राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल « Khabarhub

राष्ट्रिय सभामा पुगे गृहमा दोहोरिन सक्छन् ओमप्रकाश अर्याल


१ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिकहाँ सिफारिस गरिएको छ।

सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत् अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरेर पठाउने निर्णय गरेको हो

उक्त कुराको जानकारी सरकारका प्रवक्तासमेत रहेका अर्यालले आइतबार मन्त्रिपरिषद् बैठकपछि आफैं दिएका हुन् ।

‘राष्ट्रिय सभाको रिक्त एक पदका लागि गुल्मीका ओमप्रकाश अर्यालको नाम राष्ट्रपति रामचन्द्र पौडेलकहाँ प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गर्ने सन्दर्भमा निवेदन पठाउने निर्णय भएको छ’, उनैले भने ।

यदि सिफारिस अनुसार राष्ट्रपतिले अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय लिए बालेन्द्र शाह प्रधानमन्त्री हुँदा गृहमन्त्रीमा निरन्तर रहने सम्भावना बलियो छ। अर्थात्, सुशीला कार्की क्याबिनेटमा रहेर निर्वाचन सफल बनाउन मुख्य भूमिका खेलेका उनी बालेन्द्र क्याबिनेटको पनि सदस्य हुन सक्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको शीर्षस्थ स्रोत र बालेनको सचिवालयले पनि गृहमन्त्रीमा अर्याल दोहोरिने सम्भावना उच्च रहेको जनाएका छन् । ‘निर्णय भएको छैन, तर गृहमन्त्रीका लागि उहाँ योग्य र सक्षम हुनुहुन्छ भन्ने विश्लेषण गरेका छौं । उहाँ दोहोरिने सम्भावना छ’, बालेननिकट स्रोतले भन्यो, ‘यसबारे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्रबीच छलफल चलिरहेको छ, तर समानुपातिकका नाम निर्वाचन आयोगले टुंगो लगाइनसकेकाले निर्णय भने भएको छैन।’

निर्वाचन आयोगले समानुपातिकका सांसदको सूचीलाई पनि विजेताका रुपमा घोषणा गरिसकेपछि बालेन्द्रलाई रास्वपा संसदीय दलको नेता बनाउने तयारी भएको छ।

यता प्रधानमन्त्री कार्कीले पनि बालेन्द्रलाई गृहमन्त्रीमा अर्याल दोहोर्‍याउँदा घाटा नहुने सुझाव दिएको स्रोतले दाबी गरेको छ।

तर प्रधानमन्त्रीको सचिवालयका एकजना सदस्यले भने यसबारे कुनै जानकारी नभएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्की र भावी प्रम बालेन्द्रको केमेस्ट्री विगतदेखि नै मिल्दै आएको छ । त्यहीकारण प्रम कार्कीका सल्लाह बालेनले ग्रहण गर्ने गरेका छन् । बालेनका सुझाप पनि प्रम कार्कीले स्वीकार्ने गरेकी छन् ।

अर्यालकै नेतृत्वमा बन्न सक्छ समिति

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले फागुन २४ गते नै प्रतिवेदन बुझाइसकेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बुझेको प्रतिवेदन आइतबार मन्त्रिपरिषद् बैठकमा पेश गरेकी छन्। मन्त्रिपरिषद्मा प्रतिवेदन पेश भएपछि अध्ययन गर्ने निर्णय भएको छ। तर सार्वजनिक गर्नेबारे सरकार अझै मौन छ ।

गृहमन्त्री अर्यालले आइतबार पनि उक्त प्रतिवेदनबारे सोमबार निर्णयको विस्तृत विवरण सार्वजनिक हुने बताएका छन् । सरकारले आइतबार नै अर्यालकै संयोजकत्वमा अध्ययन समिति गठन गरेको बताइए पनि पुष्टि भएको छैन । उनले पनि यो कुरा अस्वीकार गरे ।

आइतबारको मन्त्रिपरिषद् बैठकले उनकै संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरिसकेको ती मन्त्रीको दाबी छ।

‘गृहमन्त्रीज्यूकै संयोजकतामा अध्ययन-ग्रहण समिति गठन गर्ने निर्णय भइसकेको छ। यसको औपचारिक जानकारी सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुँदा हुन्छ’, ती मन्त्रीले भने,‘निर्दलीय सरकारको गृहमन्त्री भएका नाताले उहाँसहित विषय विज्ञहरूको अध्ययन टोली गठन हुन्छ ।’

