काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म « Khabarhub

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म


३१ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य सेवामा उल्लेखनीय विस्तार गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिइएको छ । 

महानगरभित्र बढ्दो सवारी चाप, साँघुरा सडक तथा बदलिँदो जीवनशैलीका कारण देखिएका स्वास्थ्य चुनौतीहरूलाई सम्बोधन गर्न ‘बाइक एम्बुलेन्स’ सेवादेखि मानसिक स्वास्थ्य ‘कल सेन्टर’ सञ्चालनसम्मका योजना अघि सारिएको छ ।

नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिँदै महानगर क्षेत्रभित्र छिटो र प्रभावकारी आपत्कालीन स्वास्थ्य सेवा पुर्‍याउन बाइक एम्बुलेन्स सञ्चालन गर्ने योजना समावेश गरिएको हो ।

महानगरका अनुसार काठमाडौंका धेरै क्षेत्रमा सडक साँघुरा हुनुका साथै ट्राफिक जामको समस्या बढ्दो क्रममा रहेकाले परम्परागत एम्बुलेन्स समयमै घटनास्थल पुग्न कठिन हुने गरेको छ । यस्ता अवस्थालाई मध्यनजर गर्दै मोटरसाइकलमार्फत प्राथमिक उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले बाइक एम्बुलेन्स अवधारणा अघि सारिएको हो ।

नीति तथा कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूको क्षमता अभिवृद्धि गरी आधुनिक, समयसापेक्ष र प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । स्थानीय तहबाटै प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यका साथ स्वास्थ्य संस्थाहरूलाई थप सुदृढ बनाइने जनाइएको छ ।

महानगरले स्वस्थ जीवनशैली प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखेको छ। यसअन्तर्गत आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । नागरिकको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक र आध्यात्मिक स्वास्थ्य सुधारमा समेत ध्यान केन्द्रित गरिने कार्यवाहक मेयर डंगोलले बताइन् ।

बदलिँदो जीवनशैलीसँगै मानसिक स्वास्थ्य समस्या बढ्दै गएको निष्कर्ष निकाल्दै महानगरले मनोपरामर्श सेवा र विशेष ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ । मानसिक तनाव, चिन्ता, अवसादलगायत समस्याबाट पीडित नागरिकलाई सहज पहुँचमा परामर्श सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

त्यसैगरी मिर्गौला रोगीहरूको उपचारलाई सहज बनाउन डायलाइसिस सेवाको विस्तार तथा सुदृढीकरण गरिने भएको छ । उपचार खर्च र सेवाको पहुँचका कारण समस्या भोगिरहेका बिरामीलाई लक्षित गरी थप सुविधा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

महानगरले मातृशिशु तथा प्रजनन स्वास्थ्य सेवालाई पनि विशेष प्राथमिकता दिएको छ । यसअन्तर्गत विभिन्न लक्षित कार्यक्रम सञ्चालन गरिनुका साथै सार्वजनिक स्थानहरूमा स्तनपान कक्ष स्थापना तथा व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ । यसले स्तनपान गराइरहेका आमाहरूलाई सार्वजनिक स्थलमा सहज वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि महानगर क्षेत्रभित्र सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित अनुगमन र नियमन गरिने नीति लिइएको छ । सेवा प्रवाहमा गुणस्तर कायम गर्न तथा नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले अनुगमन प्रणालीलाई थप कडा बनाइने महानगरको योजना छ ।

यस्तै, विपन्न तथा असहाय नागरिकका लागि अस्पतालहरूले उपलब्ध गराउनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवाको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने उल्लेख गरिएको छ । महानगरले यस व्यवस्थाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निगरानी बढाउने जनाएको छ । नीति तथा कार्यक्रमको अर्को महत्त्वपूर्ण घोषणा महानगर अस्पताल निर्माण पनि हो । गुणस्तरीय तथा विशिष्टीकृत स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्‍याउने लक्ष्यसहित महानगर स्तरीय अस्पताल स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।

ज्येष्ठ नागरिकलाई लक्षित गरी नियमित स्वास्थ्य परीक्षण, स्वास्थ्य संस्थासँगको सहकार्यमा विशेष स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य शिविर सञ्चालन गरिने कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको छ । महानगरले सार्वजनिक गरेका यी कार्यक्रमहरू कार्यान्वयनमा आए काठमाडौंवासीले थप सहज, पहुँचयोग्य, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ । 

विशेषगरी आपत्कालीन उद्धार, मानसिक स्वास्थ्य, मातृशिशु सेवा, दीर्घरोग उपचार तथा ज्येष्ठ नागरिक स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने लक्ष्य महानगरले लिएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ३ : ४४ बजे

अर्थमन्त्री भन्छन् : नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो तोड्छौँ

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगत १०–१५ वर्षदेखि देश निहित

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला