टोकियो– पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ ।
अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् ।
बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।
मौसमविद्हरूले पहिलोपटक चिबा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए ।
चिबाको एक मौसम मापन केन्द्रले २४ घण्टामा ३० सेन्टिमिटर अर्थात् करिब १२ इन्च वर्षा मापन गरेको थियो । यो विगत ६० वर्षयताकै अगस्ट महिनाको सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ ।
भूमि मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म चिबा सहरमा सामान्यतया पूरै अगस्त महिनामा पर्ने औसत वर्षाभन्दा तीन गुणा बढी वर्षा भइसकेको थियो ।
एनएचकेका अनुसार वर्षाका कारण आइतबार बिहानसम्म नौ जनाको मृत्यु भएको छ । शनिबार साँझसम्म चिबाको विपद् व्यवस्थापन कार्यालयले आठ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
मृतकमध्ये केही डुबानमा परेका सवारीसाधनभित्र फेला परेका थिए भने केही डुबानग्रस्त सडकमा मृत अवस्थामा भेटिएका थिए ।
चिबा प्रिफेक्चरको पछिल्लो विवरणअनुसार ७० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये करिब ६०० घरको भुइँको सतहभन्दा माथिसम्म पानी पसेको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब एक हजार २०० सवारीसाधन सडकमा अलपत्र परेका छन् । अधिकारीहरूले ती सवारीसाधन टो तथा ज्याकको प्रयोग गरी हटाउने काम गरिरहेका छन् ।
जापानको मौसम विज्ञान विभागका एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा चिबामा ‘अभूतपूर्व स्तरको भारी वर्षा’ हुने चेतावनी दिएका थिए ।
वैज्ञानिकहरूका अनुसार मानवीय गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले चरम मौसमी घटनालाई अझ बारम्बार, लामो समयसम्म र तीव्र बनाउँदै लगेको छ ।












प्रतिक्रिया