आफ्नैसँग तर्सिन थाले केपी ओली « Khabarhub

आफ्नैसँग तर्सिन थाले केपी ओली

विष्णु र शंकर मिल्दा नेतृत्व छाड्न चर्को दबाब



काठमाडौं- पार्टीभित्र आफ्नै गुटमा रहेका नेताहरूबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तर्सिन थालेका छन्।

लामो समय उपमहासचिव योगेशकुमार भट्टराईलाई ठेगान लगाउन मिहिनेत गरेका उनको निशानामा अहिले महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल परेका छन् । हुन पनि फागुन २१ को निर्वाचनबाट पार्टी करिब पतन हुने बिन्दुमा पुगेको अवस्थामा पौडेल र पोखरेलको निकटताले ओलीलाई एमालेको सत्तामा टिकिरहन मुश्किल बनाएको छ।

लुम्बिनीको भूगोलमा एकअर्काका कट्टर प्रतिस्पर्धी यी दुईको मिलापले ओलीको आक्रोश बढ्दै गएको छ । उता निरन्तर पेलाईमा परेका उपमहासचिव भट्टराईलाई भने ओलीविरुद्धको संघर्षमा अन्य नेताको साथले राहत मिलेको छ।

बागमती प्रदेश कमिटी र विभिन्न जिल्लाका औपचारिक-अनौपचारिक छलफलबाट ओलीको विकल्प खोज्ने विषयले तीव्र गति लिएको छ। यो अवस्थामा ओली तर्सिएर अहिले महासचिव पोखरेललाई निशाना साँधिरहेका छन् । कतिसम्म भने महासचिव पोखरेल र उपमहासचिव भट्टराईसहितले पार्टी फुटाउने योजनासमेत बनाएको आरोप उनी लगाइरहेका छन् ।

ओलीले आफूविरुद्ध पदाधिकारीको गठजोडबारे आफूनिकट नेता मानिने महेश बस्नेतलाई जानकारी गराए । त्यसपछि बस्नेतले सामाजिक सञ्जालमै ओलीको विकल्प खोज्न नहुने भन्दै लेखे । उता अर्की नेतृ रामकुमारी झाँक्रीले पनि अहिले पार्टीमा देखिएको संकटको कारण ओली मात्रै नभएको भन्दै शंकर र योगेशलाई सम्हालिन सुझाइन् ।

पछिल्लो पटक ‘संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक’मा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई केन्द्रमा राखेर महासचिव पोखरेल र अर्का उपाध्यक्ष रघुजी पन्त निस्किएपछि ओलीको तनाव झन् बढेको छ।

फागुन २१ को निर्वाचनपछि पहिलोपटक गत जेठ ११ गते बसेको सचिवालय बैठकमा पनि १४ जना नेताहरूले ओलीको विकल्प खोज्नुपर्ने मत राखे । चार दिनसम्म चलेको सचिवालयमा ओलीले आफ्नो विकल्प खोज्ने पक्षमा नेताहरू खुल्न थालेपछि केन्द्रीय कमिटीको बैठक एक महिनापछिका लागि डाके।

यसबीचमा ओलीले केन्द्रीय कमिटीका नेताहरूलाई गुण्डुमा बोलाएर निरन्तर संवाद र छलफल गरिरहेका छन् । उनी २०८२ साउन ५/७ को बैठकमा जस्तै आफूलाई घेर्न खोज्ने नेताहरूलाई ठेगान लगाउने दाउमा छन् । तर अहिले परिस्थिति कस्तो भएको छ भने केन्द्रीय कमिटीकै नेताहरू ओलीसँग भेट्नसमेत हच्किरहेका छन्। भेट गर्ने पनि पार्टी यही अवस्थामा अघि बढ्न नसक्ने सुझाव ओलीलाई दिइरहेका छन् ।

उक्त सचिवालय बैठकमा ओलीसँगै पहिलो पुस्ता बिदा भएर दोस्रो या तेस्रो तहका नेताले पार्टी हाँक्नुपर्ने माग उठेको थियो। यसअगाडि दशौँ महाधिवेशनकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले ११ औँ महाधिवेशनबाट बिदा हुनुअघि नै पहिलो पुस्ताकाले अब नयाँलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरा उठाए।

