनाउँछ, लक्ष्य उस्तै भेट्ने हो । तागतमा जीवन र कमजोरीमा हार हुन्छ । गल्ती भनेको काममा निरन्तर लागिरहेको सबुत हो । हामी त्यही हौं, जुन आफ्नो सोचले बनाएको हुन्छ । दुःखमा साथ दिनेहरु ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरु मनुष्य । हरेक विजेता त्यो हार खाएको मानिस हो, जसले फेरि प्रयास गर्न जानेको हुन्छ ।

दुःखमा साथ दिनेहरु ईश्वर हुन्छन्, सुखमा साथ दिनेहरु मनुष्य । हरेक विजेता त्यो हार खाएको मानिस हो, जसले फेरि प्रयास गर्न जानेको हुन्छ ।

सपना देख्ने सोख हुनेलाई रात छोटो लाग्छ । जसलाई सपना पूरा गर्ने सोख छ, उसलाई दिन छोटो लाग्छ । कहिले समयअनुसार आवश्यकता बदलिन्छ भने कहिले आवश्यकताअनुसार समय बद्लिदैन । उज्यालोमा त कोही न कोही अवश्य भेटिन्छ, त्यसैले त्यस्तो मानिस खोज्नुस् जसले अन्धकारमा पनि तपाईंलाई साथ दिन्छ । आफैं मेहनत गरेर आफ्नो भाग्य लेख्नू , नत्र परिस्थितिले तपाईंको भाग्य लेखिदिने छ ।

परारजस्तो पोहोर थिएन, पोहोरजस्तो अहिले छैन् । यसरी नै समय बगिरहेको छ । कुखुराले बासेर, मानिसले घण्टाघर जस्तो घडी बनाएर समयलाई कैद गर्ने दुष्प्रयास त गर्‍यो, तर निष्फल हुँदै गइरहेको छ । मानिसले चरा देखेर जहाज बनायो, माछाको जीवन नक्कल गरेर पानी जहाज बनेर तैरिन जान्यो । खै, संसारको सबैभन्दा विवेकशील जुनी पाएको मानिस तर सार्थक मानिस भएर बाँच्न किमार्थ जानेन् ।

आज शहरमा घरभन्दा अग्ला पर्खाल छन् । जनताको भात खाने पैसा काटेर बम, गोली र बारुदमा पैसा स्वाहा बनाइएको छ । आखिर के का लागि ? नीतिमध्ये अब्बल नीति मानिने राजनीतिको एउटै मन्त्र हो– मानव धर्म । तर युद्धका लाभाहरु बीचमा बसेर शान्तिको मन्त्र जप्नुपर्ने यो बाध्यताको जड के हो ? आगोमा हात राख्यो भने पोल्छ । पोल्नु आगोको धर्म हो । हिउँले हात ठिहिर्‍याउँछ । सिस्नुमा हात राख्दा पोलेन भने, जाँड खाँदा लागेन भने त्यो के जाँड, त्यो सिस्नो के सिस्नो ? जाबो एउटा रेसम किराले त मानिसको आङ्लाई वर्षौंसम्म जोगाएर आफूलाई कीर्तिमानी बनाउँछ भने हामीले हाम्रो जीवनलाई सार्थक बनाउन कति गर्नुपर्छ ?

संसारमा सबैभन्दा बढी दिइने तर कम ग्रहण गरिने वस्तु हो– अर्ती । आफूभित्रबाट आत्मसात गरिएको वस्तु मात्र दिगो र चीरस्थायी हुनसक्छ । नयाँ वर्ष शुभकामनामा सीमित भयो भने त्यो देउरालीको ढुंगो घुम्ने कामभन्दा पर नहुने पक्का छ ।

संसारमा सबैभन्दा बढी दिइने तर कम ग्रहण गरिने वस्तु हो– अर्ती । आफूभित्रबाट आत्मसात गरिएको वस्तु मात्र दिगो र चीरस्थायी हुनसक्छ । नयाँ वर्ष शुभकामनामा सीमित भयो भने त्यो देउरालीको ढुंगो घुम्ने कामभन्दा पर नहुने पक्का छ । हरेक समयलाई शुभघडी मान्ने परम्परा बस्यो भने नयाँ वर्षले हैन, कामको प्रतिफलले जीवन नयाँ ढर्रामा प्रवेश गराउँछ । त्यतिबेला उड्न पुतली बन्नु पर्दैन । इन्द्रिय शून्य तौल भएर कावा खान दौडाउने पक्का छ ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  ९ : ५४ बजे

पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो

काठमाडौं – नायक पल शाहलाई निकालिएको गसिप चलेको फिल्म ‘महाराजधिराज’मा

एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौं– देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार

‘लाज शरणम्’ छुटिएका काकु–जिग्री ‘चिरञ्जीवी भवः’मा भेटिए

काठमाडौं – कुमार कट्टेल ‘जिग्री’ले फिल्मको कथाको क्रेडिट नदिँदा बिच्किएका

हातेमालो अभियन्ता तिवारी कृषि सहकारी ह्यासट्याग अभियानमा सक्रिय

काठमाडौं– सहकारीको स सुन्नासाथ आजकल मानिसहरूले नमिठो भाव प्रकट गर्छन्

दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा

काठमाडौं – वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारी