‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’ « Khabarhub

‘चुनावी सुनामीले कांग्रेसलाई बगायो, अन्तरघात मात्रै कारण होइन’

निवर्तमान सभापति देउवासँग कुरा हुन सकेको छैन



काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले २०४८ यता जित्दै आएको गृहजिल्ला डडेल्धुरामा यसपटक नतिजा उल्टियो । डडेल्धुरा मात्रै होइन, जेन–जी आन्दोलनपछि रुपान्तरणको नारा बोकेका सभापति गगनकुमार थापासमेत सर्लाही–४ बाट पराजित भए । पराजयपछि केही क्षेत्रका कांग्रेस उम्मेदवार हराउन निवर्तमान संस्थापन पक्ष अर्थात् देउवा समूहको हात रहेको चर्चा छरपष्ट छ । तर नतिजा हेर्दा अन्तघातले मात्रै कांग्रेस हारेको भन्ने अवस्था छैन । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको चुनावी लहरले कांग्रेससहित पुराना दललाई बढारिदिएको छ ।

आश्वासन दिएर काम नगर्ने पुराना दलको नियतबाट आजित मतदाताले यसपटक नयाँलाई परीक्षण गर्न चाहे । त्यही घानमा ४ दशकदेखि डडेल्धुरामा कायम कांंग्रेसको विरासत भत्किँदा नेता नैनसिंह महर पराजित हुन पुगे । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ताराप्रसाद जोशीले सात हजार १० मतले हराए । महरको पराजयमा यतिबेला सिंगापुरमा रहेका देउवाबाट भएको अन्र्तघातको चर्चा छ । देउवाले महरलाई हराउन सिंगापुरबाट सयौँ मतदातालाई फोन गरेको समाचार एकपछि अर्को भाइरल भइरहेका छन् ।

त्यस चर्चामा सत्यता छ वा छैन, देशभरको लज्जास्पद नतिजापछि पार्टीले अझैसम्म चुनावी समीक्षा गरेको छैन । आइतबार मात्रै समानुपातिक सांसद सिफारिसका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । यति ठूलो चुनावी धक्का व्यहोरेको कांग्रेसको अबको रणनीति के होला ? कांग्रेस धुल टक्टक्याउँदै कसरी अघि बढ्ला ? डडेल्धुरामा आफैँ पराजित हुन पुगेका कांग्रेस नेता नैनसिंह महरसँग खबरहबले गरेको कुराकानीको सम्पादित अंश :

कांग्रेसको गढमा समेत जित निकाल्न सक्नु भएन । यहाँलाई कहाँनिर बल पुगेन ?

म कांग्रेसको विरासत जोगाउन डडेल्धुरा गएको हुँ । हामीले लामो समयदेखि जनताको माग र समस्या पहिचान गरेर समयानुकूल रणनीति बनाउन सकेनौँ । जसकारण पार्टी समय सान्र्दभिक बनेन । त्यहीकारण म लगायत सयौँ उम्मेदवारले पराजय ब्यहोर्नुपरे जस्तो लाग्छ ।

पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि पार्टी बदलिएको भाष्यसहित निर्वाचनमा होमिए पनि लज्जासपद हार हुनुको कारण के हो जस्तो लाग्छ ?

अब एक डेढ हप्ताभित्र पार्टीले समष्टिगत समीक्षा गर्ने तयारी भइरहेको छ । त्यसपछि कहाँ, को, के कारणले पराजित भइयो, के कमजोरी भयो, पराजित गराउन क–कसको भूमिका रह्यो भन्ने वडा तहबाटै छलफलसहित रिपोर्ट संकलन गरेर समीक्षा गर्नेछौं । त्यसपछि कारण बाहिर आउनेछ ।

तपाईं तत्कालीन सभापति देउवानिकट भए पनि विशेष महाधिवेशनबाट नेतृत्व लिएका गगनकुमार थापाको हातबाट टिकट लिएर चुनावमा होमिनुभयो । निर्वतमान सभापतिको क्षेत्रमा जाँदै गर्दा उहाँको साथ मिल्यो कि मिलेन ?

म निर्वतमान सभापति शेरबहादुर देउवानिकट रहेर काम गरेको नेता हुँ । उहाँको परिवार र सचिवालयले सुझाएरै टिकट लिएको थिएँ । उम्मेदवारी दर्ताको समयमा मध्यराति १२ बजे शेरबहादुर दाइले म लड्दिनँ भनेपछि उहाँनिकट सबैको सहयोगले नै मैले टिकट पाएको थिएँ । टिकट लिइसकेपछि भने उहाँहरूसँग कुनै संवाद हुन सकेन ।



टिकट लिएर डडेल्धुरा जाँदा र नतिजा आफ्नो पोल्टामा नपरेर फर्किनुपर्दा यहाँको मानसपटलमा कस्ता सोच आए ?
प्रजातन्त्रमा हारजित जे हुन्छ, स्वीकार्नु यसको विशेषता हो । हामीले जितलाई मात्रै महत्व दिइरहेका हुन्छौं । प्रजातान्त्रिक विचार बोकोर लामो समयदेखि यसकै लागि लडेकाले निर्वाचनमा सहभागी हुँदा आएको परिणामलाई स्वीकार्न तयार हुनुपर्छ ।

म पनि त्यहीँ धारणासाथ डडेल्धुरा गएको थिएँ, जितेको भए गजबै हुन्थ्यो तर पराजयबाट म हतोत्साहित छैन । त्यसकारण निर्वाचन जित्ने–हार्ने मेरो उद्देश्य अहिलेलाई सकिएको छ । कांग्रेसलाई अहिले देशभर आएको सुनामीले बालुवा बनाएको छ । दल र उम्मेदवारप्रति जनताको विश्वास सधैँ एकै रहँदैन । त्यसैले त्यो बालुवामा जरा गाडेर विरुवा उमार्दै पालुवा पलाउने बनाउनुपर्छ । त्यसलाई हराभरा बनाउँदै पार्टी पुनःनिर्माण गर्नुपर्ने छ । त्यसका लागि बहुपक्षीय छलफलमा छु ।

निर्वाचनको यति ठूलो धक्कापछि कांग्रेसले अब आफूलाई कसरी उभ्याउँछ ?

अहिलेसम्म कसैले पनि निर्वाचन समीक्षाको खाका पेश गरेको छैन । हिजोको अवस्था अब कसैको रहेन । देशभर चुनावी सुनामीले हामीसहित पुराना दललाई बालुवा बनाइसकेपछि अहिले त्यहाँ कुनै बुट्यान पातपतिङ्गर छैन । अब हिजोका गल्ती, कमजोरी सच्याउँदै नयाँ सुरुवात गर्ने हो । जनसम्पर्क बढाउँदै, जनतामै भिजेर जनचाहानाअनुरुप नयाँ बनेर अगाडि बढ्ने हो । त्यसकारण हिजोका लेनदेन, आग्रहपूर्वाग्रह, सर्मथन र विरोध सबै डिलिट गरेर नयाँ ऊर्जासहित पार्टी र आफूलाई समयसापेक्ष बदलेर बलियो बनाउन अगाडि बढ्ने हो ।

सभापतिले चुनावी नतिजापछि नैतिकताको आधारमा राजीनामा दिन्छु भन्नुभयो । नेतृत्व पुनगर्ठनको सम्भावना छ ?

यो विषयमा म व्यक्तिगत रुपमा जान चाहन्न । पार्टीको आधार खोज्नुपर्ने अवस्था छ, त्यसका लागि कसले के त्याग्नुपर्ने हुन्छ, सबै अवस्थाका लागि तयार रहेर काम गर्ने हो । अन्यथा, पार्टीको अस्तित्व संकटमा पर्छ ।

निर्वतमान सभापति देउवा फागुन १९ गते फर्किने बताउँदै सिंगापुर उड्नुभएको तर, फर्किनुभएन । उतैबाट यहाँलाई हराउन भूमिका खेलेको खबर आए । त्यसमा सत्यता छ ?

मेरो क्षेत्रमा ४६ हजार हाराहारीमा मत खसेको थियो । त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ताराप्रसाद जोशीको मतसमेत मलाई आएको भन्ने मेरो विश्वास हो । घात–अन्तरघात भए–भएन भन्नेबारे मैले यहाँलाई भनिसकेँ । विपक्षी उम्मेदवारसम्मले मलाई मत दिएको विश्वास राखेको छु । अन्य कुरामा अब तलबाट रिपोर्ट आउला । तर त्यसको पनि कुनै अर्थ रहँदैन । घात–अन्तरघातले मात्रै पार्टीमा यो अवस्था भएको छैन । त्यसैले पार्टी सुधारका लागि खटेको छु ।

विशेष महाधिवेसनपछिको समूह र निर्वतमान संस्थापन पक्ष अझै पनि दुई धारमा छन्, पार्टीलाई बलियो बनाउन निर्वतमान सभापतिसँग संवाद भएको छ ?

उहाँ उपचारका लागि सिंगापुर जानुभएको छ । उपचारपछि फर्किने आशा गरेका छौँ । अहिले मेरो औपचारिक रुपमा दोहोरो संवाद भएको छैन ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ०८ बजे

जेसीबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१६ फारमस्थित पूर्व–पश्चिम राजमार्गमा आज

स्ट्रेट अफ हर्मुजबाट बाहिरिन थाले जहाज

काठमाडौं- इरान र अमेरिकाबीचको तनावका कारण लामो समयदेखि ठप्प रणनीतिक

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा