काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश कार्कीले आफ्नो जीवनयात्रा, शिक्षा र उद्यमशीलताको अनुभव सार्वजनिक गरेका छन्।
काठमाडौंस्थित भारतीय दूतावासमार्फत प्रकाशित अन्तर्वार्तामा उनले खोटाङको सामान्य शिक्षक परिवारबाट सुरू भएको आफ्नो यात्रा भारतको प्रतिष्ठित राष्ट्रिय प्राविधिक संस्थान (एनआईटी) कुरुक्षेत्रसम्म पुग्दै उद्यमशीलतामा प्रवेश गरेको बताएका छन्।
कार्कीले आफू ग्रामीण परिवेशमा हुर्किएको बताउँदै जहाँ बैंक तथा वित्तीय पहुँच सीमित रहेको सुनाए । त्यही अनुभवले पछि लेनदेनक्लबको अवधारणा निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताए।
गाउँमा आपतकालीन आवश्यकताका लागि छिमेकी र समुदायबीचको विश्वासमा आधारित ऋण प्रणालीलाई उनले पछि प्रविधिमार्फत ठूलो स्तरमा विस्तार गर्ने सोच विकास गरेका थिए।
उनले २००७–०८ मा प्राप्त कम्पेक्स छात्रवृत्तिलाई आफ्नो जीवनको निर्णायक मोडको रूपमा वर्णन गरेका छन्। उक्त छात्रवृत्तिमार्फत उनले भारतमा इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ अध्ययन गर्ने अवसर पाए । जसले आर्थिक भार कम गर्नुका साथै नयाँ अवसरहरूको ढोका खोलिदिएको उनको भनाइ छ।
कुरुक्षेत्रमा अध्ययनका क्रममा उनले एरोमोडेलिङ क्लब स्थापना, विद्यार्थी नेतृत्व, प्रविधि परियोजना तथा सांस्कृतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको बताए । यी अनुभवले नेतृत्व, टोली कार्य र समस्या समाधान क्षमतामा ठूलो योगदान दिएको उनले बताएका छन्।
Dipesh Karki @deepeshkarkee, co-founder of LenDenClub, one of India's leading peer-to-peer lending platforms, shared his experience with @IndiaInNepal.
— IndiaInNepal (@IndiaInNepal) June 15, 2026
He reflected on how the COMPEX Scholarship and his experiences in India helped shape his entrepreneurial journey.
Full… pic.twitter.com/ymDjcRoneM
कार्कीका अनुसार भारतको तीव्र डिजिटल रूपान्तरण, फिनटेक विकास र उद्यमशील वातावरणले लेनदेनक्लब विस्तार गर्न महत्वपूर्ण आधार प्रदान गरेको थियो।
यसबाट डिजिटल भुक्तानी प्रणाली, वित्तीय समावेशन र नियामक सुधारले पियर–टु–पियर लेन्डिङ व्यवसायलाई सहज बनाएको उनले बताए।
उनले नेपाल र भारतबीचको शैक्षिक सहकार्यलाई जोड दिँदै कम्पेक्स जस्ता कार्यक्रमले हजारौँ विद्यार्थीको जीवन परिवर्तन गरेको उल्लेख गरे। छात्रवृत्तिले केवल आर्थिक सहयोग मात्र नभई आत्मविश्वास र अवसर विस्तार गर्ने महत्वपूर्ण भूमिका खेल्ने उनको अनुभव छ।
कार्कीले भविष्यका विद्यार्थीहरूलाई ‘डिग्रीका लागि मात्र नभई दृष्टिकोण विस्तारका लागि अध्ययन गर्न’ आग्रह गर्दै शिक्षा, नवप्रवर्तन र उद्यमशीलता नै नेपालको आगामी विकासको आधार हुनुपर्ने धारणा राखे।
उनले नेपालमा अनुसन्धान, स्टार्टअप, र संस्थागत विकासमा जोड दिनुपर्ने उल्लेख गर्दै सही अवसर र वातावरण पाए नेपाली युवाले विश्वस्तरीय उद्यम निर्माण गर्न सक्ने विश्वास व्यक्त गरे।












प्रतिक्रिया