तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा आसपासका बन्दरगाह क्षेत्रमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव फिर्ता लिएको केही घण्टामै अमेरिकी आक्रमण पुनः तीव्र भएको हो। यससँगै मध्यपूर्वमा जारी युद्धका कारण विश्वव्यापी ऊर्जा बजारमा पुनः मूल्यवृद्धिको दबाब देखिएको छ।
तेहरानले विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरूमध्यमा आफ्नो नियन्त्रण रहने अडान दोहोर्याएको छ। गत फेब्रुअरीको अन्त्यमा अमेरिका–इजरायल आक्रमणअघि उक्त जलमार्ग अन्तर्राष्ट्रिय जहाजहरूको स्वतन्त्र आवागमनका लागि खुला रहेको थियो।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजिसी) ले अमेरिकी नाकाबन्दीले विश्वव्यापी तेल तथा ग्यास आपूर्तिमा ठूलो असर पार्ने चेतावनी दिएको छ। उसले अमेरिका र उसका सहयोगी राष्ट्रका अन्य समुद्री मार्गसमेत प्रभावित हुन सक्ने जनाएको छ।
गार्ड्सले ‘यदि यस क्षेत्रबाट तेल तथा ग्यासको ढुवानी सुरक्षित रह्यो भने सबै देश लाभान्वित हुनेछन्, तर युद्ध चर्किए कसैले पनि यसको लाभ लिन नसक्ने’ चेतावनी दिएको छ।
इरानका उपविदेशमन्त्री काजेम गरिबाबादीले गत महिना भएको अन्तरिम युद्धविराम तथा शान्ति वार्ताको समझदारीलाई अमेरिकी निर्णयले ध्वस्त पारेको टिप्पणी गरेका छन् ।
लगातार पाँचौँ दिन जारी सैन्य कारबाहीका क्रममा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले इरानको तटीय क्षेत्रका जलमार्ग र दर्जनौँ सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। सेन्टकमका अनुसार ती आक्रमणको उद्देश्य ‘व्यापारिक जहाज तथा नागरिक कर्मचारीलाई धम्की दिने इरानी क्षमता कमजोर बनाउनु’ हो।
इरानी सञ्चारमाध्यमका अनुसार बन्दर अब्बास, केशम टापु र बन्दर इमाम खोमेनी क्षेत्रमा विस्फोट भएका छन्। आक्रमणपछि बहराइनमा साइरन बजाइएको थियो भने कुवेत र जोर्डनले इरानबाट प्रहार गरिएका ड्रोन तथा मिसाइलहरू अवरोध गरेको बताएका छन्।
इरानी सरकारी समाचार संस्था आईआरएनएले जोर्डनस्थित अमेरिकी लडाकु विमान रहेको सैन्य अड्डामा इरानले ड्रोन आक्रमण गरेको जनाएको छ। फक्स न्यूजका अनुसार राष्ट्रपति ट्रम्पले तेहरान वार्तामा नफर्किए अर्को साता विद्युत् केन्द्र र पुलहरूमा थप आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।
आईआरजिसीले अमेरिकी आक्रमण जारी रहेसम्म होर्मुज जलडमरूमध्य बन्द रहने र जबाफी कारबाही पनि निरन्तर जारी रहने जनाएको छ।
सेन्टकमका प्रमुख एडमिरल ब्राड कुपरले गत सातामात्र इरानले सात वटा व्यापारिक जहाजमा आक्रमण गरी करिब एक दर्जन नागरिक चालकदलका सदस्यको ज्यान लिएको आरोप लगाएका छन् । उनले निर्दोष नागरिकको ज्यान जोखिममा पार्ने गतिविधिका लागि इरानलाई जवाफदेही बनाइने बताए।
यसैबीच, संकट प्रतिक्रिया कम्पनी एमटीआई नेटवर्कका अनुसार मंगलबार ओमानको तटमा भएको विस्फोटमा एक नर्वेली तेल ट्यांकर क्षतिग्रस्त भएको छ।
कुवेतले पनि इरानी क्षेप्यास्त्र र ड्रोन आक्रमणका क्रममा आफ्नो एउटा नौसैनिक जहाजमा क्षति पुगेको तथा चालकदलका चार सदस्य घाइते भएको जनाएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा शुल्क लगाउने योजना खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूसँग हुने व्यापारिक सम्झौतामार्फत प्रतिस्थापन गर्दै खारेज गरेको घोषणा गरेका थिए ।
एएफपीका अनुसार इरानी सरकारी सञ्चारमाध्यम र आधिकारिक स्रोतहरूलाई उद्धृत गर्दै गत सातादेखि जारी नयाँ अमेरिकी आक्रमणमा कम्तीमा २८ जनाको मृत्यु भएको छ।
यसैबीच, इरानको आणविक कार्यक्रमका कडा आलोचक इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले आक्रमण गरे त्यसको ‘कडा र व्यापक जवाफ’ दिइने चेतावनी दिएका छन् ।












प्रतिक्रिया