काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।
महानगरभित्र बढ्दो सवारी चाप, साँघुरा सडक तथा बदलिँदो जीवनशैलीका कारण देखिएका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न ‘बाइक एम्बुलेन्स’ सेवादेखि मानसिक स्वास्थ्य ‘कल सेन्टर’ सञ्चालनसम्मका योजना अघि सारिएको छ ।
नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्र छिटो र प्रभावकारी आपत्कालीन स्वास्थ्य सेवा पुर्याउन बाइक एम्बुलेन्स सञ्चालन गर्ने योजना समावेश गरिएको हो ।
महानगरका अनुसार काठमाडौंका धेरै क्षेत्रमा सडक साँघुरा हुनुका साथै ट्राफिक जामको समस्या बढ्दो क्रममा रहेकाले परम्परागत एम्बुलेन्स समयमै घटनास्थल पुग्न कठिन हुने गरेको छ । यस्ता अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत प्राथमिक उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स अवधारणा अघि सारिएको हो ।
नीति तथा कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि गरी आधुनिक, समयसापेक्ष र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । स्थानीय तहबाटै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ स्वास्थ्य संस्थाहरूलाई थप सुदृढ बनाइने जनाइएको छ ।
महानगरले स्वस्थ जीवनशैली प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। यसअन्तर्गत आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । नागरिकको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक र आध्यात्मिक स्वास्थ्य सुधारमा समेत ध्यान केन्द्रित गरिने कार्यवाहक मेयर डंगोलले बताइन् ।
बदलिँदो जीवनशैलीसँगै मानसिक स्वास्थ्य समस्या बढ्दै गएको निष्कर्ष निकाल्दै महानगरले मनोपरामर्श सेवा र विशेष ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ । मानसिक तनाव, चिन्ता, अवसादलगायत समस्याबाट पीडित नागरिकलाई सहज पहुँचमा परामर्श सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।
त्यसैगरी मिर्गौला रोगीहरूको उपचारलाई सहज बनाउन डायलाइसिस सेवाको विस्तार तथा सुदृढीकरण गरिने भएको छ । उपचार खर्च र सेवाको पहुँचका कारण समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी थप सुविधा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरले मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवालाई पनि विशेष प्राथमिकता दिएको छ । यसअन्तर्गत विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिनुका साथै सार्वजनिक स्थानहरूमा स्तनपान कक्ष स्थापना तथा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ । यसले स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थलमा सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि महानगर क्षेत्रभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन र नियमन गरिने नीति लिइएको छ । सेवा प्रवाहमा गुणस्तर कायम गर्न तथा नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन प्रणालीलाई थप कडा बनाइने महानगरको योजना छ ।
यस्तै, विपन्न तथा असहाय नागरिकका लागि अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवाको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ । महानगरले यस व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निगरानी बढाउने जनाएको छ । नीति तथा कार्यक्रमको अर्को महत्त्वपूर्ण घोषणा महानगर अस्पताल निर्माण पनि हो । गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउने लक्ष्यसहित महानगर स्तरीय अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।
ज्येष्ठ नागरिकलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । महानगरले सार्वजनिक गरेका यी कार्यक्रमहरू कार्यान्वयनमा आए काठमाडौंवासीले थप सहज, पहुँचयोग्य, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
विशेषगरी आपत्कालीन उद्धार, मानसिक स्वास्थ्य, मातृशिशु सेवा, दीर्घरोग उपचार तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य महानगरले लिएको छ ।












प्रतिक्रिया