बालेनले दोहोर्‍याउन सक्छन् अर्याल

मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय सभामा पठाउने निर्णयसँगै उनी आगामी सरकारमा पनि गृहमन्त्रीकै रुपमा दोहोरिने सम्भावना छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न पनि उनको आवश्यक ठानिएको हो ।

बालेन्द्रलाई सहज रुपमा सरकार चलाउने सहयोगका लागि अर्याललाई लैजान खोजिएको हो । बालेन सकेसम्म आफूभन्दा सिनियरलाई लैजाने पक्षमा छैनन् । त्यहीअनुसार काठमाडौं महानगरमा हुँदा कानुन सल्लाहकार रहेका अर्याललाई गृहमन्त्रीमा दोहोर्‍याउने तयारी उनले गरेका छन्।

तर यसको औपचारिक निर्णय रास्वपा र बालेन्द्रले राष्ट्रपतिबाट सरकार गठनको आह्वान गरेपछि मात्रै लिनेछन् । ‘गृहमन्त्रीमा अर्याल दोहोरिन सक्ने सम्भावनाको हामीले पनि अड्कल काटेका छौँ । यो भनेको बालेन्द्रलाई सहज होस् भन्नका लागि हो’, रास्वपा उच्च स्रोत भन्छ,‘गैरदलीय सरकारका गृहमन्त्री भएकाले आयोगको प्रतिवेदन कार्यान्वयन र अरू कामलाई निरन्तरता दिन उहाँ योग्य हुनुहुन्छ भन्ने लागेको छ।’

अर्याल गृहमन्त्री हुनुअगाडि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्रका कानुनी सल्लाहकार थिए । पछि सम्बन्ध बिग्रिएको भनिए पनि त्यो सत्य नरहेको बालेन्द्रको सचिवालयका एक सदस्य बताउँछन् ।

गृहमन्त्रीमा अर्याल दोहोरिने चर्चाबीच रास्वपाका केही नेता भने उनलाई रोक्ने कोसिसमा छन् । रास्वपाका केही नेताहरूले यसबारे रविलाई आग्रह गरिरहेका छन् । तर बालेन्द्रले चाहे रविले रोक्ने सम्भावना न्यून नरहेको नेताहरू बताउँछन्। आइतबार बसेको केन्द्रीय सचिवालय बैठकमा पनि रविले आफूखुसी मन्त्री घोषणा गर्दै नहिड्न नेताहरू भनेका छन् । त्यसका आधारमा पनि रवि र बालेन्द्रले गृहमन्त्रीमा अर्यायाललाई दोहोर्‍याउने सम्भावनाको आँकलन गरिएको हो ।

यसअगाडि गृहमन्त्रीमा रास्वपा उपसभापति डीपी अर्यालको चर्चा थियो । अहिले पनि उनी त्यो दौडमै छन् । तर सुशीला कार्कीको सिफारिस र बालेनको रुचीअनुसार बढी सम्भावना अर्यालकै छ।

‘डीपी अर्यालजी रवि लामिछानेका दाहिने हात हुन् । उहाँ यसअगाडि श्रम मन्त्री बनिसक्नुभएको छ। बालेनको रोजाइमा डीपी गृहमन्त्री बन्ने सम्भावना कमजोर छ’, एक नेता भन्छन्, ‘सरकारले परिणाममुखी काम गर्न गृहमन्त्रीमा अर्याललाई दोहोर्‍याउने नै उच्च सम्भावना हामीले देखेका छौँ ।’

रास्वपाका एक शीर्ष नेताका अनुसार बालेन्द्र र रविबीच यो विषयमा कुराकानी भएको छ । तर सबै निर्वाचन परिणाम आइनसकेकाले ठोस निर्णय भइसकेको छैन ।

‘मैले पनि केही कुरा सुनेँ, दुई शीर्ष नेताबीच कुराकानी भएको भए हामीलाई जानकारी छैन’, उनले भने, ‘वर्तमान गृहमन्त्रीलाई राष्ट्रिय सभामा लैजानुको केही उद्देश्य त पक्कै छ। हामीलाई लाग्छ, बालेन्द्रले उहाँलाई त्यही मन्त्रालयमा लैजाने सम्भावना उच्च छ।’

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ६ : ५१ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका