काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा हुँदैछ। विधानअनुसार महाधिवेशनमा केन्द्रीय कमिटीको निर्वाचनपछि पार्टी सचिवालयको निर्वाचन हुनेछ । केन्द्रीय कमिटीले नै पार्टी सचिवालय चुन्ने भएकाले नेताहरूले केन्द्रीय कमिटीको निर्वाचन जितेर मात्रै सचिवालयमा उम्मेदवारी दिन पाउनेछन् ।
केन्द्रीय कमिटीको निर्वाचन नजितेका व्यक्तिहरूलाई सचिवालयमा आउने छुट नहुने भएकाले सबै नेताले केन्द्रीय कमिटीको निर्वाचन अनिवार्य फेस गर्नुपर्ने महामन्त्री कविन्द्र बुलाकोटी बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टी विधान संशोधनसम्बन्धी मस्यौदामा काम गरिरहेका विपिन आचार्य पनि यो नियमलाई फेर्ने किसिमले विधान आउने विषय संकेत गर्दैनन् ।
त्यसकारण पदाधिकारी हुनका लागि केन्द्रीय समितिको निर्वाचन जित्नै पर्ने नेताहरूलाई बाध्यता रहेको देखिन्छ । पार्टीले दिएको जानकारी अनुसार २५०० भन्दा बढी प्रतिनिधि उपस्थित हुने महाधिवेशनमा केन्द्रीय कमिटीका लागि चार पाँच सय आकांक्षी छन् । तर नयाँ विधान पारित गर्दा पार्टीले २०० बढी केन्द्रीय सदस्य नकटाउने तयारी गरेको देखिन्छ ।
सचिवालयका लागि यी हुन दावेदार
केन्द्रीय कमिटीको निर्वाचनपछि सचिवालयको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलेसम्म सर्वसम्मतिको प्रयास गर्नेछ। सर्वसम्मत नभएको अन्तिम खण्डमा मात्र निर्वाचन गर्ने तयारी रहेको पार्टीका शीर्ष नेताहरु बताउँछन् । अहिलेसम्म पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको विकल्प खोज्ने तयारीमा पार्टी देखिँदैन । आगामी महाधिवेशनपछि रवि लामिछाने नै पार्टी सभापति हुने र वरिष्ठ नेता वालेन्द्र शाह बन्ने विषयमा कुनै तलमाथि नहुने पार्टी कोषाध्यक्ष लिमा अधिकारी बताउँछिन् ।
कोषाध्यक्ष अधिकारीका अनुसार केन्द्रीय कमिटी जितेको व्यक्तिले मात्रै सचिवालयमा भाग लिन पाउने भएकाले सचिवालयको आकांक्षी यो यो नेता हो भनेर किटान गर्न नसकिने अवस्था रहेको दाबी गर्छिन् । दौडधुप हेर्दा सचिवालयका लागि थुप्रै नेताहरूले आकांक्षा राखेको देखिन्छ ।
पार्टीको सचिवालयको दावेदारमा रवि लामिछाने सभापति, वालेन्द्र शाह वरिष्ठ नेता र तीन उपसभापतिमध्ये एक उपसभापतिमा स्वर्णिम वाग्ले लगभग आउने पक्का देखिन्छ । एक जना महिला उपसभापतिका लागि धेरै जना दाबेदार छन् ।
महिला उपसभापतिका लागि अहिलेकी कोषाध्यक्ष लिमा अधिकारी, विवेकशील साझाबाट राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेकी पूर्वविवेकशील अध्यक्ष समीक्षा बास्कोटा, महासचिव रन्जु दर्शना, सहकारी तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, सहप्रवक्ता बसुमाया तामाङ, सचिवालय सदस्य तथा कानुनमन्त्री सोबिता गौतम लगायतका नेतृहरु छन् ।
यस्तै अर्का उपसभापतिका लागि विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सुनिल लम्सालको नाम पनि अगाडि आएको देखिन्छ । तीमध्ये लम्साल बालेन पक्षका नेता हुन् । लम्साललाई उपसभापति नबनाएको खण्डमा बालेनले अर्का व्यक्तिलाई ल्याउने चर्चा छ ।
उपसभापतिकै लागि रविपक्षबाट कवीन्द्र बुर्लाकोटीको नाम पनि अगाडि आएको देखिन्छ । हुन त उपसभापतिका लागि बालेन-रविले पार्टीभित्र तिखो असन्तुष्ट व्यक्त गर्दै आएका नेता डा. अमरेशकुमार सिंहलाई रोज्छन् भन्ने पनि चर्चा सुनिन्छ । सिंहलाई यसबारे प्रश्न गर्दा आफू पदको लोभमा नभएको बताउँछन् ।
महामन्त्रीका लागि अहिलेसम्म स्पष्ट विधान नआइसकेको नहुनाले दुई महामन्त्री भएको अवस्थामा एक महामन्त्री भूपदेव शाह हुने निश्चित छ । अर्को महामन्त्रीका लागि रवि लामिछाने समूहबाट मनिष झा, परराष्ट्रमन्त्री शिशिर खनाल, पार्टी सहममन्त्री विपिनकुमार आचार्य लगायतको नाम चर्चामा छ ।
अहिलेका महामन्त्री कविन्द्र बुर्लाकोटी उपसभापतिमा गएको खण्डमा रविले आफ्ना बलिया सहयोगी विपिनलाई महामन्त्री बनाउँछन् भन्ने हल्ला पनि सुन्न थालिएको देखिन्छ ।
यस्तै पार्टी प्रवक्ताका लागि वर्तमान प्रवक्ता मनिष झा नै हुनुपर्ने आवाज पनि पार्टीमा देखिन्छ । प्रवक्ताका लागि रविले आफ्ना विश्वासपात्र प्रमोद न्यौपाने या दीपक बोहरालाई रोज्न सक्छन् भन्ने चर्चा छ ।
प्रवक्तामा न्यौपाने र बोहराको चर्चा चलिरहँदा संसदीय दलका उपनेता गणेश पराजुली र यज्ञमणि न्यौपानेको पनि चर्चा छ । सहप्रवक्ताका लागि पनि धेरैजना नेताहरू आकांक्षी रहेको देखिन्छ। रमेश प्रसाई पनि सहप्रवक्ताका दर्बिला दाबेदार हुन् ।
धेरै छन् सचिवालयका आकांक्षी
यही पदमा आकांक्षा राखेको भन्न नसक्ने तर सचिवालयमा पुग्न पाए आफ्नो सिट सुरक्षित हुने इच्छामा राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै नेताहरु देखिन्छन् । पार्टी सचिवालयमा आउन इच्छुकहरुमा निशा डाँगी, डा. तोसिमा कार्की, स्वास्मित पोखरेल, सुलभ खरेल, डा. लेखजंग थापा, गणेश कार्की, प्रदिपचन्द्र परियार, खगेन्द्र सुनुवार, रीमा विश्वकर्मा, पुरुषोत्तम यादव, सस्मित पोखरेल, जेम्स कार्की, सुशान्त बौद्धिक, आशुतोष प्रधान, कामिनी चौधरी, पुकार बम, असिम शाह, टीका संग्रौला, अरनिको पाँडे, आशिका तामाङ, सागर ढकाल, ईश्रा मुल्ला मिया, हरि ढकाल लगायतका नेताहरू देखिन्छन् ।
नयाँ विधान सार्वजनिक नभएकाले वर्तमान विधान अनुसार एक जना सभापति तीन जना उपसभापतिमध्ये एक जना महिला अनिवार्य, एक महामन्त्री, एक सहमहामन्त्री, एक जना कोषाध्यक्ष, एक जना सहकोषाध्यक्ष र एक जना पार्टी प्रवक्तासहित दुईजना सहप्रवक्ता रहने व्यवस्था छ ।
विधानअनुसार पार्टी सभापतिले २२ जना थप्न सक्ने प्रावधानका साथै प्रदेशका पार्टी सभापति केन्द्रीय कमिटीमा रहने व्यवस्था छ । पार्टीको शीर्षस्थ स्रोतले दिएको जानकारी अनुसार केन्द्रीय कमिटीलाई भने विधानले थप्न सक्ने देखिन्छ । विधान मस्यौदामा काम गरिरहेका सहममन्त्री विपिन आचार्यले अन्तिम विधान सार्वजनिक गरिनसकेकाले केन्द्रीय कमिटी र सचिवालयका आकार कति बढाउँछ भन्ने विषय स्पष्ट रूपमा खुलेको छैन ।












प्रतिक्रिया