उनीहरूले पार्टीबाट स्वेच्छिक अवकाश लिइसकेका छन् । ‘सचिवालय बैठकमा सबै कोणमा कुरा उठेको हो तर ओलीलाई अध्यक्षबाट बिदा भइजानुस् भनेर कसैले भनेको थिएन’, त्यसबेला सचिव पद्मा अर्यालले खबरहबलाई भनेकी थिइन्, ‘नेताहरूले खुलस्त आफ्ना कुरा राख्नुभएको हो । बाहिर आए जस्तो बढी अध्यक्षबारे हल्ला भएको होइन।’

उक्त बैठकमा यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै १४ जना नेताहरूले पुनर्गठन र पुनर्जागरण अभियानमा जानुपर्ने राय राखे । उक्त राय राख्नेमा महासचिव पोखरेल र उपाध्यक्ष पौडेलसमेत थिए । उनीहरू दुवै ओलीलाई नै अध्यक्षमा यथावत राख्दै एघारौं महाधिवेशनमा जितेका नेता हुन्।

ओली बिदा नभए बलजफ्ति निकाल्ने पक्षमा यी नेता पुगेका छैनन् । तर आफू बिदा नभए पार्टी नै फुटाउने अवस्थामा नेताहरू पुगेको भन्दै उनले सचिव बस्नेतमार्फत् सामाजिक सञ्जालमा एउटा सन्देश फ्याँकेका छन् ।

‘नेतृत्वलाई घोक्र्याएर निकाल्ने कुरा भएन, तर आफू बिदा नभएको अवस्थामा पार्टी फुट्न सक्छ भन्ने संकेत अध्यक्ष सामु पुगिसकेको छ’, पार्टीका एक उपाध्यक्षले भने, ‘यो सूचना उहाँकहाँ पुगेपछि आफूनिकट नेताहरूलाई यसबारे जानकारी गराउनुएको सुनेका छौँ।’

यसअघि संविधान संशोधन कार्यदलको बैठक सकिएपछि पनि उपाध्यक्ष पन्त, पौडेल र महासचिव पोखरेल लगायतका नेताहरूले पार्टी पुनर्गठन र पुनर्जागरणबारे अलग्गै लामो छलफल गरेका खुलेको छ।

थामथुम

सचिवालयका १९ मध्ये १४ नेताले पार्टी पुनर्गठन हुनुपर्ने मागसहित यथास्थितिमा चल्न नसक्ने बताएका थिए । त्यहीकारण ओलीले केन्द्रीय कमिटी बैठकसम्म पर्खिन भन्दै थामथुम गरे। केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने भनिए पनि अहिलेसम्म निश्चित भइसकेको छैन । केन्द्रीय कमिटी बैठकमा तेस्रो पुस्ताका युवाहरू ओलीलाई सम्मानपूर्वक बिदाइको आवाज उठाउने तयारीमा छन् । त्यसको तयारीका लागि नेताहरूले दस्तावेज लेखिरहेका एकजना युवा नेता बताउँछन् ।

ओलीकै विश्वास पात्र महासचिव पोखरेलसहित, उपाध्यक्ष पौडेल एकढिक्का भएपछि अरू नेताहरू खुल्न थालेका छन्।

‘अहिले सांकेतिक रूपमा कुरा उठिरहेका छन् । यो अबको केन्द्रीय कमिटीमा औ‍पचारिक रुपमा उठ्छ। केन्द्रीय कमिटीमा वार-पार हुने गरी छलफल हुन्छ। त्यहाँभन्दा बढी एमाले कार्यकर्ताहरू ओली र पहिलो पुस्तालाई कुर्न सक्दैनन्’, एमाले सचिवालयका एक नेताले खबरहबलाई भने, ‘पार्टी विभाजन भन्दा उहाँको विकल्प खोजेर अगाडि बढ्ने तयारीमा छौँ। पहिलो पुस्तालाई सम्मानजनक बिदा गरेर दोस्रो-तेस्रो पुस्ताले पार्टी हाकौं भन्ने पक्षमा अधिकांश नेता हुनुहुन्छ।’

सचिवालयका ती नेता तत्काल कसले नेतृत्व लिने भन्ने विषयमा अहिले निष्कर्ष नपुगेको बताउँछन् । तर पनि नेतृत्व परिवर्तनको पक्षमा पार्टीमा एक मन र एकचित्त भइसकेको उनी दाबी गर्छन्।

युवा पनि टाढिँदै

विगतमा ओलीलाई संकटमा साथ दिएका युवा नेता महेश बर्तौला, पदम गिरी, नरेश रोकाया, सुहाङ नेम्बाङ, नबीना लामा, शेरधन राई लगायत पनि टाढिने अवस्थामा छन्। गिरीले एमालेको वर्तमान नेतृत्वसहित पहिलो पुस्ता असफल भएकाले विकल्प खोजेर पार्टी पुनर्गठन गर्नुपर्ने माग गरेका छन्।

‘पहिलो पुस्तालाई सम्मानजनक बिदाइसहित पार्टी पुनर्गठन, पुस्तान्तरण र पुनर्जागरणतर्फ मोड्नुपर्ने अवस्था छ’, गिरीले खबरहबलाई भने, ‘यथास्थितिमा एमाले अगाडि बढ्न सक्दैन । तर मैले पहिलो पुस्तालाई अपमानपूर्वक बिदा गरौँ भनेको होइन । पहिलो पुस्तालाई सम्मानजनक बिदाइ गरेर उहाँहरूको मार्गनिर्देशन लिँदै बढ्नुपर्छ।’

ओलीका विश्वास पात्र अर्का नेता बर्तौला पनि ओलीसहित पहिलो पुस्ता नेतृत्वबाट हट्नुपर्ने बताउँछन् । उनले खबरहबसँगको अन्तर्वार्तामा पनि ओलीले मात्रै होइन, पहिलो पुस्ता सबैले एमालेबाट सम्मानजनक अवकाश लिनुपर्ने बताए। दोस्रो या तेस्रो पुस्तालाई अगाडि बढाउनुपर्ने आवाज उनले उठाए ।

‘केपी ओलीले मात्रै होइन, पहिलो पुस्ताका सबै नेताले सम्मानजनक बिदा लिनुपर्छ। जसरी अहिले ओलीमाथि मात्रै आक्रमण भइरहेको छ। यो दु:खद कुरा हो। पहिलो पुस्ताका सबै नेताले स्वेच्छिक बिदा हुन तयार गर्नुपर्ने स्थिति छ’, उनले भने, ‘अपमानजनक बिदाइ गरौँ भनेर अगाडि बढियो भने स्वीकार्य हुँदैन। सम्मानजनक रुपमा पहिलो पुस्ताले यो परिस्थितिलाई नियालेर बिदा भइदिनुस्। यो या त्यो भनेर किटान गर्ने अवस्थामा छैन। पहिलो पुस्ताले विश्राम लिनुपर्छ। उहाँहरूको अनुभव लिएर दोस्रो या तेस्रो पुस्ताले काम गर्छ।’

जेठ ११ गते बसेको सचिवालय बैठकमा पनि ओलीले आफ्नो मात्रै पार्टीमा कमजोरी नभएको भन्दै बचाउ गरे । उनले आफूले मात्रै बिदा नलिने आवाज उठाए। उनले नेतामाथि प्रहार हुँदा अरूले संरक्षण गर्नुको साटो निरन्तर लखिटिरहने प्रवृत्ति पार्टीमा देखा परेकाले यो अन्त्य गर्नुपर्ने तर्क गरे ।

सबै अपजस आफूमाथि खन्याएर अरू साखिलो हुनुपर्ने जरुरी नभएको उनले बताए । यतिमात्रै होइन, आफू विधानत: पार्टी अध्यक्ष बनेको भन्दै हट्न पनि त्यसैले दिएको अवस्थामा तयार हुने बताएका थिए। उनले भनेका थिए,‘विधानत: अध्यक्ष भएको हो। बाटोमा हिँड्दै गर्दा कसैले तानेर ल आइज अध्यक्ष बन् भनेर भएको व्यक्ति होइन। हट्नु परे विधानअनुसार हटिन्छ, बस्नु परे विधानअनुसार बसिन्छ । केन्द्रीय कमिटीको बैठक हेरौँ।’

