काठमाडौं- के केवल एउटा फुटबल म्याचले दुई देशबीच यति धेरै घृणा र आक्रोश पैदा गर्न सक्छ ? जसको घाउ ४० वर्षभन्दा बढी समय बितिसक्दा पनि निको हुन सकेको छैन । के एउटा गोलले सिंगो संसारलाई दुई हिस्सामा विभाजन गर्न सक्छ ? र, के एउटा खेलाडी एउटै खेलमा खलनायक र नायक दुवै बन्न सम्भव छ ?
यदि तपाईंलाई फुटबल केवल ९० मिनेटको खेल मात्रै हो जस्तो लाग्छ भने इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको फुटबल इतिहासले तपाईंको सोच पूरै बदलिदिनेछ।
जब-जब यी दुई देश मैदानमा आमनेसामने भएर उत्रिन्छन्, त्यहाँ केवल २२ जना खेलाडी मात्रै खेलिरहेका हुँदैनन्। उनीहरूसँगै मैदानमा ओर्लिन्छ- सन् १९८२ को युद्धको पीडा, सन् १९८६ को विश्वकपको सबैभन्दा विवादित गोल, डेभिड बेकह्यामको रेड कार्ड, डिएगो म्याराडोनाको जादु र करोडौँ समर्थकहरूको आक्रोशयुक्त समर्थन-विरोध।
अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी विश्वकप फुटबलमा मा यी दुई महारथी फेरि एकपटक आमने-सामने हुँदैछन्। यही बुधबार हुने यो बहुप्रतीक्षित सेमिफाइनल भिडन्तमा विश्वभरका खेलप्रेमीहरूको नजर अडिएको छ। यो केवल एउटा फुटबल भिडन्त मात्रै हुने छैन, बरु चार दशकदेखि सल्किरहेको बदलाको त्यो ज्वाला फेरि सल्किनेछ, जसमा दुवै देश अझै जलिरहेका छन्।

शत्रुताको जड : १९८२ को फकल्यान्ड युद्ध
यो खेल बुझ्नका लागि हामी सन् २०२६ बाट करिब ४४ वर्ष पछाडि अर्थात् १९८२ मा पुग्नुपर्ने हुन्छ। इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको यो शत्रुताको जरा खेल मैदानमा मात्र सीमित छैन।
यसको मुख्य कारण दक्षिण एटलान्टिक महासागरमा अवस्थित ‘फकल्यान्ड टापु’ लाई लिएर भएको युद्ध थियो। जसमा नेपाल जोडिने गरी ब्रिटिश गोर्खासमेत इंग्ल्यान्डको तर्फबाट लडेका थिए ।
बेलायत र अर्जेन्टिनाबीचको विवादमा गोर्खा सैनिकहरूले निर्णायक र साहसिक भूमिका निर्वाह गरेका बताइन्छ। युद्धका बेला गोर्खालीहरूको बहादुरी र खुकुरीको त्रासले अर्जेन्टिनी सेनामा मनोवैज्ञानिक प्रभाव पारेको चर्चा अहिले पनि सुनिन्छ ।फकल्यान्ड युद्धमा बेलायती सेनाको पहिलो बटालियन, सातौँ गोर्खा राइफल्सलाई युद्धमा पठाइएको थियो।
त्यसबेला अर्जेन्टिनाविरुद्ध गोर्खा सैनिकहरूले फकल्यान्ड टापुका कठिन भू-भागहरूमा अत्यन्त चिसो र प्रतिकुल मौसमका बावजुद बहादुरीपूर्वक लडेका थिए। गोर्खाली त्रास: युद्ध सुरु हुनुअघि नै बेलायती पक्षले गोर्खा सैनिकहरूको वीरता र उग्र लडाकु स्वभावको प्रचार गरेको थियो, जसले अर्जेन्टिनी सेनाको मनोबल गिराउन मद्दत गरेको थियो।
बेलायती सेनाले स्ट्यान्डन र अन्य रणनीतिक क्षेत्रहरू कब्जा गर्न गोर्खालीहरूको रणकौशल र छापामार शैलीको प्रयोग गरेको थियो। यस युद्धमा गोर्खा सैनिकले प्रदर्शन गरेको बहादुरी विश्वभर चर्चित भयो। यद्यपि, नेपालीहरूलाई भाडाका सैनिकका रूपमा अरूको स्वार्थको लडाइँमा प्रयोग गरिएको भन्दै पछि नेपालमा आलोचना पनि हुने गरेको छ।
अर्जेन्टिनाले यस टापुलाई आफ्नो हिस्सा दाबी गर्थ्यो भने बेलायतले यसलाई आफ्नो नियन्त्रणमा रहेको क्षेत्र मान्थ्यो। अप्रिल २, १९८२ मा अर्जेन्टिनी सेनाले फकल्यान्डमा कब्जा जमाएपछि तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले तुरुन्तै सेना पठाइन्, त्यसपछि युद्ध सुरु भयो। ७४ दिनसम्म चलेको उक्त विनाशकारी युद्धमा करिब ९०० सैनिकले ज्यान गुमाए। बेलायतले उक्त टापुमाथि फेरि कब्जा जमायो।
युद्ध त सकियो, तर दुवै देशका जनताको मनमा रहेको आक्रोश र घृणा मेटिएन। अर्जेन्टिनीहरूलाई आफ्नो आत्मसम्मान खोसिएको महसुस भयो। बेलायतीहरूले आफ्नो भूमि जोगाएको गर्व गरे। यही भू-राजनीतिक तनावको बदला लिने मैदान बन्यो- फुटबल मैदान ।

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ र ‘शताब्दीकै सर्वोत्कृष्ट’ गोल
फकल्यान्ड युद्ध सकिएको चार वर्षपछि सन् १९८६ जुन २२ मा मेक्सिको सिटीको ऐतिहासिक एजुटेका रंगशालामा एक लाख १५ हजार दर्शकमाझ विश्वकपको क्वाटरफाइनलमा शत्रुता साँधेका यी दुई टोली पहिलोपटक आमने-सामने भए। फकल्यान्ड युद्धका बाछिटा मैदानभित्र प्रष्टै थियो। तनाव चरम चुलीमा देखियो।
खेलको ५१औँ मिनेटमा फुटबल इतिहासकै सबैभन्दा विवादित घटना भयो। अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाले बल लिएर इंग्ल्यान्डको पेनाल्टी बक्सतर्फ बढाए।
इंग्ल्यान्डका डिफेन्डर स्टिभ हजले क्लियर गर्न खोज्दा बल हावामा माथितर्फ उछिट्टियो। इंग्ल्यान्डका गोलकिपर पिटर शिल्टन त्यस बललाई समात्न उफ्रिए, तर उनीभन्दा होचा म्याराडोनाले चलाखीपूर्वक आफ्नो हातले बललाई सिधै नेटभित्र छिराइदिए।
त्यसबेला ‘भिडियो असिस्टेन्ट रेफ्री’ (भार) वा ‘गोल लाइन टेक्नोलोजी’ नभएकाले रेफ्रीले त्यसलाई गोलको मान्यता दिए। खेलपछि म्याराडोनाले ठट्टा गर्दै भनेका थिए, ‘यो गोल अलिकति म्याराडोनाको टाउकोबाट र अलिकति ‘भगवानको हात’ (ह्यान्ड अफ गड) बाट भएको हो।’
तर, म्याराडोनाको जादु यतिमा मात्रै सीमित रहेन। उक्त विवादित गोलको ठीक ४ मिनेटपछि (५५औँ मिनेटमा) म्याराडोनाले आफ्नै हाफबाट बल उठाउँदै इंग्ल्यान्डका पाँच डिफेन्डर र गोलकिपर पिटर शिल्टनलाई समेत छक्क्याउँदै ६० मिटर लामो दौडका साथ गोल गरे। सन् २००२ मा फिफाले गरेको अनलाइन भोटिङमा यसै गोललाई आधिकारिक रूपमा ‘गोल अफ द सेन्चुरी’ (शताब्दीकै उत्कृष्ट गोल) घोषणा गर्यो।
त्यसबेला एकै खेलमा एउटै खेलाडी म्याराडोनाले विश्वकै सबैभन्दा विवादित र सबैभन्दा उत्कृष्ट गोल गरेर अर्जेन्टिनालाई २-१ को शानदार जित दिलाए। अर्जेन्टिनाका लागि यो जित फकल्यान्ड युद्धको बदला र राष्ट्रिय गौरव फिर्ता पाएसरह थियो।

१९९८ को रेड कार्ड र २००२ मा बेकह्यामको ‘रिडेम्प्सन’
समय बदलियो, नयाँ पुस्ता मैदानमा उत्रियो तर यी दुई देशबीचको शत्रुता उस्तै रह्यो। सन् १९९८ को विश्वकपमा इंग्ल्यान्डका उदयीमान स्टार डेभिड बेकह्यामलाई अर्जेन्टिनाका डिएगो सिमोनीलाई लडाएपछि रेड कार्ड दिइयो। १० खेलाडीमा सीमित इंग्ल्यान्ड पेनाल्टी सुटआउटमा पराजित भयो । त्यसपछि बेकह्याम रातारात बेलायतमा खलनायक बने। उनको पुत्लासमेत जलाइयो। भौतिक आक्रमणकै कोसिससमेत भयो ।
तर, सन् २००२ को विश्वकपमा इतिहासले कोल्टो फेर्यो। समूह चरणमा फेरि यी दुई टोली भिड्दा इंग्ल्यान्डले पेनाल्टी पायो। पेनाल्टी प्रहार गर्न तिनै बेकह्याम अघि सरे। उनले शानदार गोल गर्दै टोलीलाई १-० को जित दिलाए । त्यससँगै सन् १९९८ मा गुमेको आफ्नो गुमेको साख पनि उनले फिर्ता पाए ।

२०२६ मा इतिहास दोहोरिएला ?
करिब चार दशकपछि अहिले फिफा विश्वकप २०२६ को महामञ्चमा यी दुई टोली फेरि एकपटक सेमिफाइनलमा भिड्दैछन्। अहिले न मैदानमा म्याराडोना छन्, न बेकह्याम, न त पिटर शिल्टन नै।
तर उनीहरूले छोडेर गएका कथा र इतिहास अझै जीवित छन्। म्याराडोनाको निधन भइसक्यो, बेकह्याम अमेरिकी क्लब इन्टर मियामीका मालिक छन् । जहाँबाट अर्जेन्टाइन कप्तान लियोनेल मेस्सी व्यवसायिक फुटबल खेलिरहेका छन् । मेस्सी र बेकह्यामको मित्रता अहिलेको विश्व खेल जगतमा नमुना बनेको छ।
मेस्सी र बेकह्यामको मित्रताबीच बुधबार फेरि इंग्ल्यान्ड र अर्जेन्टिना भिड्दैछन्। बेकह्यामलाई धर्मसंकट छ, एकातिर प्रिय खेलाडी मेस्सी छन्, अर्कातिर आफ्नो मातृभूमिको टोली ।
यस्तोमा इङ्ग्ल्यान्ड आफ्नो पुरानो घाउमा मल्हम लगाउँदै नयाँ इतिहास रच्ने दाउमा छ । अर्जेन्टिना आफ्नो विरासतलाई कायम राख्न चाहन्छ। यो केवल ९० मिनेटको फुटबल म्याच मात्रै होइन, यो दुई फुटबल संस्कृतिको टकराव हो, दुई देशको प्रतिष्ठाको लडाइँ हो र, विगत ४० वर्षको इतिहासको समिश्रण हो।
आगामी असार ३१ गते (जुलाई १५, २०२६) मा हुने यस ऐतिहासिक भिडन्तमा कसले बाजी मार्ला ? के इंग्ल्यान्डले आफ्नो ऐतिहासिक बदला लिन सक्ला वा अर्जेन्टिनाले आफ्नो लय कायम राख्ला ? यसको फैसला मैदानबाटै हुनेछ ।












प्रतिक्रिया