तेहरान- अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मङ्गलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ। साथै, इरानी बन्दरगाहतर्फ आउने–जाने जहाज रोक्ने उद्देश्यले नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ। इरानले यस कदमले युद्धविराम तथा शान्ति वार्तासम्बन्धी सहमति प्रभावकारी रूपमा समाप्त भएको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरान वार्तामा नआए अर्को सातादेखि इरानका विद्युत् उत्पादन केन्द्र र रणनीतिक पुललाई लक्षित गरी आक्रमण अझ विस्तार गरिने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरान वार्तामा सहमत नभएसम्म ऊर्जा पूर्वाधार र रणनीतिक संरचनामाथिको अभियान जारी रहने बताए। यसअघि हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि अतिरिक्त शुल्क लगाउने योजना भने उनले फिर्ता लिएका थिए ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले पछिल्लो आक्रमणको उद्देश्य हर्मुज जलघाँटीमा व्यावसायिक जहाजमाथि आक्रमण गर्न प्रयोग हुने इरानी सैन्य क्षमता कमजोर पार्नु रहेको जनाएको छ। सेन्टकमका अनुसार गत साताभित्र इरानले सातवटा व्यापारिक जहाजमाथि आक्रमण गर्दा करिब एक दर्जन चालकदलका सदस्यको मृत्यु, बेपत्ता वा घाइते भएका छन्। निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही ठहर गरिएको सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले बताए।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, हर्मुज नजिकको केशम टापु तथा अन्य स्थानमा विस्फोट भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार अमेरिकी आक्रमण बुसेहर प्रान्तका विभिन्न क्षेत्र, इरानको एकमात्र नागरिक आणविक विद्युत् केन्द्र तथा इराक र कुवेत सीमावर्ती क्षेत्रसम्म केन्द्रित थियो।
यसको प्रत्युत्तरमा इरानी सेनाले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण गरेको इरानी सरकारी समाचार एजेन्सी इरनाले जनाएको छ। साथै, इस्लामिक रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी सैन्य सुविधा र आवासीय संरचनालाई लक्षित गरी मिसाइल तथा ड्रोन प्रहार गरिएको दाबी गरेको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू गर्ने निर्णयले वासिङ्टनसँग द्वन्द्व रोक्न भएको इस्लामाबाद सम्झौतालाई प्रभावहीन बनाएको बताए।
अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका अनुसार हर्मुज जलघाँटीमा दुईवटा जहाजमाथि भएको आक्रमणमा दुई चालकदल सदस्यको मृत्यु भएको छ। ओमानको तट नजिक अज्ञात विस्फोटका कारण नर्वेली तेल ट्याङ्करमा क्षति पुगेको एमटिआई नेटवर्कले जनाएको छ। कुवेतले पनि इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा प्रहार हुँदा चार सैनिक घाइते भएको जनाएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार हर्मुज हुँदै आवतजावत गर्ने जहाजमाथि प्रस्तावित २० प्रतिशत अतिरिक्त शुल्क हटाएर त्यसको सट्टा खाडीका साझेदार राष्ट्रसँग व्यापार तथा लगानी सम्झौता गर्ने निर्णय गरिएको जानकारी दिएको थियो। उनका अनुसार ती सम्झौतामार्फत अमेरिकी अर्थतन्त्रमा थप लगानी भित्र्याइनेछ।
इरानी सञ्चारमाध्यम र सरकारी विवरणका आधारमा एएफपीले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत सातादेखिको अमेरिकी आक्रमणमा इरानमा कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ।
क्षेत्रीय तनाव बढ्दै जाँदा बहराइनले इरानबाट प्रहार गरिएका अधिकांश हवाई आक्रमण निष्क्रिय बनाइएको दाबी गरेको छ। जोर्डनले पनि इरानबाट प्रहार गरिएका चारवटा क्षेप्यास्त्र खसालेको जनाएको छ।
यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले इजरायलमाथि आक्रमण गरे कडा प्रतिकार गरिने चेतावनी दिएका छन्। दक्षिणी सहर डिमोनाबाट सम्बोधन गर्दै उनले इजरायलमाथि हुने कुनै पनि आक्रमणको निर्णायक जवाफ दिइने र विगतजस्तो मौन नबस्ने स्पष्ट पारे।












प्रतिक्रिया