आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार ! « Khabarhub

आमाले न्याय खोज्दा खोसिएको बाल अधिकार !


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असारे झरीमा सोमबार सिंहदरबारको मुख्य गेटअगाडि निहारिका राजपूत न्यायको माग गर्दै सडकमा लम्पसार परेकी थिइन् । 

उनलाई हटाउने क्रममा सुरक्षाकर्मीले तानेर लछारपछार गरेको दृश्य सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो । न्यायको माग र राज्यको व्यवहारबारे बहस चर्किरहेका बेला निहारिकासँगै उनका करिब पाँच वर्षीय छोरा पनि सँगै रहेको दृश्यले धेरैको ध्यान खिच्यो ।

आमालाई सुरक्षाकर्मीले तानिरहेका बेला ती बालक रोइरहेका थिए । दिनभरि झरीमा भिज्नु, आमामाथि भएको व्यवहार प्रत्यक्ष देख्नु र असुरक्षित वातावरणमा बस्न बाध्य हुनुजस्ता अवस्थाले बालकको मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न धेरैले उठाए । 

निहारिकाले न्याय पाउनुपर्छ भन्ने विषयमा सहमति हुन सक्छ, तर न्यायको लडाइँमा साना बालबालिकालाई जोखिमपूर्ण परिस्थितिमा राख्नु कत्तिको उचित हो ? भन्ने बहस पनि सँगसँगै सुरु भएको छ ।

आफ्नो स्वार्थ पूर्ति र न्यायको लागि बालबालिका प्रयोग गरिएको यो एक्लो घटना भने होइन । पछिल्ला केही दिनयता बालबालिकामाथि प्रत्यक्ष वा अप्रत्यक्ष असर पर्ने घटनाहरू लगातार सार्वजनिक भइरहेका छन् । 

सोमबार नै एक विद्यालयमा शिक्षिकाले भिक्षु बालकमाथि लाठी प्रहार गरिरहेको भिडियो बाहिरियो । भिडियोमा बालकमाथि भएको दुर्व्यवहार देखिएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भयो ।

यसअघि काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि विभिन्न होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको अवस्था पनि चर्चामा आयो । 

गत शुक्रबार मध्यराति सुन्दरीघाट क्षेत्रमा आएको बाढीले कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा सञ्चालन गरिएको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका परिवार प्रभावित भए ।

सार्वजनिक भएका तस्बिर र भिडियोमा बालबालिका हिलाम्मे कपडा, खाली खुट्टा र आधारभूत आवश्यकताबाट वञ्चित अवस्थामा देखिएका थिए । कतिपय बालबालिका भोकै रहेको र उनीहरूको पढाइसमेत प्रभावित भएको अभिभावकहरूले बताएका छन् ।

यता माइतीघर मण्डलालगायत विभिन्न स्थानमा हुने धर्ना तथा प्रदर्शनमा पनि काखे बालबालिका नियमित देखिने गरेका छन् । रातिको समयमा साना बच्चा बोकेर प्रदर्शनमा बस्ने, सडकमा रात बिताउने वा जोखिमपूर्ण वातावरणमा बालबालिकालाई राखिएको दृश्य पटक–पटक सार्वजनिक हुँदै आएका छन् । 

बाल अधिकारकर्मीहरूका अनुसार यस्ता घटनामा बालबालिका प्रत्यक्ष पीडित बन्छन्, तर बहस प्रायः आन्दोलन, राजनीति वा प्रशासनिक निर्णयमै सीमित हुने भएकाले बालबालिकाको पक्ष ओझेलमा पर्छ ।

यस्ता घटनाहरूले बालबालिकामा शारीरिक सँगै गहिरो मानसिक असर पर्ने मनोविद्हरू बताउँछन् । उनीहरूका अनुसार साना उमेरका बालबालिकाले हिंसा, झगडा, दमन, पक्राउ, रोदन वा असुरक्षित वातावरण प्रत्यक्ष देख्दा त्यसको दीर्घकालीन मानसिक असर पर्न सक्छ ।

यस्ता अनुभवले बालबालिकामा डर, असुरक्षा, चिन्ता, आत्मविश्वासको कमी, निद्रासम्बन्धी समस्या तथा व्यवहारमा परिवर्तन ल्याउन सक्छ ।

विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकाले आफूले देखेका घटनाको पूर्ण अर्थ नबुझे पनि त्यसको भावनात्मक प्रभाव लामो समयसम्म बोकेर हिँड्न सक्छन् । 

बाल अधिकार सम्बन्धी कानुनमा के छ ?

नेपालको संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई संरक्षण, शिक्षा, स्वास्थ्य, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको छ । 

संविधानले कुनै पनि बालबालिकामाथि शारीरिक, मानसिक वा अन्य कुनै प्रकारको दुर्व्यवहार गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । साथै उनीहरूलाई हिंसा, शोषण र जोखिमबाट सुरक्षित राख्नु राज्य, अभिभावक तथा समाज सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ ले पनि बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरेको छ । संयुक्त राष्ट्रसंघीय बाल अधिकार महासन्धिले समेत बालबालिकासँग सम्बन्धित हरेक निर्णयमा ‘बालबालिकाको सर्वोत्तम हित’ लाई केन्द्रमा राख्नुपर्ने स्पष्ट गरेको छ ।

त्यस्तै मुलुकहरू युरोपेली मुलुक, क्यानडा, अष्ट्रेलिया तथा अमेरिकाका धेरै राज्यहरूमा बालबालिकाको सुरक्षालाई उच्च प्राथमिकता दिइन्छ । प्रदर्शन वा आन्दोलनका क्रममा बालबालिकाको स्वास्थ्य र सुरक्षामा जोखिम देखिएमा सामाजिक सेवा निकायहरूले हस्तक्षेप गर्न सक्छन् ।

विद्यालय, आश्रयस्थल वा अभिभावकको जिम्मेवारीभित्र रहेका बालबालिकामाथि कुटपिट, मानसिक यातना वा बेवास्ता भएको पाइएमा अनुसन्धान गरिने र आवश्यक परे कानुनी कारबाहीसमेत हुने व्यवस्था छ । 

विपद्का बेला बालबालिकाका लागि छुट्टै सुरक्षित आश्रय, मनोसामाजिक परामर्श, शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्ने अभ्यास पनि व्यापक छ ।

बालबालिकालाई आन्दोलनको साधन निषेध

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार बालबालिकासम्बन्धी ऐन, २०७५ ले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई हडताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । 

यस्तो कार्यलाई बालबालिकाविरुद्धको हिंसा तथा कसुरका रूपमा लिइएको छ । परिषद्ले निर्वाचनलगायत राजनीतिक गतिविधिका बेला बालबालिकाको प्रयोग नगर्न राजनीतिक दलहरूलाई पटक–पटक सचेत गराउँदै आएको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताए ।

उनका अनुसार बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरिएमा सम्बन्धित व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिन सकिने र प्रहरीले अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ । तर कानुन कार्यान्वयन पक्ष कमजोर भएकाले यस्ता घटनामा अपेक्षित कारबाही हुन नसकेको उनले स्वीकार गरेका छन् । 

विद्यालयमा शिक्षकद्वारा विद्यार्थीमाथि गरिने कुटपिटबारे परिषद्ले शून्य सहनशीलताको नीति हुनुपर्ने उनले बताए । घर, विद्यालय वा अन्य कुनै पनि स्थानमा बालबालिकामाथि शारीरिक वा मानसिक दण्ड दिनु बालबालिकाविरुद्धको हिंसा भएको परिषद्को भनाइ छ । यस्ता कार्यमा जरिवाना र कैद सजायको व्यवस्था रहेको परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार प्रत्येक विद्यालयले बाल संरक्षण मापदण्ड तयार गरी कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अधिकांश विद्यालयले अझै प्रभावकारी रूपमा त्यस्ता मापदण्ड लागू गरेका छैनन् ।

सुकुम्वासी होल्डिङ सेन्टरमा रहेका बालबालिकाको शिक्षाको विषयमा परिषद्ले स्थानीय सरकारले विद्यालय भर्ना तथा अध्ययनको व्यवस्था गरिरहेको जनाएको छ । यद्यपि स्थानान्तरण र अस्थायी बसोबासका कारण बालबालिकाको नियमित अध्ययनमा असर परेको स्वीकार गरिएको छ ।

बालबालिकालाई जोखिमपूर्ण अवस्थामा राख्नु उचित नभए पनि आमाबुबा सडकमा आउन बाध्य हुने परिस्थितिको मूल कारण राज्यले सम्बोधन गर्नुपर्ने बताए । बालबालिकाको सुरक्षा अभिभावक, सुरक्षा निकाय, स्थानीय सरकार तथा सम्बन्धित सबै पक्षको साझा जिम्मेवारी हो, उनले भने ।

किन उठ्दैन पर्याप्त आवाज ?

नेपालमा बाल अधिकारको विषय प्रायः राजनीतिक, सामाजिक वा प्रशासनिक मुद्दाको छायामा पर्ने गरेको चन्द बताउँछन् । 

बालबालिका पीडित भए पनि उनीहरू स्वयं प्रभावकारी रूपमा आफ्नो आवाज उठाउन सक्दैनन् । त्यसैले राज्य, नागरिक समाज, सञ्चारमाध्यम र अभिभावकको भूमिका अझ महत्त्वपूर्ण हुने उनको भनाई छ ।

तर व्यवहारमा आन्दोलनको राजनीतिक पक्ष, प्रशासनको कदम वा अभिभावकको मागमाथि बढी बहस हुने गरेको छ । परिणामस्वरूप बालबालिकाले भोगेका मानसिक र शारीरिक पीडा सार्वजनिक विमर्शको केन्द्र बन्न सकिरहेका छैनन् ,उनले भने ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : १८ बजे

भूमिहीन र सुकुम्वासीको दिगो व्यवस्थापनबारे छलफल गर्न विपक्षी दलको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाका विपक्षी दलहरूले वास्तविक भूमिहीन, भूमिहीन दलित, सुकुम्वासी तथा

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर