बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह « Khabarhub

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न सडक अवरुद्ध भएका छन् ।

प्रहरी प्रधानकार्यालयले दिएको जानकारीअनुसार काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ र रोल्पा विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ ।

इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ  ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।

निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा भासिने क्रम जारी रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ७ : ३६ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी