काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको छ । अमेरिकाले दक्षिण चीन सागरबाट क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको हो ।
मध्यपूर्वको इरानमा पछिल्लो समय सरकारविरोधी आन्दोलन चर्किरहेको छ । उक्त आन्दोलनलाई समर्थन जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणको धम्की दिइरहेका बेला पछिल्लो घटनाक्रम विकसित भएको हो ।
अमेरिकी सेनाको यूएसएस अब्राहम लिङ्कन नामक लडाकु विमानवाहक युद्धपोतसहितका स्ट्राइक ग्रुप परिचालन गर्न लागिएको न्यूज नेसनले जनाएको छ । यस युद्धपोतका समूहमा यूएसएस अब्राहम लिङ्कनका साथै आक्रामक पनडुब्बी र अन्य विभिन्न किसिमका नौसैनिक जहाज रहेको जनाइएको छ ।
अब यी युद्धपोत अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड मातहत आउने समाचारमा उल्लेख छ । यस कमाण्डमा मध्यपूर्व, दक्षिण एशिया र उत्तर अफ्रिकाका २१ मुलुक समावेश छन् ।
यसअघि इरानले गत बुधबार राजधानी तेहरान आसपासको आकाशमा हवाई उडानमा बन्देज लगाएको थियो । त्यसैगरी, कतारमा रहेको अमेरिकी सैन्य अखडाबाट पनि केही सैनिकलाई हट्न आग्रह गरिएको छ ।
उता बेलायतले भने अत्यावश्यकबाहेक अमेरिकाको निकटस्थ साझेदार इजरायलको यात्रा नगर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ ।
गत वर्ष पनि इजरायल र इरानबीच द्वन्द्व हुँदा अमेरिकाले इरानका महत्वपूर्ण आणविक निशानालाई लक्षित गरी आक्रामण गरेको थियो ।
पछिल्लो समय इरानमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेको छ । आन्दोलनका क्रममा हालसम्म २ हजारभन्दा धेरैको ज्यान गइसकेको जनाइएको छ ।
इरानको राज्यसञ्चालित टेलिभिजनले राष्ट्रपति ट्रम्पलाई आफ्नो मुलुकमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा हत्याप्रयास हुँदाको तस्बिर प्रसारण गर्दै टेलिभिजनले यसपटक भने ‘गोलीको निशाना नचुक्ने’ चेतवानी दिएको छ ।
ट्रम्पले भने इरानबाट आउने यस्ता धम्कीको बेवास्ता गर्दै आएका छन् ।













प्रतिक्रिया