त्यसपछि ओलीले फागुन २१ को निर्वाचन परिणाबारे सुझाव संकलन गर्न आफूनिकट उपाध्यक्ष रामबहादुर थापा बादललाई संयोजक बनाएर कमिटी गठन गरे। अहिले त्यो कमिटीले सुझाव संकलन गरिरहेको छ। उक्त समितिमा पनि ओलीले बादललाई आफ्नो स्वार्थअनुसार सुझाव लेख्न लगाएको पार्टीका उपाध्यक्षहरू नै बताउँछन् ।

ओलीले आफूनिकट मानिने सचिवालयका नेताहरूबाटै पार्टीलाई कमजोर बनाउन खोजेको गुनासोसहित आइतबार पनि विभिन्न तहका नेताहरूसँग छलफल गरेको उनीनिकट स्रोत बताउँछ।

अहिले एमालेमा ओलीको विकल्प विद्या भण्डारी हो कि होइन भन्ने बहससमेत उठ्न थालेको छ। यसबारे प्रश्न गर्दा नेताहरू अर्ली महाधिवेशनसम्म भण्डारीलाई अध्यक्ष मानेर जान सकिने बताउँछन् । तर त्यसपछाडि ओलीको विकल्प विद्या हुन नसक्ने उनीहरू बताउँछन्।

युवा नेताहरू त बृहत् वाम एकता भएमा विद्याले केही समय पार्टी हाँक्न सक्ने बताउँछन् । तर पूरै पार्टी कार्यकाल हाँक्ने कुरामा पहिलो पुस्ता असफल भइसकेको विश्लेषण उनीहरू सुनाउँछन्।

‘सीमित समयका लागि ठिकै छ तर पहिलो पुस्ता नेतृत्व लिन असफल भइसक्यो भन्ने स्पष्ट देखिइसकेको छ’, विगतमा विद्याकै निकट एक नेतृले भनिन्, ‘सीमित समयका लागि उहाँलाई नेतृत्व मानेर जान सकिन्छ तर उपाध्यक्ष र महासचिव नै नेतृत्व परिवर्तनको एजेन्डामा अगाडि बढेपछि सल्लाह गर्नुहोला।’

विष्णु र शंकर मिलेको कुरा पुगेपछि..

विगतमा लुम्बिनी प्रदेशको भूगोलमा निरन्तर द्वन्द गर्दै आएका दुई नेताहरू पोखरेल र पौडेल अहिले मिलेका छन् । उनीहरू मिलेको कुराले ओलीको बेचैनी बढाएको छ।

पोखरेल र पौडेल मिलेर पार्टी पुनर्जागरण गर्न लागेको जानकारी ती उपाध्यक्षलाई छ। ‘पार्टी बचाउन र देशभरका कार्यकर्ताको भावना समेट्ने गरी उपाध्यक्ष र महासचिवले तयारी गरिरहनुभएको छ । यो जानकारी पार्टी अध्यक्षसम्म पुगेको छ। उपाध्यक्ष र महासचिवले युवा साथीहरूसँग पनि परामर्श गरिरहनु भएको छ’, एमालेका ती उपाध्यक्षले भने, ‘हामीले सक्नेजति ओलीलाई साथ दिएकै हो। तर पार्टी नै जिरोमा पुग्न थालेपछि बोकेर हिँड्ने कुरा भएन। महाधिवेशनमा ओलीको विकल्प नखोजौँ भन्दै हिँडेकै हो । तर निर्वाचनको परिणामले त्यो देखाएन। परिस्थितिअनुसार नेतृत्व फेर्नुपर्छ।’

अहिले एमालेका धेरै नेता छिटो केन्द्रीय कमिटी बसोस् भन्ने चाहिरहेका छन् । ‘केन्द्रीय कमिटी बैठकमा धेरै नेताहरूले कुसुमकुस पोख्ने तयारीमा हुनुहुन्छ । हामीले पनि आफ्नो तयारी गरिरहेका छौँ’, युवा नेता नरेश रोकाया भन्छन, ‘केन्द्रीय कमिटी बैठकसम्म हामीले पर्खिएका छौँ, यथास्थितिमा पार्टी चल्दैन पार्टीलाई हामी मर्न दिँदैन।’

पार्टी नेतृहरू बिन्दा पाण्डे, उषाकिरण तिमल्सिना, नबीना लामा, विद्या भट्टराई लगायतका नेताहरू पनि एमाले पुस्तान्तरण रूपान्तरण र ओलीको विकल्प खोज्ने पक्षमा विगतबाट नै आवाज उठाइरहेका छन्।

मङ्सिर-पुसको एघारौँ महाधिवेशनमा एमालेले नेतृत्वका लागि ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा ओलीले आफ्नो प्यानललाई विजयी बनाउन सूची बाँडेका थिए। इलेक्ट्रोनिक मेसिनबाट मतदान भए पनि ओलीले आफ्नो समूहमा वर्चस्व कायम गर्न नेताहरूलाई गुण्डु बोलाए । तर अहिले तिनै नेताहरूले ओलीलाई साथ नदिने अवस्था बनेको छ।

एमालेको अहिले केन्द्रीय कमिटीमा ३०१ जना छन्। यीमध्ये करिब २०० जना ओलीको विपक्षमा खुल्ने गरी तयारी थालिएको छ। ओलीविरुद्ध बहुमत अर्थात् २०० नेता उभिएमा उनलाई निष्क्रिय बनाएर अर्ली महाधिवेशनतर्फ जाने संकेत नेताहरूले दिएका छन्।

अर्ली महाधिवेशनसम्मलाई कुनै एक नेतालाई नेतृत्वमा अगाडि सारेर त्यसपछाडि दोस्रो या तेस्रो तहका नेताले पार्टी हाँक्ने तयारीमा जुटेको दाबी युवा पुस्ताको छ।

एमाले सचिव शेरधन राई पनि केन्द्रीय कमिटीको बैठकपछि मात्रै कसरी अगाडि बढ्ने भन्ने विषयमा निचोड आउने बताउँछन् । उनी केन्द्रीय कमिटी बैठकसम्मलाई पर्खिदिन आग्रह गर्छन्। ‘केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। त्यसमा के के छलफल हुन्छ हेरौँला। हामीले एमाले पुनर्गठन गर्नु जरुरी छ भन्ने विषय त उठाएकै हो’, राईले भने, ‘पार्टी विधि र प्रक्रिया अनुसार चल्नुपर्छ। तल्लो तहदेखि माथिल्लो तहसम्मका पार्टी सुभेक्षुको धारणा त नेतृत्वले सुन्नै पर्यो नि ।’

उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि कसले कसलाई साथ नदिएको भन्दा जनताले के भन्छन् भन्ने महसुस गर्नुपर्ने बताउँछन्। उनी बाहिर हल्ला गर्नुभन्दा पार्टीभित्रै छलफल भएर निर्णयमा पुग्ने विश्वास व्यक्त गर्छन् ।

‘बाहिर कराउने भन्दा पार्टीमा कुरा राखिरहेकै छौं। केन्द्रीय कमिटीको बैठक पनि बस्दै छ। त्यसपछि पार्टी कसरी अगाडि बढाउने राय सल्लाह सुझाव आउँछ। त्यस सुझावअनुसार अगाडि नबढ्दा पार्टीलाई कहाँ सुख हुन्छ र ?’, गुरुङले अगाडि भने, ‘पार्टीको कुरा पार्टीभित्रै उठाउनेहरूले उठाइरहनुभएको छ। नेतृत्वले पनि कुरा मनन गर्नुभएको होला।’

एमाले अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने आवाज उठाउँदा गुरूङसँग सचिवालय बैठकमा ओलीको चर्काचर्की परेको थियो । तर त्यसबारे गुरुङ बोल्न चाहँदैनन्। उनीसमेत ११ औँ महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउँदै आफू उपाध्यक्षमा बसेका थिए । तर अहिले उनी पनि ओलीसँग कित्ताकाट गरेर बसेका छन्।

प्रकाशित मिति : ३१ जेठ २०८३, आइतबार  ७ : ३१ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो