माघे संक्रान्तिका परिकार ‘सुपर फुड’ « Khabarhub

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा, मौसम र स्वास्थ्यसँग गहिरो रूपमा जोडिएको चाडका रूपमा मनाइन्छ । विभिन्न जाति तथा समुदायले आ–आफ्नै संस्कृति अनुसार माघे संक्रान्ति मनाए पनि यस दिन खाइने तरुल, सखरखण्ड पिँडालु, चाकु तिलको लड्डु, खिचडी लगायतका परिकारहरूमा भने समानता देखिन्छ ।

फरक फरक चाड पर्वमा मौसम सुहाउँदो परिकार जस्तै दशैँ–तिहारमा माछामासु र मिठाई विशेष मानिएझैँ माघे संक्रान्तिमा खाइने यी परिकार पनि चिसो मौसमका लागि उपयुक्त मानिन्छन् ।

चिसो मौसममा शरीरले बढी ऊर्जा खर्च गर्ने भएकाले माघे संक्रान्तिमा खाइने परिकारहरू पोषण र स्वास्थ्यका दृष्टिले अति उपयोगी मानिने पोषणविद् बताउँछन् । त्यस्तै विभिन्न रोगका विषयमा विज्ञता हासिल गरेका विज्ञ चिकित्सकहरू चाडपर्वमा खाइने परम्परागत परिकारहरू एकदमै स्वस्थबद्धर्क भएको दावी गर्छन् ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफ्नो युट्युब च्यानलमार्फत एक सन्देश दिँदै चिसो मौसम र हाम्रो परम्परासँग जोडिएका ‘तिल’ सामान्य गेडागुडी नभई ‘सुपर फुड’ वा ‘म्याजिक फुड’ भएको बताएका छन् ।

विशेष गरी जाडोयाम र माघे संक्रान्तिका बेला नेपाली भान्सामा तिलको लड्डु वा अचार खाने परम्परा छ । हाम्रा पुर्खाहरूले चलाएको यो चलन वैज्ञानिक दृष्टिकोणले समेत निकै बुद्धिमानीपूर्ण रहेको पुष्टि हुने उनी बताउँछन् ।

डा. अनिलका अनुसार फाइबरको भण्डार मानिएको तिलले कोलेस्ट्रोल र ट्राइग्लिसराइड नियन्त्रणमा राख्न काम गर्छ भने यसलाई प्रोटिनको उत्कृष्ट स्रोत पनि मानिएको छ । रक्तचाप र मुटुको सुरक्षा, हाडजोर्नीका लागि वरदान, इन्फ्लामेसन कम गर्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, भिटामिन बी को स्रोत, रगतको कमी हुन दिँदैन ।

रजोनिवृत्तिमा सहजता, जाडोमा जोर्नी दुख्ने, बाथ रोग बल्झिने र रोग प्रतिरोधात्मक क्षमता कम हुने समस्यालाई तिलले प्राकृतिक रूपमै समाधान गर्न यसले मद्दत पुर्‍याउने उनको दाबी छ ।

माटोमुनि फल्ने कन्दमूल : जाडोको ऊर्जा स्रोत
माघे संक्रान्तिका प्रमुख परिकार मानिएका कन्दमूल तरुल र सखरखण्डमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ ।

साथै फाइबर, पोटासियम, फस्फोरस र अन्य खनिज पदार्थको मात्रा बढी हुने भएकाले पाचन प्रणालीलाई समेत सहयोग पुग्छ । कब्जियतको समस्या भएकालाई यी कन्दमूल उपयोगी हुने पोषणविद् भुपाल बानियाँ बताउँछन् ।

उनका अनुसार तरुल र सखरखण्डले शरीरलाई तताउने काम गर्नुका साथै जाडोमा आवश्यक ऊर्जा प्राप्त हुन्छ । केही मात्रामा क्याल्सियमको आवश्यकता पनि पूरा गर्ने भएकाले यी परिकार स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

सन्तुलित र सजिलै पच्ने भोजन : खिचडी 
पोषणविद् बानियाँका अनुसार दाल, चामल र विभिन्न मसला मिसाएर बनाइने खिचडीलाई सन्तुलित भोजनका रूपमा लिइन्छ । यसमा कार्बोहाइड्रेट, भिटामिन, फाइबर, क्याल्सियम, म्याग्नेसियम र पोटासियम प्रशस्त मात्रामा पाइन्छ । मुलायम र सजिलै पच्ने भएकाले बिरामी अवस्थामा समेत खिचडी खाने चलन रहेको छ ।

खिचडीले शरीरलाई ऊर्जा दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने बताइन्छ । पित्त र कफसम्बन्धी समस्यामा पनि यो उपयोगी मानिने उनले बताए ।

चाकु र तिलको लड्डु : शक्ति दिने खान्की
माघे संक्रान्तिमा चाकु र तिलको लड्डु नखाई पर्व अधुरोजस्तै मानिन्छ । घिउ, तिल, बदाम, नरिवल र अन्य नट्स मिसाएर बनाइने चाकुमा क्यालोरीको मात्रा धेरै हुन्छ ।

तिल आइरनको राम्रो स्रोत भएकाले यी परिकारले शरीरलाई शक्ति प्रदान गर्ने पोषणविद् बानियाँले बताए । तर यी परिकार सीमित मात्रामा खान उनको सुझाव छ ।

धेरै खाँदा हुने बेफाइदा 
पर्वको नाममा जथाभावी खाने बानी स्वास्थ्यका लागि हानिकारक हुन सक्नेतर्फ पोषणविद् बानियाँले सचेत गराएका छन् । उनका अनुसार तरुल र सखरखण्डमा कार्बाेहाइड्रेटको मात्रा बढी हुने भएकाले मधुमेह भएका व्यक्तिले धेरै सेवन गर्दा समस्या हुन सक्छ ।

त्यस्तै चाकु र तिलको लड्डु अत्यधिक खाँदा तौल वृद्धि र अन्य स्वास्थ्य समस्या देखिन सक्छ । मिर्गौला, मुटु रोगी तथा दीर्घरोगीले यस्ता परिकार सेवन गर्दा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुने पोषणविद् बानियाँको सुझाव छ ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ४३ बजे

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित

आयोगमा निवेदन दिएर फर्किए गगनसहितका नेता (तस्बिरहरू)

काठमाडौं– गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति गराउनु पहिलो प्राथमिकता : मुख्यमन्त्री बानियाँ

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नागरिकलाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउनु

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै